ad ad

गण्डकी


पोखराको प्राइम सहकारी ठगी- थप एक पक्राउ, ८३ जनाको उजुरी

पोखराको प्राइम सहकारी ठगी- थप एक पक्राउ, ८३ जनाको उजुरी

नेपालखबर
जेठ ७, २०८१ सोमबार २०:४९, पोखरा

प्राइम बहुउद्देश्यीय सहकारी ठगीको आरोपमा कास्की प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उत्तम मगर नामक व्यक्ति रहेका छन्।

हालसम्म प्रहरीले  सर्वसाधारणको बचत हिनामिना गरेको आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्की, सहकारीका पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मानबहादुर गुरुङ (माने) र सहकारीका कानुनी सल्लाहकार अधिवक्ता इन्द्रप्रसाद बराललाई यसअघि नै पक्राउ गरिसकेको छ।

जिल्ला कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माका अनुसार पोखरा ४, गैह्रापाटनमा रहेको प्राइम सहकारी ठगी प्रकरणमा हालसम्म ८३ वटा उजुरी परेका छन्। प्रहरीले जेठ १ गते नै सहकारीका निक्षेपकर्ताहरुलाई जेठ २० गतेसम्म उजुरी दिन सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको छ।

प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापाको मुख्य योजनामा रकम हिनामिना भएको देखिएको छ।

उनीहरुले बचतकर्ताको रकम अपचलन गरी विभिन्न व्यक्तिको नाममा जग्गा खरिद गरेको प्रतिवेदनमा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीको प्रतिवेदनमा उल्लेख छ। उनीहरुले आफ्नो काम सल्ट्याउन  नियमनकारी निकायका कर्मचारीलाई घुससमेत दिएको पनि प्रतिवेदनले औंल्याएको छ।

प्राइम सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम घरजग्गामा लगाउने, ऋण दिएको फर्जी खाता बनाउने र मिटरब्याजमा समेत लगाएर १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ हिनामिना गरेको जिकिरसहित सहकारी रजिष्ट्रार कार्यालयले अनुसन्धान गरिदिन प्रहरी गुहारेको थियो।

संचालकहरुले सहकारीको नामको सम्पत्ति आफ्नो नाममा राखेको, ऋणीका सम्पत्ति आफ्ना नाममा हक हस्तान्तरण गरी लिने र ती सम्पत्तिलाई दबाउन विभिन्न व्यक्तिका नाममा लुकाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

सहकारीमा समस्या आइसकेपछि पनि उनीहरुले ऋणीका जग्गामा आफ्नो हक स्थापित गरेर सम्पत्ति लुकाउन नजिकका मान्छेको नाममा पास गरेको भेटिएको हो। मुख्य योजनाकार पौडेल र थापाकै अगुवाइमा यो सहकारी खुलेको हो। थापा प्राइम सहकारीअघि गितेन्द्रबहादुर (जीबी) राईको सूर्यदर्शन सहकारीमा काम गर्थिन्।

व्यवस्थापक थापाले आफ्नो बयानका क्रममा सहकारीबाट आर्जन हुने भन्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले ठूलो रकम मागेर लगेको र अहिलेसम्म नबुझाएको बताएकी थिइन्। थापाको बयानलाई पौडेलले पनि स्वीकारेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .