गण्डकी


ठेस लागेपछि मन्त्रीबाट राजीनामा दिएँ, संसद पुगेपछि टिम बनाउँछु: महावीर पुन

ठेस लागेपछि मन्त्रीबाट राजीनामा दिएँ, संसद पुगेपछि टिम बनाउँछु: महावीर पुन

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १४:५७, पोखरा

मन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले आफू रिसाएर ठेस लागेर चुनावमा होमिएको जिकिर गरेका छन्। 

मन्त्रीको रुपमा शिक्षा सुधारका निम्ति तयार पारिएका ३ वटा विधेयक विधायन समितिमा थन्किएको जिकिर गर्दै उनले त्यसलाई ठेस लागेको रुपमा अर्थ्याए।

‘गर्न सकेको कुरा त्यहाँ गएर गर्न सकिएन। ठेस लाग्यो र त्यसो भएर चुनावमा आएको हो।प्रधानमन्त्रीज्यूले रिसाएर जानुभयो महावीरज्यू भन्नुभा’छ, रिसाएर हैन, ठेस लागेको हो, ठेस लागेकोलाई रिस भन्न मिल्दैन। त्यो कानुन (आफूले अगाडी सारेका ३ वटा विधेयक) माघ ४ गतेभित्र पास भएको भए म चुनाव लड्ने मान्छे हैन’ उनले भने।

पुनले थपे,‘ म चुनाव लड्न जाँदा धेरैलाई दुःख लागेको छ,रिस उठेको छ ,रिस लागेर के गने? म नेता बन्न चुनाव लडेको हैन। धेरैले मलाई बाहिरबाहिर लाटो देखिन्थ्यो छट्टु रहेछ भन्छन्। कोही ४ महिना मन्त्री भएथ्यो, उसलाई पनि राजनीतिको चस्का लागेछ भन्छन्। यसले मलाई केही फरक पर्दैन। सत्य कुरा यही हो कि म चुनाव लड्ने मान्छे हैन। अरुको भाषामा भन्ने हो भने भाग्यले त्यता डोहोर्‍यायो। मलाई पनि सांसद बन्ने भाग्यमा लेखेको रैछ। अध्यादेश ल्याउन सकेको भए चुनाव लडने थिइन।’ 

महावीर पुन शुक्रबार चुनाव प्रचार प्रसार समितिले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै थिए। उनले माघको ४ गतेसम्म विधेयक पारित गर्न मरिमेटेर लागेको पनि जिकिर गरे।

‘माघको ५ गतेपछि आचारसंहिता लाग्थ्यो। पास भएन। मेन कुरा समय कम भयो। माघको ४ गते ७ बजेसम्म कोसिस गरेको हो। त्यो त्यहाँ (विधायन समितिमा) गएर अड्कियो। चुनाव पछि सर्‍यो’, उनले भने, ‘चुनाव सकिएपछि कस्तो सरकार बन्छ? त्यो मैले ल्याउने अध्यादेश अगाडि बढाउँछ कि बढाउँदैन? त्यसपछि मैले यसो बसेर सोचेँ,सोच्दै जाँदा एउटै उपाय देखेँ, म आफैं नै अहिलेको चुनावमा उठेर लडेर अगाडि बढाउने। त्यसपछि राजीनामा दिने निर्णय गरेको हो।’ 

उनले ती विधेयकहरुले विश्वविद्यालयमा भएका राजनीतिकरणलाई हटाउने,जथाभावी तन्त्रलाई हटाउने र विद्यालयको शिक्षा सुधार गर्ने विषय समेटिएको पनि बताए।

त्यसको साथसाथै सीटीईभीटीले चलाउने सीप विकासको कुरा पनि विधेयकमा राखिएको बताउँदै उनले भने, ‘सीटीईभीटीले एउटा सर्टीफिकेट दिँदो रहेछ। सर्टीफिकेट पाउँदैमा सीप विकास हुँदैन। त्यसैले कानून बनाउने र केही नियमावली बनाउनुपर्ने देखियो।’

उनले आफू  सिंहदरबारमा आफू सुतेर नबसेको प्रष्टोक्ति पनि दिए।

‘धेरैले भनेजस्तो सिंहदरबारमा ढेंडो पकाएर सुतेर बसेको भन्छन्। म सुतेर बसेको थिइन। ६ वटा विज्ञ समूह बनाएर कस्तो कानून बनाउने भन्नेबारे अध्ययन भएको थियो,’उनले थपे।

पुनले आफू संसद पुगेर राजनीति नगर्ने तर विधेयक पारित गराउन लगाउने पनि जिकिर गरे। 

‘स्वतन्त्र उम्मेदवार भएर जित्दा पनि माखो मार्न सक्दैन भनेका छन्। महावीर पुनले कसरी काम गर्छ भन्ने उनीहरुलाई थाहा छैन। मुख्य कुरा के हो भने, म स्वतन्त्र भएर जितेर संसदमा जाँदा पनि एक्लो हुन्न। जित्न त पक्कै जित्छु। म टिम बनाउँछु। एउटा टोली बनाउँछु। काम गर्नको लागि,’उनले थपे,‘ कस्तो टोली भने–अहिलेको चुनावमा जति पनि लडिरहेका छन्। जसले जितेर आउँछ र तिनीहरु इमान्दार र युवाहरु छन् भने मैले पार्टी हेर्दिन, जुन पार्टीको भए पनि हुन्छ। इमान्दार हुनुपर्‍यो,भ्रष्टाचार नगर्ने हुनुपर्‍यो। त्यो टोली बनाएर राजनीति गर्ने हैन, संसदमा छलफल गरेर के–के कुरा गरेर देशको फाइदा हुन्छ,त्यस्ता कुराको योजना बनाएर संसदमा पेश गर्ने हो। मसँग टोली हुन्छ, म काम गर्छु।’ 

उनले आफू राजनीति गर्ने मान्छे नभएकाले नै स्वतन्त्र उम्मेदवार बनेको जिकिरसमेत गरे।

‘म राजनीति गर्ने मान्छे हैन, मैले राजनीति गरेको कसैले कहिल्यै देखेको छ? पार्टीमा लाग्ने राजनीति गर्ने हो। म त सरकारलाई सघाउने मान्छे हो। २०४९ सालमा म अमेरिकाबाट फर्केको हो। २०५१/०५२ सालतिर पार्टीमा तान्न खोजेको हो। आउनुपर्‍यो भनेकै हो। म गइन। म संसदमा गएर राजनीति गर्दिन,’उनले भने।

उनले वर्तमान सरकारको बचाउ पनि गरे। ६ महिनामा धेरै काम गर्न सकिँदैन भन्ने जानकारी भएको बताउँदै उनले अस्थायी सरकारले केही गर्न नसक्ने र केही गर्न सकेन भनेर दोष दिन नमिल्ने पनि तर्क गरे।

‘यो निहुँ खोज्ने कुरा हो, तैपनि सरकारले सक्दो गरेको छ। मन्त्री भएपछि मैले पनि केही गर्ने भनेर सोचेकै हो। ठूलो काम गर्न सकिँदैन, सानोसानो गर्ने हो भनेर सोचेको हो,’उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad