ग्लोबल


पाकिस्तानमा मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्ल्यूएचओको चेतावनी

पाकिस्तानमा मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्ल्यूएचओको चेतावनी

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ८:२६, काठमाडौँ

पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । 

पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । 

“हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका छौँ, घातक वर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,” डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मान्धरीले भने। 

पाकिस्तानमा केही समय अगाडिको वर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै नभएको जस्तो बढी देखिएको उनको भनाइ छ । 

बर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको मान्धरीको बुझाइ छ । 

उनका अनुसार पछिल्लो बाढी पहिरोका कारण दशौँ लाख मानिस जबरजस्त असुरक्षित पानी प्रयोग गर्न बाध्य भएका छन् । अस्वस्थ पानी पिउने र अन्य प्रयोजनका लागि प्रयोग गर्ने कार्यले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने गरेको र मानवीय क्षति बढाउने गरेको उनले बताए। 

बाढी पहिरोका कारण विस्थापित भएकाहरू अहिले पनि असुरक्षित जीवन बिताइरहेका छन् । उनीहरूलाई आधारभूत उपभोग्य बस्तुहरुसँगै स्वास्थ्य सेवाको समेत अभाव रहेको छ । त्यसैले पनि मानवीय सङ्कट थप उत्पन्न हुन सक्ने उनको अनुमान छ । 

गुणस्तरीय आधारभूत सेवा सुविधा नपाउँदा झाडा पखाला, औलो, डेङ्गु लगायतका रोग लाग्ने र त्यसको उपचार नपाएर थप हजारौँ मानिसको मृत्यु हुने खतरा रहेको डब्ल्यूएचओका अधिकारीहरूको भनाइ छ । रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad