गण्डकी


यतीको जहाज दुर्घटना : बेपत्ताको खोजी राति पनि गरिने

यतीको जहाज दुर्घटना : बेपत्ताको खोजी राति पनि गरिने

नेपालखबर
माघ १, २०७९ आइतबार १९:४८, काठमाडौँ

पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी राति पनि जारी राखिने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अजय केसीले खोजी राति पनि जारी राख्न घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए।

‘खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ’, प्रमुख केसीले भने। 

दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ। ‘अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं’, उनले भने। 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन्। नेपाली सेनाका मात्रै दुई सयभन्दा बढी जना खटिएका छन्। प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन्। काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको  जानकारी दिए। उनका अनुसार जहाजमा रहेका चारजना अझै बेपत्ता छन्। अहिलेसम्म ६८ जनाको शव फेला परेको छ।

उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ।

‘सबै जनाको शव आज नै  निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,’ प्रजिअ केसीले भने। मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad