अघिल्लो वर्ष असोजमा सम्पन्न एमाले गण्डकी प्रदेशको पहिलो अधिवशेनबाट म्याग्दीका नवराज शर्मा अध्यक्ष भए। स्थायी कमिटी सदस्य खगराज अधिकारी समर्थक मायानाथ अधिकारीलाई हराउँदै समूहसहित विजयी शर्माले चुनावकै बेला प्रदेश कमिटी भवन निर्माणको एजेन्डा प्रस्तुत गरेका थिए। त्यसअघि पनि पार्टीको प्रदेश अध्यक्ष रहेका शर्माले आफ्नै भवनको सपना देख्नुलाई स्वाभाविक मानियो।
अध्यक्ष शर्मासँग पार्टी सदस्य, उद्योगी/व्यवसायी, प्रवासमा रहेका शुभेच्छुक तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग ‘सहयोग’ संकलन गरेरै भवन बनाउने योजना थियो। आडभरोसा दिइरहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि प्रदेश अध्यक्ष शर्माको योजनालाई अनुमोदन गरिदिए।
पोखरा-९,नयाँबजारस्थित भाडाको घरबाट पार्टी कार्यालय चलाइरहेका अध्यक्ष शर्मा आफ्नै भवन बनाउने अभियानमा लागे। केही शुभेच्छुकले सुरुमै खातामा रकम हालिदिए, कतिले चाहिँ पछि दिने गरी कबोल गरे।
प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार भनेजस्तो पाए घर नै किन्न सकिने मत पनि बलियो बन्यो। घरको खोजी भयो। एमाले गण्डकीका लागि घर चाहिएको कुरा शुभेच्छुकहरूसम्म पुग्यो। शुभेच्छुकहरूले पोखरा-८, सिर्जनाचोकमा रहेको पाँचतले घर देखाए।
भूमिगत कोठासहितको भवनको मूल्य १० करोड भनियो। सभाकक्ष, पार्किङ नभए पनि घर हेर्दा ठीकै थियो। त्यो घरका मालिक थिए-पोखराका चर्चित कारोबारी मानबहादुर गुरुङ।
मोलमोलाइ र ठीक/बेठीक के भन्ने छलफल चलिरहेकै बेला अध्यक्ष शर्मालाई डेंगीले गाँज्यो। परिवार म्याग्दी थिए। डेरामा कसले औषधि दिने? कसले हेरचाह गर्ने? उनी म्याग्दी हानिए।
अध्यक्ष नहुँदा पनि भवन किन्ने कुरो रोकिएनछ।अध्यक्ष शर्माका अनुसार जजसले त्यो घर राम्रो छ भन्ने सिफारिस गरेका थिए, उनीहरूले त्यो कुरा पार्टीका गण्डकी इन्चार्जसमेत रहेका सचिव गोकर्ण विष्टसम्म पुर्याएछन्। घरधनीलाई पैसाको आवश्कता भएकाले ९ करोड ६५ लाखमै दिन तयार भएको सन्देश पनि सुनाइएछ।
कम मूल्यमा घर पाइएको भन्दै इन्चार्ज विष्टसहितको टोलीले तत्काल १५ लाख रुपैयाँ बैना दिने र २०८० चैत मसान्तसम्म भुक्तान गर्ने सहमति गरेछ। इन्चार्जको उपस्थितिमा निर्णय भएसँगै प्रदेश कमिटीले १५ लाख रुपैयाँको चेक पनि दिएछ।
बैना गरिए पनि ठूलो रकम तिर्न बाँकी थियो। पार्टीका शुभेच्छुकहरूसँग सहयोग उठाउने अभियान सञ्चालन गर्नुअघि अध्यक्ष शर्मासहित इन्जिनियरहरूले घर निरीक्षण गरेछन्। चोटाकोठा चहारेर सम्भावित लागत र मापदण्ड पालन भए/नभएको खुट्याएछन्। निरीक्षणको क्रममा इन्जिनियरले निर्माण सम्पन्नको प्रमाणपत्र नभएको, दायाँतिरको सडकको मापदण्ड नछाडिएकोलगायत कमजोरी देखाए।
यसपछि अध्यक्ष शर्मासहितको टोलीले घर किन्न आनाकानी गर्न थाल्यो। तर, पार्टीभित्रको एउटा समूह अझै पनि त्यही घर किन्नुपर्छ भन्ने अडानमा थियो। स्रोतका अनुसार जुन समूह घरधनी मानबहादुरसँगको निकटता र व्यक्तिगत आर्थिक लाभका लागि त्यसरी लागेको थियो। तर सफल भएन।
‘निर्माण सम्पन्नको प्रमाणपत्र पनि छैन, मापदण्ड पनि पालना नभएको पाइएपछि त विधि-विधान मान्ने पार्टी अगाडि बढ्ने कुरै भएन’, अध्यक्ष शर्माले नेपालखबरसँग भने, ‘यो कुरा मैले पार्टीका नेताहरूलाई पनि भनेँ। शुभेच्छुकको सहयोग दुरुयोग गर्न मिल्दैन, भोलि मापदण्डअनुसार भवन भत्काइयो भने के गर्ने भन्ने मेरो भनाइमा उहाँहरू सहमत हुनुभयो र बैना पनि फिर्ता लिइयो।’
बैना फिर्ता लिएपछि पनि अध्यक्ष नवराजसहितको टिमले आफ्नै कार्यालय भवन बनाउने अभियान छाडेन। भनेजस्तो घर नपाएपछि जग्गा किनेर आफू अनुकूलको भवन बनाउने निर्णय उक्त टोलीले गर्यो। यहीबीच पार्टी सदस्य तथा एमाले कास्कीको ११औँ अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शिवप्रसाद आचार्यले पोखरा-२६, बूढीबजारमा रहेको १ रोपनी १२ आना जग्गा पार्टीलाई समर्पण गर्ने घोषणा गरे।
जुन जग्गा पृथ्वी राजमार्गबाट ४ सय मिटर मात्र भित्र छ। दुवैतिर बाटो भए पनि त्यति जमिनले मात्र कार्यालय भवन बनाउन पुग्दैनथ्यो। त्यसैले एमाले गण्डकीले त्यस वरपरको बाँकी जग्गा किन्ने निर्णय गर्यो। र, मोहोडामा पर्ने र यसअघि प्लटिङ गरिएको सन्तोष रानाभाटको स्वामित्वमा रहेको ८ आना जग्गा ७५ लाख रुपैयाँमा खरिद गरियो। जग्गा किन्न प्रदेश उपाध्यक्ष मीनप्रसाद गुरुङसँग ३० लाख सापटी लिइयो।
एमाले गण्डकीले २ रोपनी ४ आना जग्गा अपुग हुने देखिएपछि अझै करिब २ रोपनी जग्गाको जोहो गर्ने कामको सहजीकरणको जिम्मेवारी शिव आचार्यलाई नै सुम्पियो। उनकै पहलमा त्यही जग्गासँगै रहेको थप १ रोपनी १२ आना जग्गा पनि पार्टीले राजीनामा पास गरी लिइसकेको अध्यक्ष नवराजले जानकारी दिए।
‘४ रोपनी जग्गा टुंगिएको छ। १ रोपनी १२ आना निःशुल्क प्राप्त भएको हो। बाँकी जग्गाका निम्ति रजिस्ट्रेसन पाससहित पौने २ करोड रुपैयाँ खर्च भएको छ’, अध्यक्ष शर्माले भने,‘डाँडो हो, रुख छन्, वातवरणीय मूल्यांकन गर्नुपर्ने छ। सम्याउनुपर्ने छ। दुईवटा प्राविधिक टोलीलाई नक्सा बनाउने जिम्मेवारी दिएका छौँ, करिब एक महिनामा नक्सा आउला।’
यसअघि नै भवनका लागि भनेर स्वदेशी तथा प्रवासमा रहेका शुभेच्छुकबाट केही रकम प्राप्त भएको पनि उनको भनाइ छ। एमाले गण्डकीले पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति भक्त गुरुङको संयोजकत्वमा भवन निर्माण अन्तर्राष्ट्रिय सहयोग समिति बनाएको छ।
बेलायतमा रहेका भक्तको संयोजकत्वमा गठित समितिले ३० लाख रुपैयाँ भवन निर्माण समितिको खातामा पठाइसकेको छ। विभिन्न देशमा सो समितिले शाखा समिति गठन गरेको र सहयोग रसिद यहीँ छपाएर पठाइएको जानकारी दिँदै अध्यक्ष शर्माले भने, ‘गण्डकीबाट विदेश गएका एमालेका सबै शुभेच्छुकबाट १ करोडभन्दा बढी संकलन हुन्छ भन्ने हाम्रो अपेक्षा छ।’
उनका अनुसार नक्सा तयार र लागत पक्का भएपछि यो वर्षको अन्त्यसम्म भवनको शिलान्यास गरिने छ। अर्को वर्ष असार मसान्तसम्म भवन बनिसक्ने उनको अनुमान छ।
भवनमा पार्टीको प्रदेश कार्यालय, १५५ सदस्य अट्ने बैठक कक्ष, कार्यक्रम हलसहित करिब २ सयवटा गाडी र ५ सय मोटसाइकल अटाउने सुविधाजनक पार्किङ पनि हुनेछ। जग्गासहितको भवनको लागत करिब १० करोड रुपैयाँ हुने अनुमान गरिएको छ।
कसरी जुट्छ पैसा ?
अध्यक्ष शर्माका अनुसार एमाले गण्डकीमा हाल क्रियाशील सदस्यको संख्या ६२ हजार हाराहारी छ। उनीहरूले प्रत्येक वर्ष लेबी तिर्छन्। तीमध्ये १० हजार जनाले नवीकरण नगर्दा पनि सदस्य संख्या ५२ हजार हुन्छ। यीमध्ये कम्तीमा २५ हजार जनासँग भवनका लागि १ हजार रुपैयाँ सहयोग गर्ने सामर्थ्य छ।
त्यसो हुँदा त्यहाँबाट मात्र २ करोड ५० लाख रुपैयाँ जम्मा हुन्छ। प्रवासबाट कम्तीमा एक करोड आउँछ। पार्टीलाई मन फुकाएर दान दिने उद्योगी/व्यवसायी पनि छन्। पार्टीबाट निर्वाचित केन्द्रीय र प्रदेश सांसद, पालिकामा निर्वाचित जनप्रतिनिधिले एक महिनाको तबल दिँदा पनि ठूलो रकम जम्मा हुन्छ।
त्यस्तै पार्टीका तर्फबाट राजनीतिक नियुक्ति पाएकाहरू, शिक्षक, कर्मचारीले मन फुकाउँदा सजिलै १० करोडभन्दा बढी उठ्ने अध्यक्ष शर्माको दाबी छ। सांसद देवी भट्टचनले त भवन बनाउन यसअघि नै १० लाख रुपैयाँ दिने घोषणा गरिसकेका छन्।
‘शुभेच्छुकबाट हो, गलत मान्छेबाट हैन’
व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिएपछि अध्यक्ष केपी शर्मा ओलीसँगै एमाले नेतृत्व यतिबेला आलोचना खेपिरहेको छ। भ्रष्टाचार मुद्दामा मुछिएका गुरुङबाट जग्गा लिई प्रधानमन्त्री ओलीले उनैबाट भवनको शिलान्याससमेत गराइएपछि राज्य संयन्त्र प्रभावित पार्ने प्रयत्नका रूपमा अर्थ्याइएको छ। भ्रष्टाचारी जोगाउन खोजको आरोपमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरे पनि अदालतले समेत त्यसलाई प्रथम दृष्टिमै अनुचित देखेको छ।
एमाले गण्डकीले पनि पार्टीका संगठित कार्यकर्ताबाट जग्गा दान लिएपछि त्यो आरोपको छिटा यता पनि पर्ने निश्चित छ। तर, एमालेका गण्डकी अध्यक्ष शर्मा यो कुरा मान्न तयार छैनन्। यस क्रममा उनले मीनबहादुरसँग सहयोग लिनु गलत नभएको जिकिरसमेत गरे।
‘व्यक्ति कसैसँग जोडिएपछि गलत हुने हो र? मीनबहादुर गुरुङले हिजो सबै पार्टीलाई पैसा दिएका हुन्। कांग्रेस, माओवादीले पनि लिएकै हुन्’, उनले भने, ‘अहिले एमालेसँग जोडिएपछि बढी खेदियो। हो, उहाँहरूसँग केसहरू छन्। केपी ओलीले जग्गा दिएको गुनबापत राज्य शक्तिको दुरुपयोग गर्छ भन्ने लाग्छ भने भोलि एमालेले के गर्छ भनेर हेरे भइहाल्यो नि!’
भवन बनाउन सहयोग लिने हो तर गलत मान्छेबाट लिने हैन भन्ने कुरामा एमाले गण्डकी प्रस्ट भएको जिकिर गरे।
‘उहाँ (शिव आचार्य) पोखरा-३३ का पूर्ववडाध्यक्ष तथा एमाले कास्कीको उपाध्यक्षमा भिडेको व्यक्ति हो। उहाँमाथि शंका गर्नुपर्ने ठाउँ छैन’, उनले भने, ‘उहाँले आफूले आस्था राखेको पार्टीलाई मन खोलेर सहयोग गर्नुभएको हो। उहाँ धन्यवादको पात्र हुनुहुन्छ।’
दुई खेमामा विभाजित गण्डकी एमालेभित्रको एउटा पंक्तिले चाहिँ नवराजको यो अभियानलाई उतिसारो मन पराएको छैन। तर, नवराज काम गरिछाड्ने मनिस्थितिका साथ लागेका छन्।
‘पूजा गरे पनि, धूप हाले पनि, सरापे पनि मलाई केही फरक पर्दैन, पोखरामै भवन बनाउने हो’, उनले भने, ‘एमालेलाई मन पराउने कार्यकर्ताले सहयोग गर्छन्। मेरो पोखरामा घर छैन, फर्केर म्याग्दी नै जाने हो।’
Shares

प्रतिक्रिया