कास्की प्रहरीले छुट्टाछुट्टै चार वटा कारबाहीमा १५२ ग्रामभन्दा बढी ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागुऔषध कारोबारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार असार १७ गते पोखरा महानगरपालिका–१० उत्तमचोकस्थित एक घरमा गरिएको खानतलासीका क्रममा १३ ग्राम ब्राउन सुगर र स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ नगद बरामद गरिएको छ। उक्त घटनामा स्नुकर हाउस सञ्चालक ३७ वर्षीय गोविन्द थापा र उनका दाइ ३८ वर्षीय रुमबहादुर थापालाई पक्राउ गरिएको छ। जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसै दिन पोखरा–१५ पेन्सन क्याम्पबाट २९ वर्षीय सुमन गुरुङ पक्राउ परेका छन्। उनको साथबाट ०।३७ ग्राम ब्राउन सुगर, दुई थान डिजिटल तराजु र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। उनीमाथि पनि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यस्तै, असार १८ गते बिहान पोखरा–३२ मजुवास्थित पृथ्वी राजमार्गमा वीरगञ्जबाट पोखरा आउँदै गरेको यात्रुवाहक बसमा गरिएको जाँचका क्रममा झ्यालको पर्दाभित्र लुकाएर ल्याइएको ३४ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा स्याङ्जाका ३२ वर्षीय विनोद क्षेत्री र २६ वर्षीय रेशम क्षेत्री पक्राउ परेका छन्।
त्यसै दिन बिहान काकडभिट्टाबाट पोखरा आउँदै गरेको अर्को यात्रुवाहक बसमा गरिएको जाँचका क्रममा बाँकेको कोहलपुर–१४ निवासी ३१ वर्षीय सुरज सुनारको सिटमुनिबाट १०५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई पनि पक्राउ गरी अदालतबाट छ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चारवटै घटनामा पक्राउ परेका ६ जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।
Shares

प्रतिक्रिया