गण्डकी


नेकपाले प्रचण्ड बोलाएको कास्की-३ मा यसपटक कसले जित्ला चुनाव?

नेकपाले प्रचण्ड बोलाएको कास्की-३ मा यसपटक कसले जित्ला चुनाव?

वाशुदेव मिश्र
माघ २९, २०८२ बिहिबार १५:५४, पोखरा

गत पुस १० गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्की-३ क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारमा १६ जनाको नाम सिफारिस गर्दा पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई १ नम्बरमा राख्यो। सिफारिस सूचीमा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीको नाम पनि थियो। कास्की-३ प्रचण्डको जन्मथलो, ससुराली र बुहारीको माइती पनि हो।

तर कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लेवाडेमा जन्मेका प्रचण्डले चुनावी प्रतिस्पर्धाका लागि जन्मथलो छिचोलेर अगाडि बढ्ने मध्यपहाडी राजमार्गले छोएको रुकुमपूर्व रोजे। बागलुङको पातीहाल्ने कटेपछि लुम्बिनी प्रदेशमा पर्ने रुकुमपूर्व जिल्लाको सीमा सुरु हुन्छ।

नेकपाका एक नेताका अनुसार २०७९ कै चुनावमा प्रचण्डलाई कास्की-३ ल्याउन प्रयास गरिएको थियो। प्रचण्ड पनि पत्नी सीताको स्वास्थ्यलाई ध्यान दिँदै लेवाडेमा सानो घर बनाएर बस्ने कि भन्ने मनस्थितिमा थिए। चिसो हावापानी र आफ्नै थातथलोमा राख्दा पत्नी सीताको स्मरणशक्ति फर्किन्छ र स्वस्थ हुन्छिन् कि भन्ने आशा प्रचण्डलाई थियो। यसका लागि सो क्षेत्रमा जग्गासमेत हेरिएको थियो। तर त्यस्तो योजना सफल भएन।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहित दलहरूले गठबन्धन गरेका थिए। त्यसैले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं कास्की-३ आउँदा चुनाव जित्ने आकलन पनि थियो। तर जनयुद्धकालीन सहयोद्धा डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोर्खा-२ बाट चुनाव लड्न प्रस्ताव गरेपछि उनी त्यतै लागे। त्यहाँ पनि उनले चुनाव जिते र प्रधानमन्त्री बने।

प्रचण्ड नआएपछि अघिल्लो चुनावमा कास्की-३ मा माओवादी केन्द्रबाट रामजी बराल ‘जीवन’ उम्मेदवार बने। तर उनी नेकपा एमालेका नेता दामोदर वैरागीसँग हारे। वैरागीले २२ हजार ९८० मत ल्याउँदा उनले १७ हजार ५३५ मत मात्र पाए।

बरु चर्चामै नरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का योगराज पौडेल १२ हजार १८० मत ल्याउँदै तेस्रो भए। त्यस चुनावमा कुल १ लाख १ हजार ७१५ मतदाता रहेकामा ६१ हजार २८१ मत खसेको थियो।

समानुपातिकतर्फ एमालेले १९ हजार ३४६ मत पाउँदा कांग्रेसले १५ हजार ८३१, रास्वपाले १४ हजार १४३, माओवादी केन्द्रले ३ हजार ९ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ९४१, एकीकृत समाजवादीले ६८७ मत पाएका थिए। 

प्रदेशसभा चुनावतर्फ एमालेले २३ हजार ५१०, कांग्रेसले १७ हजार ४९९, माओवादी केन्द्रले ५ हजार २३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ५९७, हाम्रो नेपाल पार्टीले २ हजार ५५४ र एकीकृत समाजवादीले १ हजार ११७ मत ल्याएका थिए। प्रदेशसभामा ३८१ मत पाएको राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभातर्फ भने १९५ भोट ल्याएको थियो।

२०७९ को चुनावी नतिजाले भन्छ- यस क्षेत्रले प्रचण्डलाई ‘आऊ’ भनेकै थिएन। कास्की-३ मा अहिले माओवादी केन्द्रसमेत मिलेर बनेको नेकपाले एमाले पृष्ठभूमिका पुराना वामपन्थी नेता गोपाल गिरीलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रमा ५५ हजार १५ महिलासहित १ लाख ७ हजार ५६० जना मतदाता छन् भने १५ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन्। 

यो क्षेत्रमा ‘कोर पोखरा’का १, ३, ५, ६ र पछि गाभिएका १८, १९, २२ र २५ नम्बर अनि अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका सबै वडा पर्छन्।

एमालेले पुरानै विजेता दामोदरलाई उभ्याउँदा अघिल्लोपटक ठाउँ छाडेको नेपाली कांग्रेसले युवा नेता मनोज गुरुङलाई अगाडि सारेको छ। रास्वपाले चाहिँ बिना गुरुङलाई उठाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य अर्जुन खनाललाई कास्की-३ को चुनावी मैदानमा उतारेको छ। 

यस्तै उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङ, विप्लव नेतृत्वको नेकपा माओवादीका कमल खड्का विश्वकर्मा, नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीका कुशल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनका जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, नेसनल रिपब्लिक नेपालका तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मीनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका मीना न्हिसुतु र श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले पनि यस क्षेत्रमा उम्मेदवारी दिएका छन्। 

२०४८ सालको चुनावमा यो क्षेत्रमा एमालेका सोमनाथ अधिकारी ‘प्यासी’ विजयी भएका थिए। १७ हजार ८१८ मतसहित प्यासीले चुनाव जित्दा कांग्रेसका निकटतम प्रतिस्पर्धी महादेव गुरुङले १६ हजार २५३ मत प्राप्त गरेका थिए।

२०५१ को निर्वाचनमा भने झिनो अन्तरले नतिजा उल्टियो। कांग्रेसका कृष्णबहादुर गुरुङ १४ हजार ९८० मतका साथ विजयी हुँदा प्यासीले १४ हजार ८३१ मत पाए। २०५६ सालमा पनि कांग्रेसका प्रकाशबहादुर गुरुङले प्यासीलाई हराए। गुरुङले १८ हजार ७७९ मत पाउँदा प्यासी १६ हजार ५१ मतमा सीमित भए। 

२०६४ सालको संविधान सभा निर्वाचनमा भने कास्कीमा ४ निर्वाचन क्षेत्र कायम गरियो। अहिले ३ नम्बर रहेको क्षेत्र ४ मा त्यतिबेला माओवादी केन्द्रकी दुर्गा विक १४ हजार ८६८ मतसहित विजयी बनिन्। निकटतम प्रतिस्पर्धी एमालेकी सीता ओली गिरीले १४ हजार ४२८ मत ल्याइन्। २०७० सालमा नतिजा उल्टिँदा सीताले १५ हजार ४३८ मत प्राप्त गरिन् भने माओवादीलाई पछि पार्दै कांग्रेसका महादेव गुरुङ १३ हजार १४७ मतसहित दोस्रो स्थानमा देखा परे। 

२०७४ सालको प्रतिनिधि सभा चुनावमा एमाले र माओवादी केन्द्र एउटै पार्टी नेकपा थिए। तत्कालीन नेकपाबाट उम्मेदवारी दिएका जगत् विश्वकर्माले कांग्रेस उम्मेदवार शुक्रराज शर्मालाई सहजै हराए। पछि खेलकुदमन्त्रीसमेत बनेका विश्वकर्माले ३२ हजार ६९० मत पाएका थिए।

पार्टी सभापति बनेपछि गत माघ २३ गते पहिलोपटक पोखरा आएका गगन थापाले त्यही क्षेत्र (कास्की-३) को एउटा घटना सुनाउँदै भने, ‘केही वर्षअगाडि म दसैँको बेलामा परिवारसहित पुनहिल आएको थिएँ। फर्कंदा घान्द्रुकमा रात बिताएँ। भोलिपल्ट बिहानको कुरा हो। मैले सम्झेसम्म ध्रुव आले दाइ हुनुपर्छ। उहाँले मलाई अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालयनेरको चोकमा लगेर उम्भ्याउनुभयो र भन्नुभयो-यहीँबाट हो हामीलाई माओवादीले अपहरण गरेको। यहीँबाट लगेर हो- दिलमान गुरुङ र ईश्वर गुरुङको हत्या गरेको। हामी केही उम्कियौँ। जाने बेला उहाँले एउटा कुरा गर्नुभयो। तपाईंसँग हामीले केही पनि मागका थिएनौँ। के हामीलाई तपाईंहरूले रुखमा भोट हाल्न पनि नदिने? के ठुला नेताले भनेको कुरा हामीले खुरुखुरु मानिदिनुपर्ने? मसँग उत्तर थिएन। म चुपचाप लागेर बसेँ। अहिले म उत्तर लिएर आएको छु। योपटक कांग्रेसले रुखबाहेक अन्यत्र भोट हाल्दैन। छाती ठुलो बनाएर, ढुक्क भएर गएर रुखमा भोट हाल्ने हो।’

गगनले लामो ताली पाए। हो, माओवादी जनयुद्धका बेला कांग्रेसका नेताहरू मारिए, विस्थापनमा परे। तर शान्ति सम्झौतापछिको चुनावमा कांग्रेसले त्यही माओवादीसँग सहकार्य गर्‍यो। अघिल्लो चुनावमा उम्मेदवार नै उठाएन र माओवादीका रामजी बराल ‘जीवन’लाई समर्थन गर्‍यो। 

कास्की-३ को प्रदेशतर्फ ‘ख’मा भाग पाउँदा कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भए। त्यसबेला प्रकाशले पोखरा बैदामका रैथाने, युवा संघका नेता र प्रदेशसभाका निवर्तमान सांसद राजीव पहारीलाई हराएका थिए। कांग्रेससँग गठबन्धन गरे पनि ‘क’मा भने माओवादीका दुर्गादत्त भण्डारीले चुनाव जितेनन्। त्यो चुनावी नतिजाको समीक्षा गर्ने क्रममा तत्कालीन माओवादी केन्द्रले गठबन्धन कसिलो नभएको र कांग्रेससँगको चुनावी तालमेल ठिक ढंगले चल्दो रहेनछ भन्ने निष्कर्ष निकाल्यो।

यसपटक कांग्रेस एक्लै चुनावी मैदानमा छ र उसले यही क्षेत्रमा खाइखेलेका क्षेत्रीय सभापति मनोज गुरुङलाई उम्मेदवार बनाएको छ। मनोज कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा उभिएका नेता हुन्।

सुरुवातदेखि नै शेरबहादुर देउवा क्याम्पमा रहेका उनले विशेष महाधिवेशन सम्पन्न भएपछि पनि तरुण दलका सभापति विद्वान् गुरुङको नेतृत्वमा पार्टी कार्यालय (सानेपा) गगन पक्षलाई रोक्ने पक्षमै थिए। तर निर्वाचन आयोगले गगन नेतृत्वलाई आधिकारिता दिएसँगै विद्वान्‌हरू लाखापाखा लाग्दा उनीचाहिँ टिकट पाउने भाग्यमानीमा दरिए।

अहिले उनी जनतामाझ छन्। कांग्रेस एक भएको र बदलिएको सन्देश बोकेर गाउँ पसेका उनलाई नयाँ-पुराना सबै कांग्रेसीले सघाइरहेका छन्। कारण- जुन पक्षमा लागे पनि टिकट पाउनलायक उनै थिए भन्नेमा कांग्रेसी एकमत छन्। उत्साही कांग्रेसजन, मिहिनेती र समाजसँग भिजेका मनोज जनताको सुखदुःखको साथी बन्ने एजेन्डा बोकेर जनतामाझ पुगिरहेको बताउँछन्।

‘ठुला भाषण गर्न आउँदैन। म हिजो पनि जनताकै बिचमा थिएँ। उहाँहरूका समस्या लिएर धाउनुपर्ने सबै ठाउँ धाएँ। त्यही काम गर्दागर्दै उम्मेदवार बनेको छु, यो क्षेत्रको समस्या र जनताको चाहनालाई शिरमा राखेर हिँड्छु’, उनले नेपालखबरसँग भने।

एमालेले दोहोर्‍याएका दामोदर वैरागी पनि कम्ता छैनन्। अघिल्लो कार्यकाल पूरा गर्न नपाएको र कास्की-३ का नागरिकका एजेन्डा सदनमा पुर्‍याउने काम गरिरहेका बेला एकाएक पदबाट हट्नुपरेकाले बाँकी काम पूरा गर्ने प्रतिबद्धता उनले गरेका छन्। 

उनले भन्ने गरेका छन्, ‘यो भूगोलका लागि म सदनमा पटकपटक बोलेँ। केही अधुरा र राष्ट्रिय राजनीतिमा महत्त्व राख्ने विषय पूरा भएका छैनन्। ती काम पूरा गर्नकै निम्ति फेरि घरदैलोमा आएको हुँ। देश अहिले विषम परिस्थितिमा छ र एमालेको विजयले मात्र त्यसलाई पार लगाउँछ।’

त्यसो त रास्वपाका उम्मेदवारलाई पनि अघिल्लो चुनावकै मतका आधारमा कम आँक्न मिल्दैन। रास्वपाले यस क्षेत्रमा बिना गुरुङलाई अघि सारेको छ। उनी रास्वपाले उम्मेदवार बनाएका निश्चित महिलामध्ये एक हुन्। सो क्षेत्रबाट टिकटका प्रबल दाबेदार मानिएका व्यवसायी यदु अधिकारीलाई पछि पार्दै गुरुङ टिकट पाउन सफल भएकी हुन्। सामाजिक व्यक्तित्व तथा निर्वाचन क्षेत्रमा जनजाति बाहुल्य हेरेर पनि उनलाई टिकट दिइएको रास्वपाका नेताहरू बताउँछन्।

देशभर रास्वपाका पक्षमा देखिएको लहरले कास्की-३ लाई पनि छुनेमा उनी विश्वस्त देखिएकी छन्। 

यस्तै बुधबार मात्र संयोजक प्रचण्डलाई भेटेका नेकपा उम्मेदवार गिरी पनि पुरानो पार्टी एमालेको पनि साथ हुने आशामा छन्। कास्कीको उत्तरी र मुख्य सहरी क्षेत्रले पत्याउनेमा ढुक्क देखिएका उनी यो चुनावमा परिवर्तनको पक्षधर नै नेकपा भएको जिकिर गर्छन्। यही दाबीका साथ उनी घरदैलो गरिरहेका छन्। 

राप्रपाका उम्मेदवार अर्जुन खनाल बोल्नमा माहिर छन्। बैदाममा पर्यटन व्यवसाय गरिरहेका उनीसँग राजा र हिन्दुराज्यको एजेन्डा छँदै छ। कास्कीमा पछिल्लो समय राप्रपा बलियो भएको र आफ्नो एजेन्डामा धेरै नेपाली सहमत हुँदै गएको दाबी गर्ने खनाल माहोल आफ्ना पक्षमा आउने आशामा छन्।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका तर्कमान गुरुङ,  हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका हितमान गुरुङहरू पनि सो भूगोल चिनेका उम्मेदवार हुन्। माछापुच्छ्रेको फेदीदेखि फेवाताल किनारसम्म फैलिएको यो क्षेत्रका केही गाउँमा पुग्न पैदल यात्रा नै गर्नुपर्छ। चुनाव पनि आखिर यात्रा त हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad