सायद आमाको त्यागको बारेमा धेरै कथाहरु लेखिएका होलान्, तर अमेरिकाको नेब्रेस्काकी एक आमाले आफ्नो सन्तानको लागि जे गरिन् त्यसको वर्णन जति गरेपनि साध्य हुनेछैन।
छोरा समलिंगी भएका कारण उनले पुरुषसँग विवाह गरे। तर पुरुषसँगै विवाह गरेता पनि ती महिलाको छोरा म्याथ्यु एलेड्जलाई सन्तानको चाहना भने थियो।
त्यसो भए उपाय के त? ६१ वर्षीय सेसेल एलेड्जले आफ्ना छोराको सन्तानको चाहना पुरा गर्न तयार भइन्।
म्याथ्युकी आमा सेसेल छोरा र छोराको श्रीमान इलिएट डोर्थीको सरोगेट आमा बन्न तयार भइन्।
छोराको विर्य र छोराको श्रीमानकी बहिनीको डिम्बको सहयोगमा अन्ततः सेसेलले छोरा म्याथ्युको लागि छोरी जन्म दिइन्।
गत हप्ता मात्र सेसेलले उमा लुइसलाई जन्म दिएकी हुन्। छोराको सन्तानलाई मात्र सेसेलले जन्म दिइनन्, उनले आफ्नो नातिनीलाई पनि जन्म दिइन्।
पहिल्यै तीन सन्तान जन्माएकी आमा सेसेलका लागि गर्भावस्था सामान्य नै रहेको थियो।
म्याथ्यु र डोर्थीको सन्तानको चाहनालाई सेसेलले पुरा त गरिदिइन् तर यो घटनाले अमेरिकाका समलिङ्गी समुदायप्रति रहेको भेदभावलाई भने देखाएको छ।
अमेरिकामा सन् २०१५ यता समलिङ्गी विवाहले मान्यता पाएको भए पनि सन् २०१७ सम्म नेब्रेस्कामा समलिङ्गी जोडीका लागि अभिभावक बन्न सम्भव थिएन।
सेसेलले आफ्नो गर्भावस्थाको स्वास्थ्य हेरचाहको खर्चका लागि बिमा कम्पनीसँग सङ्घर्ष गरे पनि सफल भइनन्। उनले आफ्नो बच्चा जन्माएकी भए बिमा कम्पनीले उनको सबै स्वास्थ्य खर्च बेहोर्थ्यो।
र बच्चाको जन्मदर्तामा जसले बच्चा जन्मायो उसकै नाम लेखिने भएका कारण डोर्थीको नाम लेखिएन।
म्याथ्युले चार वर्ष अगाडि समलिङ्गी विवाह गर्ने घोषणा गरेपछि स्कूट क्याथोलिक हाई स्कूलले उनलाई शिक्षकको जागिरबाट पनि निकालेको थियो।

प्रतिक्रिया