चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको बक्सअफिस तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक रिपोर्टअनुसार ‘रोल नं १’ र ‘जाँड’ को व्यापार मात्रै समावेश छ।
यसअघि सूचीमा रहेका स्वस्तिमा खड्का अभिनीत ‘लालीबजार’ र जितु नेपालको ‘आई एम जीतबहादुर’ भने सूचीबाट हटेका छन्। जेठ १५ गतेबाट रिलिज भएको ‘रोल नं १’ ले ग्रस कमाइ एक करोड ७७ लाख ६ हजार ५८३ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिभर फिल्मका ७० हजार ६७४ टिकट बिक्री भएका छन्।
जौन योञ्जन निर्देशित रहेको फिल्ममा मुकुन भुसाल, निर्भिक रेग्मी, सुशांक मैनाली, रेणु नाथ योगी, एवोनराज उप्रेती, संयम कटुवाललगायत कलाकारको अभिनय छ।
त्यसैगरि, असार १२ गतेबाट रिलिज भएको फिल्म ‘जाँड’ ले हालसम्म एक लाख २६ हजार पाँच रूपैयाँ मात्र ग्रस कमाइ गरेको हो। व्यापारका हिसाबमा यस वर्षको अहिलेसम्मकै सबभन्दा कमजोर फिल्म बनेको छ। बक्स अफिस विवरणअनुसार फिल्मले यसको ६२१ वटा मात्रै टिकट बिक्री भएका छन्।
राजु शाहको निर्देशनमा बनेको ‘जाँड’ मा रमेश उप्रेती, पदम गुरूङ, कमला दाहाल, सान्भी खतिवडा, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय छ। यतिखेर सिनेमा हलमा नेपाली फिल्म नहुँदा विदेशी फिल्म प्रदर्शनमा छन्।
Shares

प्रतिक्रिया