प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँग उनले कामकारबाहीको विवरण लिएका हुन्।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेको मुख्यसचिव शंकरदास बैरागीले बताए।
त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र भोग्नु परेको समस्याबारे प्रधानमन्त्री दाहालसमक्ष ब्रिफिङ गरे।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोलि आउँछ। हामी छलफलकै क्रममा छौं। विभिन्न मन्त्रालयहरुबाट संक्षेपमा प्रस्तुती भएको छ। केही निकायहरु बाँकि छन। त्यो भोली सबैको विवरण लिईसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन आउँछ', उनले भने, 'सरकार प्रमुखका रुपमा विभिन मन्त्रालय, निकायले कसरी काम गरिरहेका छन? के भइराखेको छ। हाम्रो विकासको गति कस्तो छ? त्यो सरकार प्रमुखले जान्ने स्वभाविक प्रक्रिया नै हो। सचिवहरुले आ–आफ्नो मन्त्रालयका मुद्दा र आफूले भोग्नु परेका समस्या राख्नु भएको छ। त्यसबारे प्रधानमन्त्रीबाट भोलि सम्बोधन हुन्छ।’
तर सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन्। मुख्यसचिव बैरागीका अनुसार भोलि पुनः छलफल हुनेछ।
त्यसपछि प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनेछन्। प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका हुन्।
दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता जनाएका छन्।
Shares

प्रतिक्रिया