ग्लोबल


अमेरिकी विदेशमन्त्रीले वाङलाई भनेः एक चीन नीति छाडेका छैनौँ

अमेरिकी विदेशमन्त्रीले वाङलाई भनेः एक चीन नीति छाडेका छैनौँ

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १५:३७, काठमाडौँ

ताइवानलाई लिएर अमेरिकाले एक चीन नीति परिवर्तन नगरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन्। आइतबार रोममा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तामा उनले सो कुरा बताएका छन्। 

‘वासिङ्टनले ताइवानलाई लिएर एक चीन नीतिमा कुनै फेरबदल नगरेको स्पष्ट पार्नुभयो र सञ्चार सम्बन्ध खुला राख्नु एकदमै महत्वपूर्ण हुनेमा दुवै पक्षले स्वीकार गरे,’ अमेरिकी अधिकारीको भनाइ रोयटर्सले उद्धृत गरेको छ।

वाङले भने अमेरिका–चीन सम्बन्धमा ताइवान सबैभन्दा संवेदनशील मुद्दा भएको बताए। र, यो विषयलाई सही तरिकाले व्यवस्थापन गर्न नसके दुई मुलुकबीचको सम्बन्धमा समस्या आउने पनि स्पष्ट पारे। 

‘सारमा भन्ने हो भने ताइवानका अधिकारीहरुले बारम्बार एक चीन नीतिबाट बाहिर जाने प्रयास गरेका छन्। यसमा अमेरिकाको मौन सहमति र ताइवानको स्वतन्त्रता चाहने शक्ति पनि दोषी छ,’ चिनियाँ विदेश मन्त्रालयको वक्तव्यअनुसार वाङले भने।

‘अमेरिकाले नक्कली एक चीन नीति होइन, सक्कली एक चीन नीति पालना गर्न जरुरी छ। अमेरिकाले चीनसँग गरेका बाचा पुरा गर्न जरुरी छ। अमेरिकाले व्यवहारबाट एक चीन नीतिलाई पालना गरेर देखाउनुपर्छ नकि एक थोक भनेर र अर्कोथोक गरेर,’ वाङले भने।

ब्लिन्केनले वाङलाई ताइवान जलसन्धिमा तनाव नबढाउन पनि आग्रह गरे। 

ब्लिन्केन र वाङबीच मार्चमा अलास्कामा भएको तनावपूर्ण वार्तापछि पहिलो पटक आमनेसामने भेट भएको हो। एससीएमपी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .