गण्डकी


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी

नेपालखबर
पुस १८, २०७९ सोमबार ६:५०, काठमाडौँ

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ।

लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताएका छन्। 

विमानस्थल कास्कीको मात्र नभई गण्डकी प्रदेशकै गहना भएको उनको भनाइ छ। पूर्वमन्त्री यज्ञबहादुर थापाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय विमानस्थको भूूमिका महत्वपूर्ण रहने बताए। पोखरा मात्र हैन विमानस्थलबाट समदूरीमा पोखराको फेवा र लेखनाथको बेगनास ताल पनि पर्ने भएकाले लेखनाथको क्षेत्रको पर्यटन विकाले अब द्रुतगति लिनेमा विश्वास व्यक्त गरे। 

‘अब यहाँ आउने पर्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा तालतर्फ पनि आउने छन्’, उनले भने, ‘कस्केलीको चार दशक लामो प्रतीक्षाबाट निर्माण सम्पन्न भएको छ यो विमानस्थल सफल बनाउन कस्केली मात्र नभएर सिङ्गो गण्डकीवासी नै जुट्नुपर्छ’, 

पोखरा र लेखनाथको मात्र नभइ अब समग्र गण्डकी प्रदेशको विकास भएको स्थानीयवासी थापाले भने।

उनले लेखनाथ र पोखरा अब एउटै उपत्यका भएको छ, विमानस्थल सञ्चालनमा आएपछि झनै नजिक बनाइदिएको छ, अब यहाँका जनप्रतिनिधिले समृद्धि र यहाँका प्रकृतिक संरचनालाई संरक्षण गर्दै गुफा र तालको धनी सहर पोखराको पर्यटक विकासमा जुट्नुपर्ने बताए। 

पोखरा–२६ लेखनाथका  गणेश अधिकारीले  क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले समग्र कास्की र वरपरका जिल्लाको पर्यटन विकासमा सहयोग पु¥याउने र यस क्षेत्रका मानिसको जीवनस्तरसमेत माथि उठ्ने विश्वास व्यक्त गरे।

‘समग्र पोखराको पर्यटन विकासमा यहाँका  स्थानीय, प्रदेश र सङ्घका प्रतिनिधि जुट्नुपर्छ,’ उनले भने, ‘विदेशी पर्यटक अब सीधै पोखरा आउने भएपछि पोखरालाई थप सुन्दर बनाउन विकासका योजना पर्याप्त मात्रामा ल्याउनुपर्छ।’

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष  एवं लेखनाथवासी  छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथका सडक विस्तार गर्न आवश्यक भएको बताए। यहाँका साँघुरा सडक र कच्ची सडकले पर्यटक थेक्न सक्दैन, ट्राफिक जाम नहुने किसिमबाट सडकको विस्तार हुन जरुरी भएको बताए।

यस क्षेत्रको पर्यटकीय बेगनास, रुपालगायत अन्य पाँच तालको पनि विकास गर्न जरुरी रहेको जनाउँदै उनले लेखनाथका सातै ताललाई जोड्ने सडक निर्माण गर्न जरुरी भएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गरेका थिए। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको छ। करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी रु २२ अर्ब रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

 विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ।

विमानस्थलको क्षमता वार्षिक दश लाख यात्रुको रहेको छ। २४ सैँ घण्टा जहाज सञ्चालन गर्न सकिने सो अवसरमा जानकारी दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .