युक्रेनले रुसको कब्जाबाट छुटाएको इजियुम सहरनजिकैको जंगलमा सयौं मानिसको चिहान फेला परेको छ।
युक्रेनले दिएको जानकारीअनुसार शुक्रबारबाट उक्त चिहानको उत्खनन कार्य सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार सहरनजिकैको जंगलमा ‘क्रस’ राखिएको सयौं चिहान फेला परेका हुन्।
यद्यपि यी चिहानमा गाडिएका मानिसको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन। प्रारम्भिक अध्ययनका अनुसार यीमध्ये धेरै मानिसको मृत्यु गोलीबारी वा स्वास्थ्य सेवाको अभावको कारण भएको हो।
युक्रेनको नेशनल पुलिस सर्भिसका प्रमुखले चिहानमा गाडिएकामध्ये अधिकांश आम मानिसहरु रहेको बताएका छन्। यसअघि युक्रेनले उक्त क्षेत्रमा करिब चार सय मानिसको शव गाडिएको हुन सक्ने बताएको थियो।
संयुक्त राष्ट्रसंघले केही दिनमा यो क्षेत्रमा अनुगमनको लागि आफ्नो टोली पठाउने भएको छ।
रुसले सेनाले युक्रेनसँगको युद्ध सुरु भएको केही दिनमै इजियुममाथि कब्जा जमाएको थियो।
रुसले युक्रेनको पूर्वी क्षेत्रमा सेना पठाउन उक्त सहरको प्रयोग गरेको सञ्चारमाध्यमहरुले बताएका छन्।
Shares
प्रतिक्रिया