ad ad

गण्डकी


वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

नेपालखबर
फागुन ११, २०७९ बिहिबार २०:०, बलेवा

बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ। 

परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्‍याउने भएको हो। 

लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ। “हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन”, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीले भने। उनका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्याङ्कीमा पुर्‍याउने लक्ष्य छ। 

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको उल्लेख गर्दै पानी नियमित वितरण हुन थालेपछि सुक्खा याममा पानीको अभाव नहुने बताए। 

यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो। निर्माण कम्पनीको ढिलासुस्तीले तीनपटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो। 

शर्माले भने, “खानेपानी विभागले कतिपय कामको भुक्तानीका लागि बजेट नभएको बताइरहँदा हामीले केही भुक्तानीका काममासमेत सहजीकरण र सहयोग गरेका छौँ।” बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा नेर शुद्धीकरणपछि वितरण गर्नेगरी काम भइरहेको छ। रु ३२ करोड २५ लाखको लागतमा निर्माण थालिएको हो। कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। 

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ। पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन्। पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुईवटा ट्याङ्की तयार गरिएको इन्जिनियर अधिकारीले जानकारी दिए। 

अहिले बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याउने गरिएको छ। बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .