ad ad

ग्लोबल


सात भाइ, जसको हातमा आयो चिनियाँ शासनको बागडोर

सात भाइ, जसको हातमा आयो चिनियाँ शासनको बागडोर

अबको पाँच वर्ष चीनको शासन चलाउने सात नेताको नाम आइतबार सार्वजनिक भएको छ (एससीएमपी)


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १३:२७, काठमाडौँ

अबको पाँच वर्ष चीनको शासन चलाउने सात नेताको नाम आइतबार सार्वजनिक भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति राष्ट्रपतिको क्याबिनेटसरह हो।

पार्टीका उच्चतम नेताहरुमध्ये पनि सम्भ्रान्त मानिने उनीहरुलाई सो स्थानमा पुग्न गतिलो राजनीतिक कामकारबाही त आवश्यक पर्छ नै, आन्तरिक प्रतिस्पर्धामा निकै ठूलो चलाखी पनि चाहिन्छ।

निश्चित कार्यकाल सकिएपछि स्थायी समितिमा व्यापक परिवर्तन हुनु अनौठो होइन, यसपटक पनि त्यस्तै भयो। सी चिनफिङले नै रोजेका यी नेताहरुमध्ये धेरैजसो नयाँ अनुहार हुन्। चाओ लेची र वाङ हुनिङ चाहिँ यसअघि पनि स्थायी समितिमा थिए।

पोलिट्ब्युरोको एक सदस्य कटौती गरेर २४ झारिए पनि स्थायी समितिलाई परिवर्तन गरिएको छैन। प्रधानमन्त्री पदका दाबेदार मानिएका ५९ वर्षीय हु चुनहुवा पोलिट्ब्युरोमा अटाएका छैनन्। र, कम्युनिस्ट पार्टीको शीर्ष तहमा एक जना पनि महिला छैनन्।

यी सबै नेता सीप्रति वफादार मानिन्छन्। सीले अभूतपूर्व रुपमा पार्टी महासचिवको तेस्रो कार्यकाल सुरु गरेका छन्। उनको नेतृत्वमा आगामी पाँच वर्ष चीनको शासन सञ्चालन गर्ने अन्य ६ नेता यसप्रकार छन्:

ली चियाङ

उमेर : ६३
हालको पद : सांघाइको पार्टी सचिव

ली सीको विश्वासपात्र मानिन्छन्। लीले सेस्याङ प्रान्तका साना काउन्टीहरुमा पनि काम गरेका थिए। सी सेस्याङ प्रान्तको पार्टी सचिव हुँदा ली उनका चिफ अफ स्टाफ थिए।

गत फेब्रुअरीमा सांघाइमा ओमिक्रोन भेरियन्ट फैलिएपछि उनी र उनको टोली आलोचित बनेको थियो। त्यसले उनको राजनीतिक करिअरमा धक्का पुग्नसक्ने आशंका गरिएको थियो।

तर, स्थायी समितिमा उनको नियुक्तिसँगै सो सन्देह हटेको छ। स्थायी समितिको वरीयतामा सीपछि रहेका उनी आउँदो मार्चमा प्रधानमन्त्री नियुक्त हुने आकलन छ।

चाओ लेची

उमेर : ६५
हालको पद : केन्द्रीय अनुशासन आयोगको प्रमुख

चिनियाँ कम्युनिस्ट पार्टीमा चाओ उदाउँदो नेताका रुपमा चिनिँदै आएका छन्। उनी सीजस्तै सान्सी प्रान्तसँग जोडिएका व्यक्ति हुन्।

छिङहाइ प्रान्तीय सरकारमा प्रवेश गरेपछि उनी तीव्र गतिमा माथि उक्लिन थाले। ४२ वर्षकै उमेरमा उनी प्रान्तीय गभर्नर बने। सो पदमा पुग्ने सबैभन्दा कान्छा व्यक्ति उनै हुन्।

भ्रष्टाचारविरोधी अनुशासन आयोगमा बसेर उनले पार्टीको अनुशासन कायम राखे। गएका वर्षहरुमा घुस लिएका अनेकौँ उच्च नेताहरुलाई कारबाही गरे।

तेस्रो वरीयतामा उक्लिएका उनी अब राष्ट्रिय जनकंग्रेस अर्थात्, संसदको अध्यक्ष हुनेछन्। 

वाङ हुनिङ

उमेर : ६७
वर्तमान पद : कम्युनिस्ट पार्टी सचिवालयको प्रथम सचिव

वाङ पहिले प्राध्यापक तथा विद्वान थिए। वरिष्ठ नेताहरुको नजरमा परेपछि उनी तीव्र गतिमा माथिल्लो पदमा पुगे। त्यसपछि उनको सिफारिस तत्कालीन राष्ट्रपति चियाङ चेमिनकहाँ पुग्यो। जसले उनलाई आफ्नो सल्लाहकारमा बढुवा गरे।

उनी पार्टीको राजनीतिक सिद्धान्तकारका रुपमा परिचित छन्। त्यसैले पछिल्ला तीन नेताहरुले अघि सारेका सिद्धान्तहरुको जस उनैलाई जाने गरेको छ। जसमा चियाङ चेमिनको तीन प्रतिनिधित्व, हु चिन्ताओको विकासको वैज्ञानिक दृष्टिकोण र सी चिनफिङ विचारधारा छन्। 

चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसियटिभ पनि उनकै देन भएको विश्वास गरिन्छ।

पार्टीका सबै समूहसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ। उनी अब चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको अध्यक्ष हुनेछन्। जसले चीनका अन्य पार्टी तथा पार्टीबाहिरका गतिविधिहरुको संयोजन समेत गर्नेगर्छ।

काइ ची

उमेर : ६६
हालको पद : बेइजिङको मेयर

सीका निकटस्थ काइले उनको मातहतमा फुचियान र सेस्याङ प्रान्तमा काम गरेका थिए। उनले सीप्रति पूर्ण वफादारिताको आह्वान समेत गरेका थिए।

गत हिउँदमा महामारीका बीच बेइजिङ हिउँदे ओलम्पिकको सफल आयोजनाको जस उनलाई गएको थियो।

२०१७ मा राजधानीको जनसंख्या घटाउने उनको योजना विवादास्पद बनेको थियो। जसले कम आय भएका मानिसहरुलाई त्यहाँबाट विस्थापित गरेको थियो। 

अब उनी पार्टी सचिवालयको प्रथम सचिव अर्थात् पार्टी सञ्चालनका लागि जिम्मेवार हुनेछन्।

तिङ सुइसियाङ

उमेर : ६०
हालको पद : राष्ट्रपति कार्यालयका निर्देशक

पेसाले इन्जिनियर तिङले आफ्नो राजनीतिक करिअर सांघाइस्थित एक सरकारी रिसर्च सेन्टरबाट सुरु गरेका थिए।

चीनमा प्रान्तीय सरकार तथा पार्टी सचिवको जिम्मेवारीलाई शक्तिको सिँढीमा माथि चढ्न आवश्यक मान्ने गरिन्छ। यी दुवै अनुभव तिङलाई छैन। तैपनि २००७ मा उनी सीका सचिव बने। २०१४ देखि उनी राष्ट्रपति कार्यालयका प्रमुख रहँदै आएका छन्। 

सी चिनफिङ विचारधाराको वकालत गर्ने उनी सीका सबैभन्दा विश्वसनीय पात्रमध्ये एक हुन्। चीनभित्र र बाहिर सीका थुप्रै यात्रामा उनी साथ जान्छन्। पछिल्ला वर्षहरुमा सीसँग सबैभन्दा ज्यादा समय बिताउने नेता उनी नै मानिन्छन्।

ली सी

उमेर : ६६
हालको पद : क्वाङतोङ प्रान्तको पार्टी सचिव

सी चिनफिङको परिवारसँग निकट सम्बन्ध भएका ली २०१७ मा लियाओनिङ प्रान्तको आर्थिक तथ्यांकसम्बन्धी संकट समाधानकर्ताका रुपमा परिचित छन्।

राजनीतिक रुपले महत्वपूर्ण मानिने यनान प्रान्तको पार्टी सचिव रहिसकेका छन् उनी। जुन ठाउँलाई माओले दोस्रो विश्वयुद्धताका पार्टीको मुख्यालयका रुपमा प्रयोग गरेका थिए। र, सीले पनि सात वर्ष सोही ठाउँमा कठिन श्रम गरेर बिताएका थिए।

क्वाङतोङ प्रान्तमा लीले प्रविधि उद्योग र आर्थिक सुधारलाई अघि बढाएका थिए।

ली सी भ्रष्टाचारविरोधी सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनका प्रमुख हुनेछन्। (बीबीसी, एससीएमपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .