चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्वपंक्ति अक्टोबर २३ का दिन सार्वजनिक हुने भएको छ। आइतबार सुरु हुने पार्टीको २० औँ राष्ट्रिय सम्मेलन शनिबार समाप्त हुने घोषणा गरिएको छ।
सम्मेलनबाट राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि अनुमोदन हुँदैछन्। तर, उनीबाहेक शीर्ष नेतृत्वपंक्तिमा भने व्यापक परिवर्तन हुँदैछ।
केन्द्रीय समितिका झण्डै आधासरो सदस्य परिवर्तन हुँदैछन्। पार्टीको सबैभन्दा शीर्षस्थ सात सदस्यीय स्थायी समितिका केही सदस्य पनि बदलिँदैछन्।
आगामी पाँच वर्षका लागि नेतृत्वपंक्तिमा ककसलाई ल्याउने भन्नेमा सी स्वतन्त्र हुनेछन्। जसका कारण यो सम्मेलन सीको नेतृत्वको नयाँ युग हुनेछ।
नेतृत्वपंक्तिमा हुने हेरफेरले आउँदो मार्च महिनामा मात्र पूर्णता पाउनेछ। सरकारका प्रमुख पदमा नियुक्ति टुंगिएपछि त्यतिबेला संसदको वार्षिक अधिवेशनले त्यसलाई अनुमोदन गर्नेछ। उदाहरणका लागि प्रधानमन्त्रीका रुपमा ली खछ्याङलाई कसले विस्थापित गर्नेछ भन्ने अहिले स्पष्ट छैन।
तर, पार्टीको सम्मेलनले शीर्ष नेतृत्व घोषित गरेपछि नै कसले कुन पद पाउला भन्ने संकेत प्राप्त हुनेछ।
पार्टीका प्रवक्ता सुन यलीले सम्मेलनको उद्घाटन र समापनको मिति शनिबार घोषणा गरे।
‘२० औँ पार्टी सम्मेलन भोलि बिहान १० बजे बेइजिङको ग्रेट हल अफ द पिपुलमा सुरु हुनेछ। यो १६ देखि २२ अक्टोबरसम्म हुनेछ,’ उनले भने।
शनिबार दिउँसो त्यसको तयारी बैठक गरिएको पनि उनले बताए।
सम्मेलनका मुख्य एजेन्डाहरुमा पार्टीको विधानमा गरिएको संशोधनको अनुमोदन, कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको प्रतिवेदनको समीक्षा, २० औँ केन्द्रीय समिति सदस्यहरुको निर्वाचन, आदि छन्।
यसपटकको सम्मेलनबाट थुप्रैले अवकाश पाउनेछन् भने नयाँ पंक्तिको बढुवा हुनेछ। अहिले नै प्रमुख पदमा पुगिसकेका केहीले अझ महत्वपूर्ण जिम्मेवारी पाउनेछन्। युवा अनुहरहरुले आउँदा वर्षहरुमा नेतृत्वका लागि आफूलाई तयार पार्न पाउनेछन्।
विगतको उदाहरण हेर्दा पार्टीले सम्मेलन समाप्त भएको भोलिपल्ट आफ्नो शीर्ष नेतृत्व सार्वजनिक गर्ने गर्छ। जसमा २५ सदस्यीय पोलिट्ब्युरो र स्थायी समिति हुन्छन्। त्यस्तै सात सदस्यीय केन्द्रीय सैन्य आयोग पनि सार्वजनिक हुनेछ।
आइतबार उद्घाटनपछि राष्ट्रपति, पार्टी महासचिव र सैन्य आयोगका अध्यक्ष सीले २ हजार २९६ प्रतिनिधिसामु आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन्।
प्रतिनिधिहरुले नयाँ केन्द्रीय कमिटी चुन्नेछन्। उनीहरुलाई विभिन्न समूहमा बाँडेर प्रतिवेदनमाथि छलफल गराइनेछ। एससीएमपी
Shares

प्रतिक्रिया