अभिनेता राजेश हमालले कानुन बनाउँदा जनताको जीवनस्तरसँग सामञ्जस्य हुनुपर्ने टिप्पणी गरेका छन्।
काठमाडौँ नगर प्रहरीले ‘नो पार्किङ’ मा राखेको भन्दै बिहीबार मुगुका गणेश नेपालीको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको थियो। उनलाई एक हजार रुपैयाँ जरिवाना गरिएको थियो।
जरिवाना तिर्न नसकेपछि नगर प्रहरीसँग विवाद भएको थियो। नगर प्रहरीले मोटरसाइकल गाडीमा राखेर लग्न खोजेपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको शनिबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।
त्यसै घटनालाई लिएर अभिनेता हमालले आफ्नो भनाइ राखेका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भनेका छन्, ‘कुनै पनि राष्ट्रका नियम, कानुन र नीतिहरू त्यस देशको पूर्वाधार, संस्थागत क्षमता र जनताको जीवनस्तरसँग सामञ्जस्य हुने गरी निर्माण गरिनुपर्छ।’
एउटा परिवेशमा सफल भएका नीतिहरू अर्को परिवेशमा मिल्न नसक्ने उल्लेख गर्दै देशको अवस्था हेरेर नीति, नियम बनाउनुपर्ने उनको तर्क छ। ‘हरेक राष्ट्रको आफ्नै इतिहास, क्षमता, चुनौती र आकांक्षा हुन्छ। एउटा परिवेशमा सफल भएका नीतिहरू आवश्यक आधार र पूर्वाधारको अभावमा अर्को परिवेशमा असफल पनि हुन सक्छन्,’ हमालले भनेका छन्।
देश र जनताको आवश्यकता अनुसार सुधार गर्दै लग्नुपर्नेमा उनले जोड दिएका छन्। ‘दिगो प्रगति अन्धानुकरणबाट होइन, बरु असल सिद्धान्तलाई आफ्नै राष्ट्रिय यथार्थअनुसार आत्मसात् गर्दै देशको आवश्यकताअनुकूल सुधारहरू लागू गर्नबाट हासिल हुन्छ,’ उनले भनेका छन्।
Shares

प्रतिक्रिया