गण्डकी


पोखरा महानगरमा करार कर्मचारी अवकाश विवाद मिलाउन कांग्रेस– एमालेको समिति

नगरप्रहरीको संवेदनशील अंगमा हानेपछि नैतिक दबाबमा एमाले
पोखरा महानगरमा करार कर्मचारी अवकाश विवाद मिलाउन कांग्रेस– एमालेको समिति

वाशुदेव मिश्र
कात्तिक २८, २०८१ बुधबार १२:४३, पाेखरा

तिहारको बिदा सुरु भएकै दिन अर्थात् कात्तिक १५ गते पोखरा महानगरपालिकाले करारमा रहेका १० इन्जिनियर तथा १८ जना सबइन्जिनियर हटाउने निर्णय गर्‍यो। एमालेका जनप्रतिनिधिले बहिष्कार गरेको ३७ औं कार्यपालिकाको सो बैठक कांग्रेसका वडाध्यक्षहरुको दबाबमा राखिएको थियो र करारमा रहेका ती प्राविधि पदहरु लोकसेवा उत्तीर्ण गरी आएकाहरुले पूर्ति गरिसकेको महानगरले जानकारी गराएको थियो। 

खासमा ती २८ जना प्राविधिक यसअघि एमालेबाट निर्वाचित मेयर मानबहादुर जिसीको पालामा नियुक्त भएका थिए। आफू निकटका प्राविधिकहरुको निष्कासनलाई पछिल्लो पटक सत्तामा कांग्रेससँगै सहकार्य गरिरहेको एमालेले निको मानेन। उसले तत्काल प्रतिक्रिया दिँदै निर्णय नसच्याइ आन्दोलन गर्ने चेतावनी दियो। 

लोकसेवा उत्तीर्ण गरी आएका कर्मचारीहरुबाट करारका कर्मचारीहरु विस्थापित गर्नुपर्छ भन्ने मान्यताविपरीत जान नसके पनि त्यस्तो काम उपल्लो तहका कर्मचारीबाट नभएर तल्लो तहका कर्मचारीबाट सुरु गरिनुपर्ने माग राख्यो। वर्तमान मेयर धनराज आचार्य स्वयंले आफू निकटका व्यक्तिलाई करारमा नियुक्त गरिरहेका र आस्थाको आधारमा कर्मचारीमाथि विभेद गरिएको पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले आरोप लगाइन्। 

एमालेले तिहार बिदा सकिएलगत्तै कर्मचारीहरुसँग मिलेर महानगरको गेटमै आन्दोलन गर्न थाल्यो। कात्तिक २० गते दलबलसहित महानगर कार्यालय पुगेको एमालेको टोलीलाई मेयर आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ कार्यालयमा नभएकोले भित्र जान नदिने भनियो। सोही उपक्रममा एमालेका जनप्रतिनिधिहरुले त्यहाँ रहेका नगरप्रहरीलाई धकेले। जनप्रतिनिधिलाई रोक्न नमिल्ने भन्दै नगर प्रहरी सन्तबहादुर केसीको अण्डकोषमा लात्ताले हाने। केसी ढले। अस्पताल लगिएका केसीको कात्तिक २८ गते शल्यक्रिया गरिएको छ। मेयर आचार्यले उनलाई भेटेर स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
 

महानगरले करारका कर्मचारी राख्न पाउँदैन/मिल्दैन। तर, आफू निकटका कर्मचारी निकाल्न एमाले तयार छैन। नगरप्रहरीमाथि नै सांघातिक आक्रमण भएपछि एमाले नैतिक संकटमा पर्‍यो। महानगर छिर्न खोज्दा धकेलाधकेल भएको तर केसीमाथि आक्रमण नभएको एमालेको तर्फबाट महानगरकी दलकी नेता राधिका शाही योगीले बताए पनि त्यसलाई पत्याउने कोही भएनन्। उता, महानगरमा नोपली कांग्रेसको तर्फबाट दलका नेता दिवसमान प्रधानाङ्गले मंगलबार विज्ञप्ति जारी गर्दै नगरप्रहरीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरे।
 
करारका कर्मचारी हटाउनुपर्ने अडानमा रहेको कांग्रेस र आफू निकटलाई हटाउन नहुने भन्दै आएको एमालेको दबाबका बीच मेयर आचार्यले बुधबार भने मध्यमार्गी बाटो खोजेका छन्। उनले महानगरमा देखिएको यो समस्या समाधानको लागि भन्दै मेयरस्तरीय निर्णयबाट पोखरा २५ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेका छन्। सो समितिलाई कर्मचारी व्यवस्थापन/परिचालनसहित अन्य समस्या समाधानको लागि सुझाव पेश तथा सहजीकरण गर्नेगरी तीन दिनको समायावधि दिइएको छ। 

समितिमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष विष्णुप्रसाद बराल, १३ का अध्यक्ष किरण बराल,१५ का अध्यक्ष तोरणबहादुर बानियाँसहित वडा सदस्यहरु विनोद लामिछाने,रामचन्द्र आचार्य, कृष्णकुमारी पौडेल र डाल्डादेवी भुजेल सदस्य रहेका छन्। कांग्रेसबाट निर्वाचित वडाध्यक्षको संयोजकत्वमा गठित यो समितिमा कांग्रेस–एमाले दुबैको प्रतिनिधित्व रहेको छ। सत्ता गठबन्धनमा रहेका दुई दलबीच देखिएको विवाद मिलाउन र दुबैबीच सहमति खोज्न नै यस्तो समिति बनाइएको महानगर स्रोतको दाबी छ।

‘कर्मचारीमाथि नै मरणासन्न हुनेगरी आक्रमण भएपछि आन्दोलन गर्दै आएको एमालेले नैतिक बल गुमाएको छ। उसको आन्दोलन कानूनसम्मत पनि छैन,’ महानगर स्रोतले भन्यो,’ एमाले निकट कर्मचारी हटाउने अडानमा रहेको कांग्रेसलाई पनि सजिलो छैन। सत्ता साझेदार दलसँग दूरी बढेको कुरा उपल्ला नेताहरुकहाँ पनि पुगेको छ। मिलाउन दुबैतिरबाट दबाव छ। त्यसैले मेयरसाबले यस्तो समिति बनाएर समस्या दुुुई दलका नेताको टाउकोमा हाल्दिनुभएको हो। अब यी दुई दल मिल्छन् होला।’ तर, हटाइएका करारका कर्मचारीलाई पुर्नस्थापित गर्न चाहिँ सजिलो नभएको पनि महानगर स्रोतले जिकिर गर्‍यो। 

गण्डकी प्रदेश सरकारले ल्याएको स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९ ले स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्न नपाइने र त्यसो भए जसले नियुक्त गरेको हुन्छ उसैले उनीहरूको तलब बेहोर्नुपर्ने किटान गरेको छ। तर, संघीय कर्मचारी ऐन नआएकाले महानगरपालिकाले आवश्यकताका आधारमा करारमा दरबन्दी सिर्जना गरिरहेको छ। 

हालका मेयर आचार्यले नै पछिल्लो समय स्वास्थ्य सेवाका निम्ति भन्दै १५० हाराहारी र अन्य सेवा क्षेत्रमा ३५ भन्दा बढी कर्मचारी नियुक्त गरेको एमालेको जिकिर छ। केन्द्रीय दरबन्दीलाई आधार मान्ने हो भने पोखरा महानगरपालिकामा ३ सय ६१ जनाको मात्र दरबन्दी छ। तर, महानगरपालिकामा हाल  ७ सय ४७ जना कर्मचारी छन्। जसमा अझ स्वास्थ्य शाखामा रहेका पर्दैनन्।

सदस्यको आपत्ति 
नगर प्रमुखले ९ सदस्यीय समिति गटन गरी सदस्यको जिम्मेवारी दिएका पोखरा १३ का वडाध्यक्ष किरण बरालले चाहिँ यो समितिकोऔचित्यमाथि प्रश्न उठाउँदै मेयरले फुटाऊ र राज गर भन्ने नीति लिएको आरोप लगाउँदै करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयको माग गरेका छन्। उनले मेयरको यो कार्यलाई दलहरुबीच सम्बन्ध बिगार्ने प्रपञ्चको रुपमा पनि अथ्र्याएका छन्। 

उनले लेखेका छन्, ‘यो खास के हो? लोकसेवाले स्थायी कर्मचारी पठाएको छ। कार्यपालिकाले करारका २८ कर्मचारी मंसिरदेखि हटाउने निर्णय गरेको छ। अनि यो समिति के को लागि? हामीले जनतालाई जवाफ दिनु पर्दैन? समिति गठन पनि सल्लाहले नै गरेको भए हुने। दलहरूको सम्बन्ध बिगारेर पर्दा पछाडीबाट राजनीतिक लाभ लिने जुन चेष्टा भएको छ, यसको घोर भत्र्सना गर्दछु। फुटाउ र राज गर भन्ने मानसिकता अब कामयावी हुने छैन। म यो समितिमा नरहेको जानकारी गराउँदछु। साथै करार कर्मचारी हटाउने कार्यपालिका बैठक कार्यान्वयनको माग गर्दछु। जय होस्, जय पोखरा।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad