घरको बुइँगलमा गुँड बनाएर बस्ने। अनि मान्छेभन्दा धेरै टाढा जान नसक्ने। एउटा सानो र चञ्चल चरा हो: गौँथली। यो चराको स्वभाव र नियतिसँग मिल्दोजुल्दो छ ‘गौँथली’ की मुख्य पात्रको जीवन पनि।
मुख्य पात्र गौँथली (सिम्रन खड्का) पढेर आत्मनिर्भर बन्न चाहन्छिन्। तर, बाध्यताले बिहे गरेर उनले अर्को घर जानुपर्ने हुन्छ। त्यहाँ पुगेपछि आफूले बिहे गरेको व्यक्ति फरक क्षमता अर्थात् अटिजम भएको थाहा पाउँछिन्। अब समाजको दायराभित्रै बाधिएकी गौँथलीले कसरी संघर्ष गर्छिन्? यही नै ‘गौँथली’को मूल कथा हो।
फिल्मको मुख्य पात्र सिम्रनलाई गौँथली चराको बिम्बसँग जोडिएको निर्देशक तथा डा कपिल रिजालले खुलाए।
उनले भने, ‘गौँथली पात्र भनेको त्यही चरा जस्तै हो। फरक क्षमताको मान्छेसँग बिहे भइसकेपछि अब मेरो सबै सकियो भन्ने उनलाई महसुस हुन्छ। त्यसको बाबजुद जसरी गौँथली चराले घर छोडेर जान सक्दैनन्, उसले पनि समाजको दायरामा बाँधिएपछि त्यो घर छोडेर जान सक्दिन। त्यहाँ बसेर उसले स्ट्रगल नै फिल्ममा देखाइएको छ।’
रिजाल पेसाले डेन्टिस्ट हुन्। जसकारण उनी फिल्ममा स्वास्थ्यको मुद्दा उठान गर्न मन पराउँछन्। यसअघि उनले डेब्यु फिल्म ‘ह्यारीकी प्यारी’ मा वीर्यदानको विषय उठाएका थिए।
त्यसको साढे तीन वर्षपछि कपिल सुमन गिरीसँग मिलेर ‘गौँथली’ लिएर दर्शकमाझ आउँदैछन्। रोचक के छ भने यस फिल्मको विषयवस्तु अटिजम रहेको छ। नेपालको सन्दर्भमा स्वास्थ्य र शिक्षा महत्वपूर्ण र संवेदनशील विधा भएकाले आफू सधैँ यसै क्षेत्रमा जोडिन चाहेको उनी बताउँछन्।

हुन त २५ वर्षअघि उनका बुबा डा भोला रिजालले गीति फिल्म ‘गौँथली’ बनाएका थिए। जुन फिल्मले प्रदर्शनको ५१ औँ मनाएको थियो। फिल्मको नाम र पात्र उही भए पनि आधुनिक प्रविधि, नयाँ स्वाद र संवादसहित पुनः पर्दामा ल्याएको उनले दाबी गरे। जुन फिल्म साउन १ बाट सिनेमा हलमा रिलिज हुँदैछ।
‘बालविवाहको कथासहित यसपटक गौँथलीको बलियो पक्ष भनेको अटिजमलाई हाइलाइट गरिनु हो। हिजोको चलचित्रमा यो पात्र जोडिए पनि यसलाई खासै प्रकाश पारिएको थिएन। तर, यसमा भने डिटेल छ। अटिजम भएका व्यक्तिको क्षमताबारे फिल्ममा प्रस्तुत गरिएको छ। फिल्म हेरेपछि बुवा पनि निकै खुसी हुनुभयो,’ उनले भने।
अटिजम भएका व्यक्तिहरूको मनोविज्ञान बुझ्नु महत्वपूर्ण हुने डा रिजालको भनाइ छ।
‘उनीहरूलाई बुझियो भनेदेखि लाइफ एकदम सजिलो छ। हामी धेरै आफैँ कम्प्लिकेटेड छौँ। अलि क्षमता भिन्न भएको मान्छेले धेरै सोच्दैन, धेरै हिसाबकिताब गर्दैन। ऊ आजमा रमाउने मान्छे हो। उसलाई खुसी भएको चिजमा एकदमै खुसी हुन्छ, दुःखी हुँदा एकदम दुःखी हुन्छ। उनीहरू जे देख्छन्, त्यही भन्छन्। त्यो बुझ्दा उनीहरूसँगको सम्बन्ध सहज हुन्छ,’ उनी भन्छन्।
पेसाले स्त्रीरोग विशेषज्ञ भए पनि कपिलका बुबा भोला कला/साहित्यप्रति निकै झुकाव राख्थे। उनी कथाकारदेखि गीतकार र फिल्म निर्माता समेत हुन्। जसकारण कपिल पनि सानैदेखि नाटक खेल्नेदेखि गीत गाउने र फिल्म निर्देशनमा रूचि राख्थे। मेडिकल कलेज पढ्दा ताका उनले सर्ट फिल्म ‘द लास्ट नाइट’ बनाए।

कपिल २८ वर्षदेखि बेलायतमा बस्दै आएका छन्। कोभिड लकडाउनको समयमा पनि उनले एउटा सर्ट फिल्म बनाएका थिए। जसले उनलाई फिल्म निर्माण र निर्देशनमा पूर्ण रूपमा लाग्न प्रेरित गर्यो।
त्यो क्षण सम्झिँदै उनले भने, ‘कोभिड हुँदाखेरी सबै चिज बन्द भएको बेलामा केही काम नभएको बेलामा मैले यसो सोचेँ। ओहो के गरौँ त भन्दाखेरी एउटा सर्ट फिल्म बनाउँछु भन्ने भयो। त्यो टाइममा कोभिडकै विषयमा सर्ट फिल्म कोभिड-१९: गिल्ट बनाएँ।’
उक्त सर्ट फिल्मको कथा एक युवाको वरिपरि घुम्छ। जो लकडाउन नियम उल्लंघन गरेर बाहिर निस्कन्छ। र, घर फर्केर आफ्नै हजुरआमालाई कोभिड सारिदिन्छ। अन्ततः फोनमै हजुरआमाको मृत्युको खबर सुन्नुपर्दा उसले भोग्नुपरेको पछुतोलाई कथामा समेटेको उनले सुनाए।
त्यसपछि उनले नेपाल फर्किएर आफ्नै लगानी र निर्देशनमा फिल्म ‘ह्यारीकी प्यारी’ बनाए। जसमा जितु नेपाललाई उनले हिरो बनाए। तर, जितुसहित साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत यो फिल्म बक्सअफिसमा भने खासै चल्न सकेन। फिल्म नचले पनि कपिलको लागि त्यो ठूलो सिकाइ बन्यो।
यसैबीच, कपिलको भेट ब्लकबस्टर ‘छक्का पञ्जा’ फिल्म शृंखलासँग जोडिएका निर्माता सुमन गिरीसँग भयो। उनीहरूले सुरुमा कमेडी विधाकै फिल्म बनाउने सोचे। डेढ वर्ष काम पनि भएको थियो। तर, अन्त्यमा उनीहरू ‘गौँथली’ तिरै मोडिए।
‘व्यावसायिक पाटो त सबभन्दा ठुलो कुरो हो, किनभने मन पराएर हेर्दिएपछि दर्शकबाट समर्थन पाउनु हो। तर, म फिल्म इन्डस्ट्रीमा किन आएँ? मैले भन्न खोजेका कुराहरू के हुन्? त्यो चाहिँ महत्त्वपूर्ण हो। हाम्रो फिल्ममा रुवाउँछ, हँसाउँछ। तर, बाहिर निस्किँदाखेरि आनन्द भएर निस्किन्छन् दर्शकहरू,’ कपिलले विश्वस्त हुँदै भने।
२५ वर्षकोअघिकै फिल्मको कथा भएकाले कतै दर्शकले पुरानै त मान्ने होइनन्? जसको जवाफमा कपिलले समय पुरानो भए पनि मानवीय भावना कहिल्यै पुरानो नहुने प्रस्ट पारे।

सहरिया समाजमा सासू-बुहारीको झगडा कम भए पनि ‘साइलेन्ट ट्रिटमेन्ट’ मार्फत दिइने मानसिक तनाव अझै कायमै रहेको उनको भनाइ छ। साथै महिलाहरूले विवाहपछि आफ्नो करिअर र पढाइ त्याग्नुपर्ने बाध्यता आज पनि जीवितै रहेकाले यो फिल्म आजको पुस्ताका लागिसमेत उत्तिकै सान्दर्भिक रहेको उनको तर्क छ।
डा कपिलले स्थापित स्टारभन्दा क्यारेक्टरमा फिट हुने कलाकार रोजेका छन्। मुख्य पात्र सिम्रन खड्कालाई नयाँ अनुहारकै रूपमा प्रस्तुत गर्नुको पछाडि बलियो कारण थियो: दर्शकले उनलाई चलेकी हिरोइनभन्दा पनि सिधै ‘गौँथली’ को रूपमा चिनून् र स्वीकारून्।
त्यस्तै, अभिनेता अरुण क्षेत्रीलाई ‘ठूले’ को भूमिकामा लिइएको छ।
उनले भने, ‘अरुण क्षेत्रीको केसमा चाहिँ के हो भने हामीलाई यस्तो मेहनती कलाकार चाहिएको थियो, जो फुल टाइम मेहनत गर्न सक्ने। उहाँको चार/पाँच वटा फिल्म गरे पनि अहिलेसम्म सोलो हिट भएको वा आफ्नो फिल्म भन्ने छैन। उहाँ ठूलेको क्यारेक्टरमा पर्फेक्ट हुन्छ। पछि मान्छेले चिन्दा खेरि ओहो! गौँथलीको ठूले भनेर चिन्छन्।’

सिम्रन र अरुणसहित फिल्ममा मदनकृष्ण श्रेष्ठ, लुनिभा तुलाधर, प्रकाश घिमिरे, रवीन्द्र मिश्र, सीतादेवी तिमिल्सिना, लक्ष्मी भुसालको अभिनय छ। ब्याकग्राउन्ड मिक्सिङमा मुकेश शाह रहेका छन्। जसले २५ वर्षअघिको गौँथलीमा पनि मिक्सिङ गरेका थिए।
हाल युट्युब ट्रेन्डिङमा रहेको यस चलचित्रको ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकका कमेन्टहरूले निर्माण टोलीमा उत्साह थपेको छ। फिल्मले हलमा राम्रो व्यापार गर्नेमा ढुक्क छन् रिजाल।
‘तपाईंलाई यो फिल्मले हँसाउने, रुवाउने, एउटा नारीको जीवनको यात्रामा लैजान्छ। महिलाको कथा भए पनि पुरुषले पनि बुझ्नुपर्ने, किनभने समाजमा एक जनाको मात्र कथा बन्दैन। जहिले पनि दुई वटाकै स्टोरी बन्छ। जसले पनि फिल्म हेर्नुहुन्छ, चाहे टिनेजरले होस्, चाहे एडल्ट होस्, सबैलाई रिलेट गर्ने फिल्म छ,’ कपिल भन्छन्।
बेलायतकै बसोबास भए पनि कपिल समय मिलाएर नेपाल आउने/जाने गरिरहन्छन्। फिल्मकै सिलसिलामा ६ महिनादेखि उनी नेपालमै छन्। साथै पेसासँगै फिल्म निर्देशन र निर्माणमा पनि सक्रिय रहने उनले सुनाए।
Shares

प्रतिक्रिया