समय बदलिएको छ, तर आज पनि यदाकदा हाम्रो समाजका केही मान्यताहरू अझै उही छन्, जहाँ पुरुषको मूल्य उसको ओहोदा र महिलाको अस्तित्व उसको मातृत्वले मापन गरिन्छ। यतिखेर हलमा प्रर्दशन भइरहेको विपिन कार्की अभिनीत फिल्म ‘काजी’ले यही सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा भन्न खोजेको छ।
एउटा यस्तो प्रेम, जहाँ त्याग छ, सहनशीलता छ र मौन स्वीकृतिहरू छन्। तर फिल्मले उठाउने सबैभन्दा ठूलो प्रश्न प्रेमको गहिराइ होइन, त्यसले बोकेको विचार हो– के निःस्वार्थ समर्पण वास्तवमै प्रेमको उच्चतम विन्दु हो वा समाजले बनाएको असमान र पुरातन सोचलाई त्यसले नचाहेरै निरन्तरता दिइरहेको छ?
‘काजी’ यही वैचारिक द्वन्द्वभित्र रहेर दर्शकसँग संवाद गर्न खोजिरहेको फिल्म हो। निर्देशक लक्ष्मण रिजालले यो फिल्ममार्फत एउटा सरल र निस्वार्थ प्रेमीको कथा त बुनेका छन्, तर प्रगतिशील समाजको नजरबाट हेर्दा यसले केही गम्भीर प्रश्नहरू पनि खडा गरेको छ।
रेडियोमा बज्ने खबरहरुबाट थाहा हुन्छ, यो फिल्मको सेटिङ देशमा कम्युनिस्ट शासन सुरु हुनुअघि ०४८ साल आसपासको समय हो। जुनबेला नेपालमा राजनीतिक परिवर्तनका लहरहरू सुरु हुँदै थिए।
यो फिल्मको कथा काजी (विपिन कार्की) र कजिनी (केकी अधिकारी) को विवाहबाट सुरु हुन्छ। विवाहपछिको सुरुवाती दिनमा काजीलाई ससुरालीमा गरिने अपमानले दर्शकको मन छुन्छ। पाँखे ज्वाइँ भन्दै ससुराले गर्ने उपेक्षा, खसीको मासु खुवाउनका लागि सरकारी जागिरे रहेका ठूला ज्वाइँ नै आउनुपर्ने विभेदकारी सोचले हाम्रो समाजको तत्कालीन र अझै पनि विद्यमान रहेको ओहोदाप्रतिको मोहलाई चित्रण गर्छ।
यद्यपि, काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो। आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ। गाउँका एक युवा बिरामी आमालाई डोकोमा बोकेर सदरमुकाम लगिरहेका हुन्छन्, बाटोमा जब काजीले भेट्छ, खल्तीबाट पैसा निकाल्दै ती आमाका लागि उपचार खर्च थमाउँछ। काजीको यस्तै स्वभावले उसलाई एउटा आदर्श पुरुषको रूपमा स्थापित गर्छ। तर, यो दम्पतीको जीवनमा एउटा ठूलो रिक्तता छ– सन्तानको अभाव। यही निःसन्तान हुनुको पीडा र त्यसले उब्जाएको असुरक्षाको भावना नै यो फिल्मको मुख्य द्वन्द्व हो।
कजिनीको मनमा उब्जने शंका चलचित्रको अर्को मोड हो। सामान बेच्दै हिँड्ने नन्दुकी श्रीमतीले सुनाएको आफ्नै बहिनी सौता गएको कथाले कजिनीको मनमा भुइँचालो ल्याउँछ। आफ्नै श्रीमान् र बहिनी (गरिमा पन्त) प्रतिको सम्बन्धमा अनावश्यक शंकाले उनलाई गर्भवती भएको झुटो नाटक गर्न बाध्य तुल्याउँछ। एउटा सानो शंकाले कसरी मानिसलाई झुटको पहाड खडा गर्न बाध्य पार्छ भन्ने कुरालाई चलचित्रले सूक्ष्म ढंगले देखाएको छ।
फिल्मले ०४८ साल वरपरको परिवेशलाई निकै सुन्दर ढंगले उतारेको छ। रेडियो, लालटिनको मधुर प्रकाश र अँध्यारा कोठाहरूले दर्शकलाई त्यो समयको नोस्टाल्जियामा लैजान्छन्। पात्रको मुडअनुसार क्यामेराको प्रयोग अर्को प्रशंसनिय पक्ष हो। सन्तान नहुँदासम्म काजीलाई क्यामराले ओरालो हिँडेको दृश्यमा कैद गरेको छ, जसले उसको जीवनको निराशालाई संकेत गर्छ। तर जब कजिनीले झुटो गर्भको कुरा गर्छिन्, उनी उकालो हिँडेको देखाइन्छ। क्यामराको एंगल तलबाट खिचेर उसलाई शक्तिशाली देखाउन खोजिएको छ।
यसैगरी, सेतो कपडा लगाएका बच्चाहरू खेलिरहेको र एक्कासि गायब भएको सपनाको दृश्यले काजीको पिता बन्ने अतृप्त चाहनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
‘काजी’ को अर्को बिर्सनै नसकिने पक्ष यसको संगीत र पाश्र्व ध्वनि हो। फिल्मको पाश्र्व ध्वनिले शान्त गाउँको शून्यता र पात्रहरूको मनभित्रको आँधीलाई राम्रोसँग साथ दिएको छ। विशेष गरी भावुक दृश्यहरूमा प्रयोग गरिएको धुनले दर्शकलाई कथासँग जोड्न पुलको काम गर्छ। फिल्मको सुरवाततिरै आउने ‘वारी वर पारी पिपलु’ गीतले काजी र कजिनीको प्रेमिल सम्बन्धमा थप मिठास भर्छ।
काजी (विपिन कार्की) को चरित्र एउटा ‘आदर्श प्रेमी’ को प्रतीक हो। श्रीमतीलाई ‘आमा र बा’ दुवैको दर्जा दिने, उसको झुटलाई थाहा पाएर पनि नपाएझैँ गरिदिने र उसको खुसीमै आफ्नो संसार देख्ने काजीको भूमिकामा विपिनले सानदार अभिनय गरेका छन्। केकी अधिकारी (कजिनी) ले एउटी असुरक्षित र शंकालु श्रीमतीको भूमिकालाई न्याय गरेकी छन्। गरिमा पन्त, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय पनि पात्र सुहाउँदो नै छ।
तर, यो फिल्मको मुख्य समस्या पटकथामै छ। पहिलो भाग निकै सुस्त छ, जसले गर्दा दर्शकलाई कथामा भिज्न केही समय लाग्छ। द्वन्द्वलाई स्थापित गर्न निर्देशकले धेरै समय खर्चिएका छन्। चलचित्रले जिज्ञासा त पैदा गर्छ, तर अन्त्यमा दिने सन्देशले भने कताकता समाजलाई रुढिवादी सोचतर्फ फर्काउन खोजेको भान हुन्छ।
फिल्ममा ‘स्वस्थानी व्रत’ र ‘भगवानको विश्वास’लाई जसरी समाधानको रूपमा प्रस्तुत गरिएको छ, त्यसले समाजलाई केही हदसम्म ‘पश्चगामी’ सन्देश दिने जोखिम राख्छ। एउटी महिलाको खुसी केवल एउटा ‘राम्रो श्रीमान्’ पाउनुमा मात्र सीमित छ र त्यो पनि व्रत बसेर प्राप्त हुन्छ भन्ने सोचले आजको आधुनिक र सचेत समाजको प्रतिनिधित्व गर्दैन।
कजिनीले आफ्नै बहिनीमाथि शंका गरेर ‘झुटो गर्भ’को नाटक गर्नुलाई फिल्मले बाध्यता वा प्रेमको रूपमा देखाउन खोजेको छ। तर, के एउटा स्वस्थ सम्बन्धमा झुट र शंकाकोे जग यति बलियो हुनुपर्छ? काजीले सबै कुरा थाहा पाउँदा पाउँदै पनि उसलाई सच्याउनुको साटो झुटलाई नै प्रोत्साहन दिनुलाई ‘महानता’ मान्ने कि ‘कमजोरी’? फिल्म हेरेपछि, यो बहसको विषय बन्न सक्छ।
फिल्ममा काजी महिलाप्रति समर्पित र सम्मानित देखिए पनि यसको मूल कथा भने पुरानै सामाजिक संरचनामा आधारित छ, जहाँ महिलाको अस्तित्व सन्तान प्राप्ति र श्रीमानको खुसीको वरिपरि मात्र घुमेको छ। झुट बोलेर सम्बन्ध टिकाउनु वा अन्धविश्वासमा आधारित भएर समस्याको समाधान खोज्नुलाई यो फिल्मले जसरी महिमागान गर्न खोजेको छ, त्यो आजको समयमा तर्कसंगत देखिँदैन।
‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, विपिनको अभिनयले मन लोभ्याउन सक्छ तर जाँदाजाँदै मस्तिष्कले भने धेरै ठाउँमा प्रश्न गर्छ। वैचारिक रूपमा यो फिल्म अझ बढी प्रगतिशील र तार्किक हुन सक्ने ठाउँ थियो। ‘भक्ति र विश्वास’को आवरणमा फिल्मले केही पुरानै भाष्यलाई दोहो¥याएको छ, जुन सचेत दर्शकका लागि खल्लो लाग्न सक्छ।
समग्रमा ‘काजी’ अभिनय र प्राविधिक हिसाबले हेर्नलायक छ तर यसको वैचारिक जग र पटकथाको फितलोपनले फिल्मको उचाइलाई कताकता खुम्च्याइदिएको छ।
Shares

प्रतिक्रिया