अलग हुने निर्णय गरेका अभिनेत्री मौनी रोय र व्यवसायी सुरज नाम्बियारले सामाजिक सञ्जालमा फेरि एकअर्कालाई फलो गरेका छन्।
शनिबार उनीहरूले इन्स्टाग्राममा फेरि एकअर्कालाई फलो गरेको पाइएको छ।
पहिले मौनी र सुरजले इन्स्टाग्राममा एकअर्कालाई फलो नगरेको देखिन्थ्यो। तर, अब उनीहरू एकअर्काको फलोइङ लिस्टमा फर्किएका छन्।
मौनीले आफ्नो अकाउन्टबाट सुरजसँग गरेको विवाहका तस्बिर वा पुराना पोस्ट हटाएकी छैनन्। अभिनेत्रीको इन्स्टाग्राम खातामा अझै पनि विवाह र विगतका क्षणका असंख्य तस्बिर छन्।
यसैबिच सुरजको प्रोफाइलमा मौनीको एउटा मात्र तस्बिर छ, जसमा उनको अनुहार देखिँदैन।
बिहीबार मौनी र सुरजले इन्स्टाग्राममा एक संयुक्त नोट जारी गर्दै आफूहरूले आफ्नो विवाह अन्त्य गर्न लागेको जानकारी दिएका थिए। समझदारीका साथ आफूहरूले छुट्टिने निर्णय गरेको उनीहरूको भनाइ छ।
‘हाम्रो व्यक्तिगत जीवनमा मिडियाका केही व्यक्तिहरूले अनावश्यक र अत्यधिक घुसपैठ गरेकोमा हामी दु:खी छौँ। हामी भन्न चाहन्छौँ-हामीले अलग हुने निर्णय गरेका छौँ र यो समयलाई शान्ति र समझदारीका साथ निजी रूपमा व्यवस्थापन गरिरहेका छौँ। हाम्रो व्यक्तिगत जीवनबारे धेरै झुटा कथा र गलत जानकारी फैलाइएको छ, जसले हाम्रो सम्बन्धको वास्तविकतालाई प्रतिबिम्बित गर्दैन। धेरै विचार-विमर्शपछि हामीले पारस्परिक सम्मान र समझदारीका साथ छुट्टै बाटोमा अगाडि बढ्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा लेखिएको छ।
मौनी र सुरजले २७ जनवरी २०२२ मा गोवामा विवाह गरेका थिए। विवाहमा मलयाली र बंगाली दुवै परम्पराहरू पालना गरिएको थियो। सुरज दुबईका व्यापारी हुन्। लामो समयको डेटिङ पछि यो जोडीले विवाह बन्धनमा बाँधिएका थिए।
Shares

प्रतिक्रिया