पोखरामा यही चैत ५ देखि ७ गतेसम्म अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाइ खेलकुद संस्था (ना) प्रतियोगिताको आयोजक हो।
‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसीप’ को नाममा हुने यो २३ औं संस्करणको प्रतियोगिता हो। आयोजक संस्था नेपाल हवाइ खेलकुद संस्थाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार प्रतियोगितामा नेपालसहित हालसम्म ७ देशका करिब १०० जनाको सहभागिता रहने छ।
प्रतियोगिता संयोजक सुनिल भट्टराईका अनुसार नेपालसहित भारत, चीन, साउदी अरेबिया,उज्बेकिस्तान, इटली र लेबनानका पाइलटहरू पनि प्रतियोगितामा सहभागी हुनेछन्। कोभिड १९ को महामारीपछि यो प्रतियोगिता संचालन हुन सकेको थिएन।
नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार प्रतियोगिताको टेकअफ स्थल सराङकोट र ल्याण्डिङ स्थल खपौंदी रहनेछ। प्रतियोगितामा ‘एक्युरेसी’ एक मात्र इभेन्ट सञ्चालन हुनेछ। एक्युरेसीतर्फ व्यक्तिगत तथा टिम दुवै इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
पुरुष ओभरअल एक्युरेसीतर्फ विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए। महिला ओभरअलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
टिम ओभरअलतर्फ पनि पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगिताका सुरक्षा निर्देशक योगेश भट्टराईका अनुसार प्रतियोगितालाई सुरक्षित बनाउन विभिन्न प्रविधिको उपयोग गरिने छ भने सम्भावित दुर्घटनामा परेकालाई उद्धारका निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले सहयोग लिइने छ।
नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराम लामिछानेले प्याराग्लाइडिङ प्रतियोगिताले पोखरा प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे।
नेपाल हवाइ खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यका अनुसार गण्डकीमा हाल ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। यहाँ करिब ३६६ टेन्डम पाइलट र १४० सोलो पाइलट रहेको उनको भनाइ छ।
नेपालले १९औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ रजत पदक समेत विजेतासमेत हो।
Shares

प्रतिक्रिया