गण्डकी


भारतीय गोर्खा सैनिकमा छनोट भए, तर भैँसीगोठमा ५७ वर्ष बिताए

भारतीय गोर्खा सैनिकमा छनोट भए, तर भैँसीगोठमा ५७ वर्ष बिताए

नेपालखबर
बैशाख २१, २०८३ सोमबार ५:५१, काठमाडौँ

म्याग्दीको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुगेका पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि भएका थिए।

“हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँगाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिँदा छनोट भएर पनि पल्टन नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए”, ७४ वर्षीय उनले भने, “हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जङ्गल पसेँ।”

पण्डित र ज्योतिष पेसा गर्ने हजुरबुबा वसन्तले पूर्णबहादुरलाई भैँसीको जिम्मा लगाउँदा व्यवसाय फस्टाउने सुझाएपछि परिवारले सोही निर्णय गरेको उनले स्मरण गरे।

भारतीय गोर्खा सैनिकमा भर्ती हुन नपाएकामा पूर्णबहादुरलाई पछुतो भने छैन।

“हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुुरु गरेको घुम्तीगोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो”, पूर्णबहादुरले भने, “भैँसी, राँगा, पाडापाडी र घिउ बेचेरै घरव्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्‍याएँ।”

विसं २०२५ देखि घुम्तीगोठमा भैँसीपालन सुरु गरेका पूर्णप्रसाद गत पुसदेखि स्वास्थ्य र बुढ्यौलीका कारण भैँसी बेचेर मालिका गाउँपालिका-७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थालेका छन्।

सुुरुमा १३ वटा भैँसीलाई एक हजार ५०० रुपैयाँमा बिक्री गरेका पूर्णप्रसादसँग घुम्तीगोठ लिएर भैँसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेँसी गर्दाका रमाइला र दुःखका अनुभूति छन्।

पछिल्लोपटक एउटा भैँसीलाई ८५ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए।

जङ्गलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहारसुसार गर्नेदेखि दूध दुहुने, मोही पारेर घ्यू बनाउने काममा बिहानदेखि साँझसम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घरपरिवारसँग भेट भएको पूर्णबहादुरले सम्झे।

हिउँ परेको अवस्थामा भैँसी र पाडापाडीको स्याहारसुधार तथा आहारा व्यवस्थापनका लागि दुःख भएको उनको भनाइ छ।

वार्षिक दुई सय लिटरसम्म घिउ बिक्री गरेका उनी असोज-कात्तिकमा पोसिलो घाँस प्रशस्त पाइने र बुकीमा मौसम सफा हुँदा मनमोहक दृश्यले फुरुङ्ग पर्थे।

एकपटक जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगर हुँदै धवलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेका पुगेका पूर्णबहादुरले गोठमा एकैपटक ब्वाँसोले आक्रमण गरेर ११ वटा भैँसी मारिदिएको अझै बिर्सेका छैनन्।

गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गरेका थिए।

गाउँअनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालाहरूसँग कमै भेटघाट हुन्थ्यो। घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समयसमयमा परिवारका सदस्यहरूले जङ्गलमै पुर्‍याइदिन्थे।

रेडियो र मोबाइल साथी

पूर्णबहादुरले पछिल्लो समय बुकी र चरन क्षेत्रमा अनावश्यक काँडाधारी वन तथा झारपात फैलिन थालेको अनुभव सुनाए।

पछिल्लो समय बसाइँसराइका कारण खेतबारी बाँझिएकाले गाउँ वरपर पनि व्यवस्थित रूपमा भैँसीपालन गर्न सकिने सम्भावना रहेको पूर्णबहादुर बताउँछन्।

विदेशमा गर्ने दुःख आफ्नै गाउँठाउँमा गर्न सके स्वरोजगार भइने उनको सुझाव छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad