पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
उपमेयर मञ्जुदेवी गुरुङद्वारा प्रस्तुत बजेट चालु आर्थिक वर्षकोभन्दा ८५ करोडले ठूलो हो। चालु आर्थिक वर्षमा महानगरले ७ अर्ब ५१ करोड रुपैयाँको बजेट ल्याएको थियो।
बजेटमा नगर कार्यपालिकाको निम्ति ९५ करोड अर्थात् १८.१९ प्रतिशत, सामाजिक विकासमा ३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकासमा १८ करोड,वडा कार्यालयहरुका लागि १ अर्ब अर्थात् १९.१६ प्रतिशत,पूर्वाधारतर्फ २ अर्ब ३३ करोड अर्थात् ४४.६६ प्रतिशत, सहरी विकास,पर्यटनतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
महानगरले ल्याएको बजेटको स्रोतमध्ये आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख अर्थात् ६३.८७ प्रतिशत व्यहोरिने प्रक्षेपण गरिएको छ। यो प्रक्षेपण चुनौतीपूर्ण देखिएको छ।
किनकि, चालु आर्थिक वर्षमा महानगरले आन्तरिकतर्फ जम्मा ९६ करोड ७३ लाख ५४ हजार रुपैयाँमात्र आम्दानी भएको छ। महानगरले चालु वर्षमा १ अर्ब ५५ करोड ५१ लाख ४७ हजार रुपैयाँ राजश्व उठ्ने प्रक्षेपण गरिएको थियो।
बजेटमा संघीय सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख (३७.५ प्रतिशत) रकम प्राप्त हुने उल्लेख छ। आन्तरिक राजश्व परिचालनतर्फ कर क्षेत्रको अंश ३ अर्ब २३ करोड ७२ लाख २७ हजार रहेको छ। स्थानीय राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड १५ लाख १४ हजार हुने अनुमान गरिएको छ।
प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार, संघीय राजस्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार, संघीय अनुदानबाट ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख ४६ हजार ब्यहोरिने बजेटमा छ।
यी हुन् जेनजीका लक्षित कार्यक्रम
पर्यटकीय सहर पोखरा महानगरपालिकाले आउँदो आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम परम्परागत नै छ। तर, योपटकको बजेटमा महानगरले जेनजी पुस्ता रिझाउने जमर्को गरेको छ।
मेयर धनराज आचार्यबाट प्रस्तुत नीति तथा कार्यक्रममा जेनजी पुस्ता समेटेर उनीहरुलाई नै सहभागी गराएर ‘म भन्छु मेरो कथा’ भन्ने कार्यक्रम चलाइने भएको छ। सो कार्यक्रममा युवाहरुले आफ्नो कथा भन्नेछन्।
‘पोखराका जेन जी पुस्ता सहित विभिन्न पृष्ठभूमिका युवाहरूलाई आफनो सहरका अनुभव, संस्मरण, संस्कार, चुनौती र सपनाहरू आफनै शब्द, फोटो, भिडियो वा कला (मल्टिमिडिया स्टोरी) मार्फत् प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ,’नीति तथा कार्यक्रममा भनिएको छ,‘ यस अभियानले स्थानीय कथालाई उजागर गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत साझा गरी पोखराको विविधता, पहिचान र सकारात्मक पक्षलाई उजागर गरी पर्यटन प्रवद्र्धन गर्न सघाउनेछ।’
यस्तै नीति तथा कार्यक्रममा जेनजी पुस्तिालाई अन्तर्राष्ट्रिय युवा आदान–प्रदान कार्यक्रमअन्तर्गत पोखराका भगिनी सम्बन्ध भएका सहरहरुमा पठाउने घोषणा पनि गरिएको छ।
‘यस कार्यक्रमअन्तर्गत भगिनी सहरका युवालाई आमन्त्रण गर्ने र हाम्रा युवालाई भगिनी सम्बन्ध कायम भएका सहरहरू पठाउँदा अनुभव आदान प्रदान, संयुक्त परियोजना विकास, साझा धारणा निर्माण र स्टार्टअप सहयोगका अवसरहरू आदान प्रदान गर्न सघाउनेछ,’नीति तथा कार्यक्रममा भनिएको छ, ‘ यसले पोखराका जेन जी र युवा पुस्तालाई अन्तर्राष्ट्रिय एक्स्पोजर दिने र विश्वव्यापी सोच विकास गर्न मद्दत गर्नुका साथै पोखराका युवालाई ग्लोबल परिप्रेक्ष्यमा सक्षम र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्न सघाउने विश्वास लिइएको छ। ’
नीति तथा कार्यक्रममा पोखरा युथ लिडरसीप ल्याब कार्यक्रममार्फत् युवाहरुमा नेतृत्व क्षमता विकास गराउने, युवा उद्यमशीलताका लागि पोखरा आइडीया बैंक स्थापना गर्दै पोखराको दिगो विकास, प्रवद्र्धन र युवा उद्यमशीलता स्टार्ट अप आइडिया कालागि स्थानीय नागरिक, युवा, व्यवसायी, विज्ञ र सरोकारवालाबाट नयाँ, रचनात्मक र व्यावहारिक योजनाहरू संग्रह गरिने घोषणा गरिएको छ।
यस्तै, पोखरा स्कील बैंक कार्यक्रमअन्तर्गत सीपयुक्त, बहुपक्षीय र स्वावलम्बी युवापुस्ता निर्माण गरी स्थानीय विकास र डिजिटल अर्थतन्त्र निर्माण गर्ने घोषणा पनि गरिएको छ।
Shares

प्रतिक्रिया