अमेरिकाको पेन्सिल्भानियामा एक परिवारले घरको बगैंचामा नै समुद्री किनाराको झल्को दिने बिच र झरना बनाएका छन्। त्यस्तै उनीहरुले बसेर घाम ताप्न मिल्ने सन राउन्जर्स र चिप्लेटी पनि बनाएका छन्।
सराह मिल्लर नाम गरेकी ३३ वर्षीया महिलाले आफ्नो घरबाट समुद्री किनारा पुग्न लामो समय लागेसँगै घरमै समुद्री किनारा बनाउने निर्णय गरेकी थिइन्। त्यसको लागि उनको परिवारले ह्यारिसवर्गमा रहेको घरमा १ लाख ५० हजार अमेरिकी डलरबराबरको रकम खर्च गरेर समुद्री किनारा बनाएका हुन्।
सराहका अनुसार उनले घरमा नै समुद्री किनाराको झल्को दिने बिच बनाउन न्युयोर्कस्थिम एक कम्पनीबाट विज्ञको सहारा लिएकी थिइन्। बिच बनाउन सुरुमा बगैंचालाई खनेर त्यसमा रबर प्याड बिछ्याइएको थियो। त्यसपछि त्यसमाथि बालुवा राखिएको थियो। जसले वास्तविक समुद्री किनाराको झल्को दिएको थियो।
तीन सन्तानकी आमासमेत रहेकी सराहले त्यसपछि घाम ताप्ने सन राउन्जर, झरना र चिप्लेटी पनि बनाएकी हुन्। अझै पनि बिच बनाउने काम भने नसकिएको सराह बताउँछिन्। उनका अनुसार अब कृत्रिम रुख रोप्ने काम बाँकी छ।
यो काम सुरु भएको एक महिना मात्र भएको छ। सराहका अनुसार डेढ लाख डलर रकम यो बिच निर्माणको लागि खर्च भए पनि निर्माण भने सोचेअनुसारकै भएको छ। उनले आफू यो योजनाबाट निकै खुसी रहेको बताएकी छिन्।
प्रतिक्रिया