इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण रूपमा ध्वस्त भएको छ। इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
सन् २०११ मा सिरियमा युद्ध सुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गरिरहेको छ। उसले सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हिजबुल्लाह रहेका स्थानलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ। यद्यपि राजधानीका आवासीय क्षेत्रमा हमला भएको थिएन।
इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई ताकेर हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ। प्रारम्भिक विवरणअुनसार एक जना सिपाहीसहित पाँच जनाको मृत्यु भएको तथा १५ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
काफर सुसा त्यो क्षेत्र हो जहाँ सिरियाली उच्च अधिकारी, सुरक्षा तथा गुप्तचर निकायका मुख्य कार्यालय छन्। इजरायली सेनाले सिरियाविरुद्ध हुने आक्रमणबारे कहिल्यै कुनै जानकारी दिँदैन। आफ्नो सीमा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन नियमित रूपमा उसले निगरानी तथा आवश्यकतानुसार क्षेप्यास्त्र प्रहार गरिरहेको छ। आजको आक्रमणलाई सुरक्षा अधिकारीहरूले भीषण भनेका छन्। रासस/एएफपी
Shares

प्रतिक्रिया