गण्डकी


अब ओडारमा रात बिताउनु पर्दैन सोवाङधुरी पुग्ने पर्यटकले

अब ओडारमा रात बिताउनु पर्दैन सोवाङधुरी पुग्ने पर्यटकले

नेपालखबर
पुस ६, २०८२ आइतबार १२:३०, म्याग्दी

म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाताको प्रयोग गरेर समुद्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन्। 

सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउन २० जना अट्ने आश्रयस्थल निर्माण गरिएको गर्बुजाले बताए।

“तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दीर्घकालीन रूपमा रेस्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ”, गर्बुजाले भने, “सोवाङ धुरीबाट प्याराग्लाडिङको परीक्षणको तयारीमा छौँ।”

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृश्यावलोकन गर्न पाउनु मुख्य विशेषता हो।

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिन्छ। सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔँले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिन्छ।

चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क-नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो।

सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ। चिमखोलादेखि हिँड्नसक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ।

अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खायाममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने तथा हिउँदमा गाउँ नजिकैको बेंसीका फाँटमा झर्ने गर्दथे। नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ।

चिमखोला घर भई हाल पोखरामा बसोबास गर्ने तारा गर्बुजा पुन र उनका भाइ गोपिन पुनले सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँनजिकै पाँच/पाँच सय लिटर क्षमताका दुई वटा ड्रम राखेका छन्।

वडा कार्यालयले पनि थप दुई ड्रम राखेको छ। हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ।

वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । यहाँ होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ। टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान) र तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर-राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad