लेबनान सरकारले मुलुक गम्भीर संकटमा पुगेको भन्दै सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ।
राष्ट्रपति मिचेल औनले मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेका हुन्।
राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा देशका लागि विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ। विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरिकाले गरिबीको वृद्धि बढीरहेको छ।
त्यसैगरी कोरोना भाइरसको महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ। महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या सिर्जना भएको सरकारले जनाएको छ।
सरकारी अधिकारीहरूका अनुसार सिरियाबाट विस्थापितहरूको ठूलो भार पनि लेबनानलाई नै परेको छ । त्यसैले लेबनानलाई सहयोगको खाँचो परेको उनीहरूले बताएका छन्।
लेबनानमा अहिले विद्युत् तथा पानीसम्बन्धी सेवाका लागि भौतिक संरचनाहरू निर्माण तथा मर्मत गर्न सहयोगको आवश्यकता छ। त्यसैगरी लेबनानको सैनिकलाई पनि सहयोगको खाँचो रहेको राष्ट्रपतिले बताएका छन्।
बेरुत नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि चाहिने सहयोग आफूहरूका लागि सबैभन्दा प्राथमिकतामा रहेको राष्ट्रपति मिचेन औनले बताएका छन्। बेरुत नाका देशको अर्थतन्त्रका लागि ठूलो कोसेढुङ्गा भए पनि अहिले सञ्चालन नभएकाले समस्या भएको अधिकारीहरुले जनाएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया