ad ad

ग्लोबल


आणविक हतियारमा अमेरिकालाई पछि पार्दै विश्वकै शक्तिशाली बन्ने अभियानमा चीन

आणविक हतियारमा अमेरिकालाई पछि पार्दै विश्वकै शक्तिशाली बन्ने अभियानमा चीन

नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार १५:२५, काठमाडौँ

चीन न्युक्लियर हतियारमा अमेरिकालाई पछि पार्दै विश्वकै शक्तिशाली मुलुक बन्ने दिशामा अघि बढिरहेकाे छ। 

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार पछिल्लो समय चीनले ठूलो संख्यामा न्युक्लियर हतियार विकास गरिरहेको हाे। 

रिपोर्टका अनुसार गत जुलाई २७ मा चीन अन्तरिक्षबाट हाइपरसोनिक मिसाइल परीक्षण गर्ने पहिलो मुलुक बनेको थियो। जसले ध्वनिको गतिभन्दा पाँच गुणा छिटो पृथ्वीको परिक्रमा गरेको थियो। 

हाइपरसोनिक मिसाइल परीक्षण चीनले निरन्तर गरिरहेकाे हतियार परीक्षणको एक हिस्सा हो। अमेरिकी रक्षा मन्त्रालयका अनुसार चीनले सन् २०३० सम्ममा हजार परमाणु बम बनाउन सक्छ। 

पछिल्लो दुई दशकयता अमेरिका र चीनबीच सैन्य क्षमता विकासमा प्रतिस्पर्धा भइरहेकाे छ। जसमा फाइटर विमानदेखि पनडुब्बी र युद्धपोत निर्माणसम्म छन्।

अहिलेसम्म अमेरिकाले विश्वको ठूलो हिस्सामा आफ्नो दबदबा कायम राखेको छ। तर पछिल्लो समय चीनले परीक्षण गरिरहेको हतियारले अमेरिकासामु चुनौती थपेकाे छ। 

चीनले सोचेभन्दा निकै कम समयमा उल्लेख्य संख्यामा न्युक्लियर हतियार बनाएकाे अमेरिकी अधिकारीहरु बताउँछन्। यसले अमेरिकाको चुनौती स्वाभाविक रुपमा बढेको उनीहरुको दाबी छ।

यसअघि तत्कालीन राष्ट्रपतिहरु जर्ज डब्ल्यु बुस र बाराक ओबामाका पालामा अमेरिकाले चीनको तुलनामा तीनदेखि चार गुणासम्म बढी न्युक्लियर हतियार आफूसँग रहेको दाबी गर्थ्याे। 

तर यति छोटै समयमा चीन कसरी अमेरिकाको हाराहारीमा आइपुग्यो भन्ने अहिलेको महत्त्वपूर्ण प्रश्न रहेको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका जेफ्री लेविस बताउँछन्।

चीनले सन् १९६४ मा पहिलोपटक आणविक बम परीक्षण गरेको थियो। त्यसयता उसले निरन्तर आफ्नो क्षमता बढाइरहेकाे छ। अहिले चीन आफूविरुद्ध हुने जुनसुकै आक्रमणकाे जवाफ दिन तम्तयार देखिन्छ। 

अमेरिकी रक्षा मन्त्रालयका अनुसार चीनले अहिले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरिरहेको छ। जसलाई उसका विभिन्न युद्धपोतले बोक्न सक्छन्। साथै उसले यस्ता हतियार प्रक्षेपणको स्थल पनि बनाइरहेकाे छ। सन् २०२० मा चीनले २५० ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। यो संख्या अन्य समग्र मुलुकले गरेको परीक्षणभन्दा धेरै हो। 

अमेरिकाले अहिले चीन वा उत्तर कोरियाबाट हुन सक्ने कुनै पनि आक्रमणलाई निस्तेज पार्न आफू सक्षम रहेको र उनीहरुको संयन्त्र केही समयमै ध्वस्त पार्न सकिने दाबी गरिरहेकाे छ।

तर जानकारका अनुसार चीन अहिले न्युक्लियर हतियारको क्षमता बढाउँदै ताइवानमा आफ्नो अधिकार जमाउँदा अमेरिकाले आक्रमण गर्ने आँट नगरोस् भन्ने हेतुका साथ हतियार बनाइरहेकाे छ। ​

जर्जटाउन युनिभर्सिटीका परमाणु हतियार विशेषज्ञ केटलिन ताल्माज चीनले अमेरिकाविरुद्ध प्रत्यक्ष आक्रमणका लागि नभई ताइवानजस्ता मुद्दामा उसको भूमिका बन्द गर्न न्युक्लियर हतियार बढाइरहेको बताउँछन्।

केहीले भने यो विषय हतियार विस्तारको भन्दा पनि अमेरिका र चीनबीच लामो समयदेखि जारी द्वन्द्वसँग सम्बन्धित रहेकाे बताएका छन्। 

अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदनबारे चिनियाँ दूतावासले भने अमेरिकाले वर्षौंदेखि आफ्नो न्युक्लियर क्षमता बढाउन खर्बौं डलर लगानी गरिरहेकाे आरोप लगाएको छ।

अमेरिकाले अरुलाई न्युक्लियर हतियार नियन्त्रण गर्नुपर्छ भन्ने आवाज उठाउँदै आए पनि आफूले भने निरन्तर न्युक्लियर हतियार विस्तार गरिरहेकाे हाे। अमेरिका र रुसले पनि अहिले हाइपरसोनिक हतियार निर्माण गरिरहेका छन्। 

चिनियाँ अधिकारीले भने चीनले कहिले पनि सबैभन्दा पहिला आक्रमण नगर्ने नीतिलाई उल्लंघन नगर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .