गण्डकी


गण्डकीमा त्रिपक्षीय भिडन्त, राप्रपा पनि मैदानमा

गण्डकीमा त्रिपक्षीय भिडन्त, राप्रपा पनि मैदानमा

वाशुदेव मिश्र
पुस २३, २०८० सोमबार २०:४९, पोखरा

राष्ट्रियसभा निर्वाचनको लागि गण्डकी प्रदेशका त्रि–पक्षीय प्रतिस्पर्धा हुने भएको छ। माघ ११ गते हुने चुनावको लागि सोमबार सत्ता गठबन्धन, प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएसँगै प्रतिस्पर्धा त्रिकोणात्मक बनेको हो।

सत्ता गठबन्धको तर्फबाट कांग्रेसले खुला (अन्य) तर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गता/अल्पसंख्यकतर्फ तनहुँका पदमलाल परियारलाई उम्मेदवार बनाएको छ। किरणबाबुको उम्मेदवारीमा कांग्रेस नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रस्तावक र माओवादीकी नेतृ तथा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडा समर्थक बसिन्।

पदमलाई कांग्रेस नेतृ कल्पना तिवारीकामे प्रस्ताव र माओवादी नेतृ कुसुम बुढा मगरको समर्थन प्राप्त भयो। गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी नेकपा माओवादी पर्वत संयोजक मनरुपा शर्मालाई  माओवादीका नेता हरिबहादुर चुमानले प्रस्तावक र कांग्रेसका विन्दुकुमार थापाले  समर्थन जनाउँदै अगाडि बढाए।

नेकपा एमालेको तर्फबाट खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली उम्मेदवार बने। यसअघि एमाले गण्डकीले सो पदमा बागलुङका मोहनलाल शर्मा उम्मेदवार भएको जानकारी दिएको थियो। तर, मोहनलालको नाम यसअघि नै समानुपातिकको बन्दसूचीमा गएकाले अन्तिममा चक्रबहादुरलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ।

उनको प्रस्तावकमा भक्त कुँवर र समर्थकमा भीम कार्की रहेका छन्। यी दुवै प्रदेश सांसद हुन्। अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्। हेमन्त पोखराकी उपमेयर मञ्जुदेवी गुरुङको प्रस्ताव प्रदेश सांसद राजकुमारी भुजेलको समर्थनमा उम्मेदवार बनेकी हुन्। महिलातर्फ गोरखाकी सम्झना देवकोटा मादी गाउँपालिकाका अध्यक्ष  नवराज ओझाको प्रस्ताव  र प्रदेश सांसद  देवका पहारीको समर्थनमा मैदान उत्रेकी हुन्।

उम्मेदवारी दर्ता गरेसँगै एमाले उम्मेदवार हेमन्त शेरचनले पार्टीले विश्वास गरेर टिकट दिनु नै ठूलो कुरा भएको बताए।

‘चुनावमा जीत–हार हुन्छ नै। हामी पार्टीको निर्देशन शिरोपर गर्दै मैदानमा उत्रिएका हौं,यहाँ परिणामको भन्दा पनि निर्णयको कुरा ठूलो हो,’ उनले भने।

यता, गण्डकीमा दुई प्रदेश सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनीहरु प्रदेश सांसद  पञ्चराम गुरुङ र विन्दु अधिकारीको प्रस्ताव र समर्थनमा उम्मेदवार बनेका हुन्। अर्की उम्मेदवार गौमायासँगै निर्वाचन कार्यालयमा भेटिएका रोमबहादुरले देश बचाउनको लागि राप्रपाले एक्लै उम्मेदवारी दिएको बताए। पोखरा नगरपञ्चायतका पूर्वप्रधानपञ्च रोमबहादुरले राष्ट्रवादीहरुले अन्तिममा राप्रपाका उम्मेदवारलाई मत दिने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिने भएपछि यो चुनाव हुन लागेको हो।

उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ। पुस २७ गते नाम फिर्ता लिन चाहनेको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने छ।

सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति
मतभार बढी भएको सत्ता गठबन्धनसँग आवद्ध सवै मतदाताले पार्टीको ह्विप माने भने यहाँ उनीहरुका उम्मेदवार बलिया छन्। तर, गोप्य मतदान भएकाले मत यताउता हुने आशंका सत्ता गठबन्धनभित्र पनि रहेकै छ। खासगरी, माओावादीका उम्मेदवारलाई मत हाल्न कांग्रेसीहरु अन्कनाउने गरेको अनुभूति गरेको माओवादीले गठबन्धनको मत नचुहाउने प्रतिवद्धता खोजिरहेको छ। त्यही उपक्रममा आफ्ना उम्मेदवारलाई जिताउनको लागि गठबन्धनले विभिन्न समितिहरु समेत गठन गरेको छ।

उम्मेदवारी दर्तासँगै सोमबार बसेको बैठकले नेपाली कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्माको नेतृत्वमा निर्वाचन मूल समिति गठन गरिएको छ। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बराल, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष किरण थापा, जनता समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष गोपाल गुरुङ र संसदीय दलका नेताहरु सो समितिका सदस्य रहेका छन्।

यस्तै कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेकोको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन गरिएको छ। जसको सदस्यहरुमा काँग्रेसको तर्फबाट माधवप्रसाद बास्तोला (मधु), नन्दप्रसाद न्यौपाने, माओवादीको तर्फबाट गुणाखर बस्याल, जगन्नाथ खनाल, कुशुम बुढा, नेकपा एकीकृत समाजवादीका तर्फबाट कृष्णबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तर्फबाट रविमोहन ढकाल र नेपाल समाजवादी पार्टीका तर्फबाट चित्र सापकोटा सदस्य रहेका छन्।

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको प्रचार प्रसार गर्नका लागि जिल्ला जिल्लामा जाने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .