बागलुङ १ मा राष्ट्रिय जनमोर्चाको विरासत तोड्दै बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील खड्का विजयी भएका छन्।
सुशील २० हजार ९२७ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले बताइन्।
खड्काका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत पाए।
एमालेका हीराबहादुर केसीले ८ हजार ६४४ र राजमोका कृष्णप्रसाद अधिकारीले ४ हजार ५ सय २१ मत पाए।
राप्रपाका कल्याण आचार्यले ५ सय २३ मत पाएका छन्। श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २ सय ५४ मत प्राप्त गरे।
सो क्षेत्रबाट यसअघिको चुनावमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी बनेका थिए। यसपटक भने उनी पछि हट्दै आफ्ना चेला कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएका थिए।
जनमोर्चाले कृष्णप्रसादलाई उम्मेदवार बनाउँदा प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीले यहाँ चुनावी तालमेल गरेको थियो।
देशभरमै सो क्षेत्रमा मात्र भएको चुनावी तालमेलपछि नेकपाले कृष्णप्रसादलाई सघायो भने क्षेत्र नम्बर २ मा समर्थन माग्यो तर जनमोर्चा र नेकपाको सहकार्यले परिणाम दिएन।
यता क्षेत्र नम्बर २ मा पनि कडा प्रतिस्पर्धाका बिच रास्वपाकै सोम शर्मा ७ सय ७९ मतान्तरले विजयी भएका छन्।
सोमले १२ हजार ६४७ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलले ११ हजार ८६८मत प्राप्त गरे।
एमालेकी मञ्जु चालिसेले ७ हजार ८६४ मत प्राप्त गरिन्। नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत ल्याए।
Shares

प्रतिक्रिया