ad ad

गण्डकी


विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

माघ १ गते पोखराको सेती खोँचमा विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा शुक्रबार बिहान पोखरा महानगरपालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी। तस्बिर : कृष्ण दवाडी/रासस


नेपालखबर
माघ १३, २०७९ शुक्रबार १३:५५, कास्की

यही माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ। 

पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुलनजिक ठीक १०:५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो। सो अवसरमा घटनामा निधन भएका सबै यात्रुको स्मृतिमा दीप प्रज्वलनसमेत गरियो। 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताए।

दुर्घटनाका आला घाउहरु पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ। 

उनले दुर्घटनापछि जोखिम मोलेर उद्धारमा महत्त्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारका तर्फबाट  हार्दिक कृतज्ञता व्यक्त गरे। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए। 

माघे सङ्क्रान्तिको बिहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर विमान बिहान १०:५८ बजे पोखरा वडा नं ७ र १५ को सिमास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो। घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एक जनाको खोजी जारी छ। 

दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .