गण्डकी


पोखरेलीको धारामा झर्ला त ‘मिनिरल वाटर’?

कोलपाटनको ट्याङ्की भने जस्ताको त्यस्तै
पोखरेलीको धारामा झर्ला त ‘मिनिरल वाटर’?

वाशुदेव मिश्र
मंसिर १४, २०८१ शुक्रबार १९:१४, पोखरा

जापानी सहयोग नियोग (जाइका) ले मेलम्चीपछि दोस्रो ठूलो मानिएको पोखरा खानेपानी सुदृढीकरण परियोजना नेपाली पक्षलाई हस्तान्तरण गरेको छ। जापानी सहयोग जापानी सहयोग नियोग (जाइका) को करिब ४ अर्ब ५२ लाखको सहयोगमा सम्पन्न भएको सो परियोजनाको शुक्रबार खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे।

जाइका र अर्थमन्त्रालयबीच २०७३ साल फागुन ४ गते खानेपानी सुधार परियोजनाको सम्झौता भएको थियो। सम्झौता अनुसार जाइकाले नेपाललाई ४ अर्ब ८१ करोड १३ लाख जापानी यान प्रधान गरेको थियो।

आठ वर्षभित्र पोखराका ४ लाख ५ हजार जनतालाई शुद्ध पानी उपलब्ध गराउने सो महत्वाकांक्षी परियोजनाको २०७५ साल जेठ २९ गते तत्कालीन खानेपानीमन्त्री बिना मगरले उद्घाटन गरेकी थिइन्। जापानकै हाज्म एन्दो कर्पोरेसनले यो परियोजनाको निर्माण ठेक्का पाएको थियो।

आयोजना सन् २०२५ मै सक्ने र ४ लाख ५ हजार ८८१ जनसंख्यालाई खानेपानी उपलब्ध गराउने लक्ष्य थियो। जापानी निर्माण कम्पनीले तोकिएकै समयमा परियोजना सम्पन्न गरेको छ। परियोजनाअन्तर्गत ४१ एमएलडी क्षमताको प्रशोधन केन्द्रसहित पोखराको नगर क्षेत्रमा करिब १११ किलोमिटर लामो पाइपलाइन बिस्तार गरिएको छ।

निर्माण कम्पनीले पाइललाइन बिस्तारको क्रममा खनेको सडक पनि आफैले मर्मत गरिदिएको छ। खानेपानी संस्थानका अनुसार विन्ध्यवासिनीदेखि जिरोकिलोमिटर हुँदै अमरसिंहचोकसम्म २० इञ्चको पाइप लाइन बिस्तार गरिएको छ भने अन्य ठाउँहरुमा आवश्यकता हेरी १० इञ्च र ६ इञ्चको पाइपलाइन बिस्तार भएको छ।


खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहानमै र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ। पानी सफा बनाउन पुरन्चौरको मुहान नजिक ‘ग्रीट च्याम्बर’ र  दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेसन ट्याङ्की’ (ढुंगा, बालुवा हटाउने पोखरी) निर्माणको गरिएको छ भने  प्रशोधित पानी दुई किलोमिटर यताको पुरन्चौरमा ल्याएर पुनः बालुवामा हालेर पुनः प्रशोधन गरिने छ।  

त्यसका लागि  चार वटा पानी थिग्ग्राउने ट्यांकी तथा छवटा पानी छान्ने फिल्टर, दुईवटा सफा पानी संकलन गर्ने ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको पनि उनले जानकारी दिए। प्रशोधित पानी  त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा आउने छ।

पानी वितरणका लागि आयोजनाले फूलबारी र पस्र्याङमा २० लाख क्षमताको ट्यांकी बनाएको छ। पोखरा १५, कोलपाटनमा बनेको ट्यांकी चाहिँ नेपाल नागरिक उड्डयन प्राधिकरणले भत्काउनुपर्ने बताएपछि अलपत्र रहेको छ।

पोखराका मेयर धनराज आचार्यका अनुसार नागरिक उड्डयन प्राधिकरणले ३१ मिटर अग्लो ट्याङ्की काटेर १५ मिटरमा झार्नुपर्ने अडान लिए पनि जाइकाले सो सर्त नमानेपछि परियोजना जे–जस्तो अवस्थामा छ, त्यस्तैमा हस्तान्तरण हुन लागेको हो।

हवाइ उडानमा बाधा उत्पन्न हुने भन्दै नागरिक उड्डयन प्राधिकरणले सो ट्यांकी काट्न माग गरेको र त्यसको लागत नै ६४ करोड रुपैयाँभन्दा बढी हुने देखिएपछि जाइकाले सो माग अस्वीकार गरेको हो।


कोलपाटनको ३१ दशमलव आठ मिटर अग्लो ओभरहेड ट्यांकीबाट ट्यांकीबाट पोखरा का १०, १४, १५ र १७ का करिब ३४ हजार जनसंख्यालाई खानेपानी वितरण गर्ने लक्ष्य थियो। २०७६ को कात्तिकतिर ट्यांकी निर्माण थालिएको थियो।

परियोजना सम्पन्न भएसँगै अब पोखरेलीको धारामा विश्व स्वास्थ्य संगठन (डब्लुटीओ) ले तोकेको मापडण्ड अनुसारको पानी झर्नेछ। खानेपानी संस्थानले पोखरेलीको धारामा आउने पानी प्रशोधित मिनिरल वाटरजस्तै हुने जिकिर गरेको छ।

खानेपानी शुद्ध गर्नको लागि जिवाणु मार्न औषधि हाल्ने, थिग्रयाउनेलगायतका सबै तरिकाहरु अवलम्बन गरिएको खानेपानी संस्थान पोखराका प्रमुख इन्जिनियर आशिष कार्कीले बताए। उनका अनुसार त्यसका लागि रिजर्रभ्यायर (पानी संकलन ट्याङ्की) निर्माण, मुख्य पाइपलाइनसहित वितरण लाइनसम्मको ५६ किलोमिटर लामो पाइपलाइन बिस्तार भएको छ।

यसअघि जापानी सहयोगबाटै मर्दीबाट विन्ध्यवासिनीसम्मको ११ किलोमिटर लामो पाइपलाइन बिस्तार भएको थियो।

अहिले पोखरादेखि ११ किलोमिटर उत्तरतिर रहेको मर्दी खोलाबाट ल्याइएको पानी सोझै पोखरेलीको धारामा पुग्ने गरेको छ। खानेपानी संस्थान पोखराले यहाँको विन्ध्यवासिनीमा रहेको पानी संकलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धीकरणको औपचारिकता पूरा गर्ने गरेको छ।

पानी शुद्धीकरणको यो सामान्य प्रक्रियाले बर्षायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने गर्थ्यो। तर, अब यो समस्या निराकरण हुने पनि खानेपानी संस्थानले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad