काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन्।
सोमवार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो बताएकी हुन्।
उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन्।
उनले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको बताइन्।
उपप्रमुख डंगोलले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताइन्।
उनले भनिन्, ‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ। आवश्यक्ता हो की होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डीपीआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ। धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन। जनताको चाहना विपरित कुनैपनि निर्माण काम हुनु हुँदैन। सर्वसाधारणको सुझाव बिना महानगरले कुनै काम गर्नेछैन।’
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो। अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ।
Shares

प्रतिक्रिया