मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मकवानपुरकै थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपालीको शंकास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार (आज) बिहान करिब ६ः१५ बजे एक पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएकाले घटनालाई शंकास्पद मानेर थप अनुसन्धान अघि बढाइएको छ।
घटनाको प्रकृति गम्भीर देखिएकाले बिहान करिब ८ः३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन (स्निफर डग) शाखाबाट ट्र्याकर कुकुरसहितको टोलीसमेत घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।
यता, मृतकका आफन्तका अनुसार आश्मान हिजो थाहाबाट हेटौँडा आएका थिए। थाहामा उत्पादीत तरकारी हेटौँडा बजार ल्याएर बिक्री गर्ने काम गर्दै आएका उनी हिजो तरकारीको हिसाब गर्न भन्दै हेटौँडा आएको आफन्तको भनाइ छ।
हेटौँडा आएका उनी हिजो घर फर्किएनन्। घटनास्थल नजिकै रहेको तन्दुरी स्टाफ होटल एण्ड लजमा उनले होटल बुक गरेको बसेको प्रहरी अनुसन्धानबाट देखिएको छ।
उनीसहित अर्का एकजना पुरुष र एक महिलासँगै होटलमा बस्न गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। यद्यपी, होटल बुक आश्मानकै नाममा भएका कारण अन्य व्यक्तिको बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
घटनास्थल नजिकका केही स्थानीयका अनुसार बिहान ३ बजेतिरको समयमा केही मानिस गुहार माग्दै भागेको आवाज सुनिएको थियो।
दुईचार जना मानिसहरू कुदिरहेको र झगडा गरेजस्तो लागेपनि डरले उनीहरुले हो–हल्ला गर्न नसकेको बताएका छन्। आश्मान बसेको होटलको पछाडिबाट भाग्दै सडकतर्फ आएको अवस्थामा उनीमाथि धारिलो हतियार प्रहार भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।
तर, यस विषयमा प्रहरीले औपचारिक पुष्टि गरेको छैन।

प्रहरीले घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूको खोजी गर्नुका साथै होटलको सीसीटीभी फुटेज, घटनास्थलबाट संकलित प्रमाण तथा अन्य प्राविधिक पक्षको विश्लेषण गरी अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। उनको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ।
थाहा नगरपालिका–१० का वडासदस्य उत्तम गोपालीका अनुसार आश्मान कृषि पेशासँगै व्यापार गर्दै आएका व्यक्ति हुन्।
उनले सिजनमा तरकारी देखि खसीबाख्रा र राँगाभैँसीको व्यापार गर्दै आएका थिए। उनको घरमा आमा–बुवा, श्रीमती, १२ वर्षकी छोरी र ३ वर्षका छोरा छन्।
Shares

प्रतिक्रिया