चर्चित कर्खा गायक खिमबहादुर गन्धर्वको निधन भएको छ। पोखराको बाटुलेचौर निवासी खिमबहादुरले बुधबार ९१ वर्षको उमेरमा यो संसार त्यागेका हुन्। उनी लामो समयदेखि अस्वस्थ थिए।
करिब १० वर्षअघि पक्षघातका कारण एउटा हर नचल्ने भएपछि उनले सारङ्गी रेट्न छाडेका थिए तर मुखले गीत भने गाउँथे। नाताले खिमबहादुरका ज्वाइँ तथा गायक हर्क गन्धर्वका अनुसार पुसको सुरुतिर उनलाई पुनःपक्षघातले हान्यो। लामो अस्पताल बसाइपछि पनि स्वास्थ्य सुधार नभएपछि उनलाई घरमै ल्याइएको थियो।
‘बुधबार साँझ ९ बजेतिर हाम्रो धरोहरले यो संसार छाड्नुभयो। एउटा इतिहास गुमायौँ,’गायक हर्कले भने,‘उहाँले संसार छाडे पनि उहाँले उत्पादन गरेका करिब १ सयजना शिष्यले सारङ्गीको शास्त्रीय धुन भने गुञ्जाउने छन्।’
खिमबहादुर सारङ्गी रेट्ने र कर्खा गाउने अघिल्लो पुस्ताका चर्चित कलाकार हुन्। २०१३ सालतिर युवावयमै अर्का चर्चित गायक झलकमान गन्धर्वसहितको कलाकार टोलीमा सामेल भएर खिमबहादुर चीन पुगेका थिए। जनकविकेशरी धर्मराज थापाको अगुवाइमा चीन पुगेको बेला सो समूहले चियरम्यान माओको नामले चिनिने माओत्से तुङलाई सारङ्गीको धुन सुनाएको थियो।
‘त्यो बेला हामीले माओकै घरमा खाना खाएका थियौँ, गीत सुनाउँदा उनीहरु खुसी भएका थिए,’उनी बेलाबेला भन्थे,‘त्यो बेला हाम्ले उनीहरूको भाषा नबुझ्ने, हामीले भनेको उनीहरूले नबुझ्ने तर सारङ्गी बजाउँदा चाहिँ खुब खुसी भएका थिए।’
गीत गाउँदै देशका विभिन्न भागमा पुगेका खिमबहादुरले सारङ्गीलाई हातमुख जोर्ने साधन बनाएका थिए। खिमबहादुर आफैं भन्थे,‘दिनभर डुलेर गीत गाउने हो। साहूजीहरूले मन फुकाउँदा केही पाइन्थ्यो नत्र खालीहात भइन्थ्यो।’
कर्खा सुनाउँदा चाहिँ मान्छेहरु ध्यान दिएर सुन्थे रे। कर्खा भनेको वीरगाथा, इतिहास, वीरत्व, सुकार्य, जन्म–मृत्यु अनि महत्वपूर्ण घटनाको कथा हो। यसलाई कवितात्मक भावमा सारङ्गीको तालमा गाउनुपर्छ। खिमबहादुरका समवयीहरु झलकमान, हुमबहादुर, भीमबहादुर, तीर्थ छविलालहरु यस्तो गीतमा पारङ्गत रहेको गायक हर्क बताउँछन्।
खिमबहादुरको दख्खल सारङ्गीको शास्त्रीय धुनमा थियो। गायक हर्कका अनुसार खिमबहादुर कर्खा, मादल, तरबारे, घटना र झ्याउे सबै प्रकारमा गीत गाउँथे। ती गीतमा सारङ्गीको धुनले मीठास भर्थे। खिमबहादुरका अनुसार खिमबहादुरका धेरै गीत रेकर्ड छैनन्।
‘गाइने दाइको दुःखको भारीमा जीवन बित्यो उत्तिसको घारीमा’ भन्ने बोलको गीत चाहिँ रेकर्ड भएको छ रे। त्यस्तै बाटुलेचौरकै युवाहरुको ब्याण्ड लक्ष्यले खिमबहादुरको ‘टेलिफोन तार’ भन्ने गीत चाहिँ असाध्यै चर्चित बनेको छ।
उनले २०५५ सालदेखि भने पोखराको विन्ध्यवासिनीमा रहेको संगीत प्रशिक्षण केन्द्रमा शास्त्रीय संगीतकारको रुपमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
उनका चेला सुशील गौतम यतिबेला अमेरिकामा नै सारङ्गी सिकाउँछन्। अर्की चेली मिनु वाइवाले पनि सारङ्गी रेट्ने काम गर्दै आइरहेकी छन्।
गायक हर्क खिमबहादुरको निधनले गन्धर्व संगीतका सबै तार टुटेको धारणा राख्छन्।‘सारङ्गीको सुरुको बेस दिने मोटो तारलाई घोर भनिन्छ। बीचका दुई तार भनेका स्वरुका हुन् र अन्तिमको तार चाहिँ पिख हो। खिमबहादुर जाँदा यी सबै तार एकैचोटी टुटे,’उनले भने।
दुई घरबार गरेका उनका २ छोरा र ३ छोरी रहेका छन्। उनको बिहीबार अन्त्येष्टि गरिएको छ।
Shares

प्रतिक्रिया