चर्चित रेडियो प्रस्तोता तथा गायक संगीतकार वासुदेव मुनाललाई अब पुस्तकमा पढ्न सकिने भएको छ।
मुनालको संस्मरणात्मक कृति ‘आओ! मेरा प्यारा भाइबहिनी हो! रेडियो नजिक आओ!’ प्रकाशन हुन लागेको छ। मुनालको ७७औँ जन्मदिनको स्मृतिमा वासुदेव मुनाल फाउन्डेसनले शुक्रबार पुस्तकको आवरण सार्वजनिक गरेको छ। मुनालको २०७४ सालमा निधन भएको थियो।
बाल कार्यक्रम सञ्चालनका क्रममा मुनालको पहिचान बनेको ‘आओ! मेरा प्यारा भाइबहिनी हो! रेडियो नजिक आओ!’ लाई नै पुस्तकको शीर्षक बनाइएको फाउन्डेसनका महासचिव तथा मुनालका छोरा मोहितले बताए।
प्रकाशोन्मुख संस्मरणमा रेडियो नेपाल, बालकार्यक्रम, गीत संगीत र मुनालका निजी जीवनका उतारचढावका प्रसंग समेटिने छन्। करिब ३५ वर्ष रेडियो नेपालमा बिताएका मुनालका ‘पानी खाने निहुँले’, ‘भए पनि ठिकै’, ‘दुई एकान दुई’ जस्ता दर्जनौँ गीत लोकप्रिय छन्।
यो पुस्तक बुकहिलमार्फत असोजको दोस्रो हप्ता प्रकाशन हुने जनाइएको छ।
Shares

प्रतिक्रिया