ग्लोबल


ब्राजिलमा लुला राष्ट्रपति बने, भूपू राष्ट्रपति भागेर पुगे अमेरिका

ब्राजिलमा लुला राष्ट्रपति बने, भूपू राष्ट्रपति भागेर पुगे अमेरिका

नेपालखबर
पुस १८, २०७९ सोमबार १५:३४, काठमाडौँ

राष्ट्रपति लुइज इनासिया लुला दा सिल्भाले आइतबार भव्य समारोहबीच ब्राजिल सरकारको बागडोर आफ्नो हातमा लिएका छन्। राजधानी ब्राजिलियामा उनको पदभार ग्रहण समारोहमा भव्य मोटरकेड, संगीत समारोह आयोजना गरिनुका साथै लाखौँ समर्थक उपस्थित थिए। 

तर, सो समारोहमा एक महत्वपूर्ण व्यक्ति भने अनुपस्थित थिए। उनी थिए– निवर्तमान चरम दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारो।

आइतबारको समारोहमा बोल्सोनारोले नै लुलालाई कुममा पहिरिने पट्टिका हस्तान्तरण गर्नुपर्ने थियो। तर, उनी त देश नै छाडेर हिँडिसकेका थिए।

शुक्रबार राति नै बोल्सोनारो अमेरिकाको फ्लोरिडा राज्य पुगिसकेका थिए। कम्तीमा एक महिना उनी त्यहीँ बस्ने बताइएको छ।

चुनावअघि महिनौँदेखि बोल्सोनारोले ब्राजिलको निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै आएका थिए। र, अक्टोबरमा चुनाव हारिसकेपछि पनि उनले पराजय स्वीकार गरेका थिएनन्। 

शुक्रबार विदाई सम्बोधनजस्तो एक भाषणमा उनले लुलालाई राष्ट्रपति पदमा आसीन हुनबाट आफूले सकेसम्म रोकेको तर आफू असफल भएको बताए।

‘कानुनभित्र रहेर, संविधानलाई सम्मान गर्दै यसबाट निस्किने बाटो मैले खोजेँ,’ उनले भने, ‘हामी लोकतन्त्रमा छौँ, हो कि होइन? दुस्साहस गर्न कोही चाहँदैन।’

बोल्सोनारोको अनुपस्थितिमा नवनिर्वाचित राष्ट्रपति लुलाले ३३ वर्षीय फोहोर संकलक एलिन सुसाको हातबाट राष्ट्रपतिको पट्टिका स्वीकार गरे।

संसदलाई सम्बोधन गर्दै लुलाले आफूले भोक र वन फँडानीविरुद्ध लड्ने उद्घोष गरे। त्यस्तै, अर्थतन्त्र उकासेर देशलाई एक ढिक्का बनाउने उनको बाचा थियो। 

लुलाको यो तेस्रो कार्यकाल आश्चर्यजनक फिर्ती हो। यसअघि राष्ट्रपतिको कार्यकाल सकिँदा उनी ब्राजिलको सबैभन्दा लोकप्रिय राष्ट्रपति थिए। त्यतिबेला उनलाई ८० प्रतिशत मतदाताको समर्थन थियो। पछि उनलाई भ्रष्टाचारको आरोपमा ५८० दिन जेल हालियो। 

तर, सर्वोच्च अदालतले उनलाई निर्दोष ठहर्याएपछि उनले फेरि चुनाव लडेका हुन्।

बोल्सोनारोका हजारौँ समर्थक आइतबारसम्म पनि लुलालाई सेनाले पदमा जानबाट रोक्ने आशामा कयौँ स्थानमा शिविर बनाएर बसेका थिए।

देश छाडेर भागेका बोल्सोनारोमाथि कम्तीमा पाँच वटा छानबिन चलिरहेको छ। कतिपय सरकारी वकिलले गोप्य कागजात सार्वजनिक गरेको विषयमा उनलाई दोषी ठहर्याउने पर्याप्त प्रमाण रहेको दाबी गरिरहेका छन्। 

‘जसले यो मुलुकलाई व्यक्तिगत र वैचारिक योजनाको अधीन तुल्याउने प्रयास गरे, उनीहरुसँग बदला लिने हाम्रो कुनै चाहना छैन,’ लुलाले आइतबार संसदमा भने, ‘तर, हामी कानुनी शासनको ग्यारेन्टी गर्छौँ। र, जसले गल्ती गरेका छन्, तिनले त्यसको जवाफ दिनुपर्नेछ।’ न्युयोर्क टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .