बेलायत निवासी गायक बद्री केसी मृत भेटिएका छन्।
करिब डेढ दशकदेखि बेलायतको राजधानी लन्डनमा बसोबासरत गायक केसी शनिबार रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीका अनुसार त्यसअघि शुक्रबार दिउँसाे उनले आफ्नो फेसबुकमा सबैलाई ‘गुडबाई’ लेखेका थिए। उनको यस्ताे निराश स्टाटस देखेलगत्तै सहकर्मीले खोजी सुरु गरेका थिए। तर फेला पार्न नसकेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।
खाेजी गर्दा गर्दा अन्तत: उनी कार्यरत लन्डनस्थित मिलहिल स्कुलकै हातामा रहेकाे रूखमा झुन्डिएको अवस्थामा शनिबार फेला परेको स्थानीय प्रहरीले जनाएको छ।उनी त्यहाँ क्याटरिङमा काम गर्थे।
३२ वर्षीय केसीकाे स्थायी घर पोखरा हाे। उनी अध्ययनका क्रममा बेलायत पुगेका थिए।
आत्महत्याअघि गायक केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएकाे छ।
आत्महत्याकाे कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेकाे त्यहाँको प्रहरीले जनाएको छ।

प्रतिक्रिया