सार्वजनिक जग्गा संरक्षण गर्ने पोखरा महानगरपालिकाको अभियानलाई समर्थन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्ना भौतिक संरचनाहरू हटाउन सुरु गरेको छ।
महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न ३५ दिने सूचना जारी गरेपछि महासंघले पोखरा–९ स्थित सार्वजनिक जग्गामा बनेका भवनहरू आफैँले भत्काउन थालेको हो।
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमकाअनुसार सार्वजनिक जग्गाको संरक्षण हुनुपर्ने र कानुनको पालना आफैँबाट शुरु गर्नुपर्ने मान्यताका साथ यो कदम चालिएको हो। महासंघले आफ्नै उपकरण र जनशक्तिको प्रयोग गरी संरचनाहरू हटाउन थालेको छ।
महानगरले दिएको ३५ दिने म्याद समाप्त हुनु अगावै महासंघले आफ्ना संरचनाहरू हटाएर उदाहरणीय कार्य प्रस्तुत गरेको छ।
यसैबीच, महासंघले सार्वजनिक जग्गामा बनेको एउटा पक्की भवन भने नभत्काई पोखरा महानगरपालिकालाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ। हाल भाडाको घरबाट सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नं ९ को कार्यालय उक्त भवनमा सार्न उपयुक्त हुने महासंघको ठहर छ।
उनले भने, ‘पोखराका विभिन्न सार्वजनिक जग्गामा थुप्रै सङ्घसंस्थाका भवनहरू बनेका छन्, ती सबै हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा थियो। महानगरको अभियानलाई पूर्ण रूपमा सहयोग पुर्याउन हामीले आफ्नै संरचनाबाट यसको शुरुवात गरेका हौँ।’
सार्वजनिक जग्गामा रहेका अन्य सङ्घसंस्थाहरूलाई पनि आफ्ना संरचना हटाएर महानगरको अभियानमा सहयोग गर्न महासंघले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया