डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘गौँथली’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक गरिएका दुई पोस्टरमा चलचित्रका दुई मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ।
फिल्मले ग्रामीण समाजको कथामा बनेको देखाउने प्रयास गरेको छ। पहिलो पोस्टरमा नायक अरुण क्षेत्री र सिम्रन खड्का फिचर्ड छन्। उनीहरू दुलाहा-दुलहीको भेषमा छन्। दौरासुरुवाल, कोट, ढाका टोपी र दुबोको माला अथवा बेहुलाको पहिरनमा छन्।
यता सँगै बेहुलीको पहिरनमा रहेकी सिम्रनको मुहारमा भने तनाव झल्किएको छ। पृष्ठभूमिमा रहेको घर र उभिएको आगनले उनीहरू कुनै गाउँका स्थानीय हुन् भन्ने प्रष्ट पार्छ।
अर्को पोस्टरमा सिम्रन एक्लै छिन्, जसमा उनी डोकोमा स्याउला बोकेर खाली खुट्टा डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन्। केही पढिरहेको पनि देखिन्छ।
यसले उनी बिहे गरेपछि पनि घरको काम गर्दै पढ्दै गरेको बुझाउँछ। पढ्ने तीव्र चाहना हुँदाहुँदै उनको विवाह भएको तर आफ्नो पढ्ने उद्देश्यबाट विचलित नभएको यो पोस्टरले संकेत गर्छ। पर देखिने हिमालले उनको घर उच्च पहाडमा रहेको जनाउँछ।
सार्वजनिक दुई पोस्टरले पहाडमा बस्ने एक गरिब परिवारको कथा चलचित्रले देखाउने खोजेको संकेत गरेको छ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ। यो फिल्म साउन १ गतेबाट प्रदर्शनमा आउँदै छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन्।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिलले नयाँ फिल्म ल्याउन लागेका हुन्।
Shares

प्रतिक्रिया