माघ एक गते पोखराको सेती खोंचमा यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएको शुक्रबार (माघ १३ गते) १३ दिन पुगेको छ। दुर्घटनास्थलमा अहिले पनि यत्रतत्र दुर्घटनाग्रस्त विमानका टुक्राटाक्री छन्। भयानक दुर्घटनाको साक्षी बनेको सेती खोंचमा अहिले धुँवा त उडेको छैन तर त्रासदी झल्काउन विमानका अवशेष नै काफी छन्।
‘माघ १ को जस्तो त्यहाँ धुँवाको मुस्लो त छैन तर पुग्नेहरुले सुरुमा सम्झिने नै त्यही धुँवा बनिदिएको छ। सेती आफैंमा घाट हो र यती विमानका टुक्राहरुले घाटलाई अझ चकमन्न बनाएको छ’, दुर्घटना प्रभावित नागरिक समाज गठन गरी मृतकको चीरशान्ति र क्षतिपूर्तिका लागि प्रशासन गुहारिरहेका अग्रज पत्रकार कुशुमकेशव पराजुलीले भने, ‘यो त्रासदीले छिट्टै छाड्ने छाँट छैन किनकि अझै पनि मृतकका आफन्तहरुले शव नै पाएका छैनन्।’
दुर्घटनाग्रस्त विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। तीमध्ये ७० जनाको निधन भएको पुष्टि भएको छ। यती एयरलाइन्सको पछिल्लो विज्ञप्तिअनुसार दुईजना अझै बेपत्ता छन्। मृतकमध्ये ६० जनाको शव परिवारले बुझेका छन्। उनीहरुको अन्त्येष्टि भइसकेको छ। परिवारजन शोकमा छन्।
भेटिएका शवमध्ये ६ वटाको सनाखत हुन सकेको छैन। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएका ती शव अत्यधिक जलेकाले चिन्न समस्या भएको जनाइएको छ। डीएनए परीक्षणपछि मात्र ती शवको पहिचान हुने र त्यसका लागि समय लाग्ने विधि विज्ञान प्रयोगशालाले जनाएको छ।
विमान दुर्घटनापछिको उद्धार र खोजी गर्ने क्रम अझै रोकिएको छैन। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार बिहीबारसम्म पनि सो क्षेत्रमा खोजी जारी छ। उनका अनुसार खोजीमा खटिएका गोताखोर र सुरक्षाकर्मीको देवघाटसम्म पनि पुगे। तर, अझै एक जना हराइरहेका छन्। उनका अनुसार उद्धारका क्रममा सबैभन्दा पहिला नजलेका र परिचय खुल्ने शव व्यवस्थापन भएको थियो।
‘हामीले परिचय खुल्ने २२ वटा शव त पोखराबाटै आफन्तको जिम्मा लगाएको हो, बाँकीको पनि सम्भव भएसम्म फरक–फरक ७२ वटा पोका बनाएरै पठाएको हो तर अत्यधिक जलेकाले र क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको कुरा आएको छ,’ उनले भने,‘अन्तिम परीक्षणपछि शवको पहिचान होला भन्ने हो, हामीले यहाँ लाखौं कोसिस गर्दा पनि थप शव प्राप्त गर्न सकेका छैनौँ।’
हिन्दू परम्पराअनुसार अन्त्येष्टि भएकाहरुले माघ १ गतेको देहत्याग मितिलाई पहिलो दिन मानेर शुक्रबार अन्तिम संस्कार गर्दै छन्। हिन्दू परम्पराअनुसार गाईको गहुँत खाएपछि मृतकका आफन्तहरु शुद्ध हुन्छन्। पुरानै दिनचर्यामा फर्कन्छन् /कोसिस गर्छन्।
त्यही परम्परालाई आधार मानेर शुक्रबार पोखरामा विभिन्न संघ/संस्थाले शोकसभा आयोजना गरेका छन्। पोखरा महागनरपालिकाले दुर्घटना भएकै समयमा अर्थात् बिहान १०:५८ मा श्रद्धाञ्जली सभाको आयोजना गर्दै छ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये धेरैजसो पोखराकै छन्। आफन्तको निधनमा शोकमग्न उनीहरुले पनि आआफ्ना तवरले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र अर्का सञ्चारकर्मी अनिल शाहीको सम्झनामा पत्रकार महासंघले श्रद्धाञ्जली सभा आयोजना गर्दै छ भने दुर्घटना प्रभावित नागरिक समाजले पनि अपराह्न ४ बजे अर्को कार्यक्रम गर्दै छ।
कास्की प्रशासनले पनि श्रद्धाञ्जली सभा आयोजना गर्ने जानकारी गराएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी पनि यही मेसोमा होमिएका छन्। उनीहरुले फरक समयमा श्रद्धाञ्जली सभा आयोजना गर्ने जानकारी गराएका छन्।
प्रतिक्रिया