गण्डकी


गाँजा सोत्तर पार्दापार्दै विधेयक पारित, गण्डकीका पाखामा फस्टाउला गाँजाखेती?

विज्ञ भन्छन्- आयुर्वेदले गाँजा चिन्दैन, भाङबाट २१६ औषधि बन्छन्
गाँजा सोत्तर पार्दापार्दै विधेयक पारित, गण्डकीका पाखामा फस्टाउला गाँजाखेती?

वाशुदेव मिश्र
असार २५, २०८३ बिहिबार १९:२८, पोखरा

गण्डकी प्रदेश सरकारले औषधि र औद्योगिक प्रयोजनको लागि गाँजा खेती गर्ने बाटो खुलाएको छ। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेसँगै यसको वैधानिक खेतीको बाटो खुलेको हो।

तर,गण्डकी प्रदेश सरकारले विधेयकलाई कानुन बनाउँदै गर्दा पनि संघीय सरकारको आँखाबाट भने गाँजा अहिले पनि लागुऔषध नै हो। हाल कार्यान्वयनमा रहेको लागुऔषध (नियन्त्रण) ऐन, २०३३ का गाँजा खेती र कारोबारलाई निषेध नै गरेको छ। यसको उत्पादन र प्रयोग दुवै दण्डनीय नै छन्। 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा महानिर्देशक डा वासुदेव पौडेलले आयुर्वेद औषधिमा गाँजाको प्रयोग हुने भए पनि संघीय कानुनले बाटो नखोलेसम्म त्यतातर्फ जान नसकिने बताए।

बागलुङमा गाँजा सोत्तर: यता विधेयक पारित 
प्रदेशसभाले गाँजालाई वैधानिकता दिँदै गर्दा असार २२ गतेमात्र बागलुङ प्रहरीले १९ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको थियो। बागलुङमा गाँजाको एक प्रजातिबाट अचार खाने भाँगो उत्पादन गरिन्छ। अचार असाध्यै मिठो हुने यो भाँगो उच्चपदस्थको जिब्रोले पनि चाखेकै छ। त्यही भाँगो फल्ने बोटबाट कपडा पनि बनाइन्छ। त्यसरी बनेका आस्कोटलगायतका पहिरन पछिल्लो समय नेपालीहरूमा पनि लोकप्रिय छ। 

ताराखोला गाउँपालिका–५ ठुलोहिले, सोही ठाउँको सानोहिले, ताराखोला गाउँपालिका–२ खुलडाँडा, गलकोट नगरपालिका–४ मिलनचोक, नुवाकोट क्षेत्रका सार्वजनिक तथा व्यक्तिगत जग्गामा लगाइएको १९ रोपनी क्षेत्रफलको अवैध गाँजा जलाएर नष्ट गर्‍यो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले लागुऔषध प्रयोग निरुत्साहन गर्न यो अभियान चलाइएको जानकारी दिए। 

कागजमा फले पनि बारीमा रोप्नै गाह्रो! 
गण्डकी सरकारले गाँजा खेतीको लागि राखेका प्रावधानहरु कडा खालका छन्। सरकारले गाँजाको बोटमा पाइने नशालु पदार्थ टेट्रा हाइड्रो क्यानिबिनोल अर्थात् टीएचसीको मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने प्रावधान राखेको छ। टीएचसी गाँजाको बोटमा किसानले मल हालेजस्तो हाल्ने चिज हैन। एक विज्ञका अनुसार कुनै गाँजाको बोटमा ०.३ प्रतिशतभन्दा बढी टीएचसीको मात्रा पाइएमा के गर्ने भन्ने प्रष्ट नहुँदा रोप्नै गाह्रो हुन्छ। 

ती विज्ञका अनुसार उत्पादन, निकासी वा अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा र तोकेको क्षेत्रमा मात्र गर्न पाइने प्रावधान चाहिँ उचित देखिन्छ। यस्तै,गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रुपमा अनुमति लिनेदेखि गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षणका विषयमा पनि असहमति जनाउनुपर्ने कारण छैन। 

अनुमति नलिइ खेती गरेमा, अनुमति पत्रमा भएको जग्गा र क्षेत्रफलभन्दा फरक भएर खेती गरेमा र कसैलाई नियमविपरीत गाँजा बिक्री वितरण गरेमा लागुऔषधसम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रस्ताव पनि जायज छ। खेतीसम्बन्धी विवरण वा अभिलेख नराखेमा, समयसमयमा उपलब्ध नगराएमा, सिलबन्दी नगरी गाँजाजन्य पदार्थको ओसारपोसार गरेमा वा सिलबन्दी गरेभन्दा घटबढ भएमा र ऐनले तोकभन्दा विपरीत अन्य कुनै काम गरेमा ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना तोएिको छ।

‘विधेयक हेर्दा सरकारले गाँजालाई आर्थिक उपार्जनको माध्यम बनाउन खोजेको देखिन्छ। दुरुपयोग रोक्न कडा प्रावधान जरुरी नै छ,’ती विज्ञले भने,‘एकदिन न एकदिन यसलाई वैधानिक बनाउनै पर्छ तर कार्यविधि किसानमैत्री हुनुपर्छ।’ 

विधेयकले गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सा सेवासहितको उपचार केन्द्र सञ्चालन गरिने प्रावधानलाई पनि ती विज्ञले समर्थन गरे। गाँजा खेतीका लागि उपयोग हुने जग्गामा कृषि तथा वन पैदावारमा आधारित उद्योगले पाएसरह हदबन्दी छुटको व्यवस्थाले चाहिँ किसान प्रोत्साहित हुने उनले बताए। 

आयुर्वेदले गाँजा चिन्दैन, भाङबाट २१६ औषधि बन्छन्
 डा. पुनेश्वर केशरी
 प्रवक्ता 
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

आयुर्वेदमा गाँजा भनेर उल्लेख गरिएको छैन। आयुर्वेदले गाँजालाई महत्व दिँदैन। भाङ भन्ने बुझ्छ।आयुर्वेदका पुराना ग्रन्थमा भंगा, विजया र गन्जीका भनिएको छ। यो खाएर नशा लाग्ने भएकाले गन्धिका भनेको हो। त्यही शब्दबाट गाँजा उत्पन्न भएको हो। आयुर्वेदमा भाङको पात,फल र फूल,जराको औषधीय गुणबारे उल्लेख छ। तर त्यसको चोप (चरेस)बारे कतै उल्लेख छैन।

भाङको दुई प्रजाति हुन्छ–पुरुष र स्त्री। स्त्री जातिको फूललाई माडेर जुन रुपमा गाँजा बनाउँछौँ,  त्यो रुपलाई औषधिको रुपमा राखिएको छैन। प्रदेश सरकारले पनि भाङबाट बन्ने औषधि वा लत्ताकपडा वा तेल निकाल्ने भनेको भए सहज हुन्थ्यो। 

भाङबाट चाहिँ २ सय १६ वटा औषधि बन्छन्। कुनैमा डाइरेक्ट भाङको कम्पोनेन्ट राखिन्छ। कुनैमा भावनामात्र  मिसाइन्छ। आयुर्वेदको धेरै औषधिको कम्पोजिसनमा भाङमा लेखिएको हुन्छ। आयुर्वेदमा बोटानिकल नाम हुँदैन। कहिँ विजया, कहिँ जया हाल्ने भनेको हुन्छ। यसरी प्रयोग गरिँदा कुनैमा मुख्य द्रव्यको रुपमा र कुनैमा भावना द्रव्यको रुपमा प्रयोग हुन्छ।

भावना द्रव्य भनेको के भने, विभिन्न औषधिको पाउडर हालेर भाङको मर्दन गर्ने हो,त्यस क्रममा मुख्य औषधिको तत्व अर्कै हुन्छ तर त्यहाँ भाङको पनि भावना हालिएको हुन्छ। आयुर्वेदमा विभिन्न जडिबुटी मिसाएर खल गर्ने र त्यसलाई सुकाएर पछि ट्याब्लेट बनाउने काम हुन्छ।  भावनाले औषधिको गुण बढाउने हो। 

भाङबाट बन्ने औषधिहरू 
यसले हरेक सिस्टममा काम गर्छ,श्वासप्रश्वास,पाचन प्रणाली,स्नायुतन्त्रमा काम गर्छ। दुखाइ आदि कम गराउन यसबाट बनेको तेलबाट मालिस गरिन्छ। एण्टी डायरियल अर्थात् झाडापखालाको औषधि पनि यसैबाट बनाइन्छ। मानसिक रोगका अलावा रुघाखोकी, ज्वरोमा प्रयोग हुने औषधिहरूमा पनि गाँजाको केही न केही मात्रा प्रयोग गरिएको हुन्थ्यो।

सिंहदरबार वैद्यखानाले गाँजा प्रतिबन्ध हुनुअघिसम्म कोलेराको उपचारमा प्रयोग गर्नका निम्ति रातोवरी,कोलाइटिस (आन्द्रा रोग,जसले पाचन पथमा घाउसम्म बनाउँछ) को लागि प्रयोग हुन्थ्यो। रुखाखोकीमा लक्ष्मीविलाश रस प्रयोग हुन्थ्यो। ज्वरोको लागि त्रिभुवन तृप्ति रस र मानसिक स्वास्थ्य उपचारको लागि भोगसुन्दरी कुटीकालगायतका औषधिहरू बन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad