'सन् २००८ को मार्च महिना होलीको दिन। त्यसबेला म अमेरिकामा थिएँ। इन्दौरमा साथीहरूसँग होली हेलिरहेका बेला कान्छो भाइको हाईटेन्सन वायरमा अल्झिएर करेन्ट लागेर मृत्यु भयो। परिवार स्तब्ध थियो, मैले अन्तिमपटक भाइलाई हेर्न पनि पाइनँ,' दिउँसो १ बजे इन्दौरस्थित पाल्दा क्षेत्रमा रहेको 'क्यान्डी टोय कर्पोरेट' का संस्थापक गौरव मिरचंदानसँग कुरा गरिरहँदा उनी भावुक देखिए।
उनकी श्रीमती रीमा मिरचन्दनीले खेलौनाको प्याकेटमा मूल्य लेखिरहेकी छिन्- ४० पैसा। थुप्रै महिलाहरू साना रंगिन खेलौना प्याकिङ गरिरहेका छन्।
यी तिनै खेलौना हुन्, जो चिप्स स्न्याक्स जस्ता प्याकेटमा राखिन्छन्। यस्ता खेलौनाले बालबालिकाका लागि स्न्याक्स वा उत्पादन बनाउने कम्पनीको माग बढेको गौरव बताउँछन् । यस्तै खेलौनासँग आकर्षित भएर केटाकेटीहरू चिप्स किन्ने गर्छन्। यो बजारको रणनीति हो।
'अमेरिकामा म पर्फ्युम व्यवसाय चलाइरहेको थिएँ, त्यो सन् २०१४ मा आर्थिक मन्दीको चपेटामा पर्यो। त्यसमा मैले तत्काल सम्भावना देखिनँ र देशै फर्किएर केही गर्न निर्णय गरेँ। त्यसपछि श्रीमती रीमा र परिवारसँग मिलेर मैले चिप्स, स्न्याकजस्ता सामानका खोलभित्र राख्ने स-साना खेलौना बनाउने कम्पनी सुरु गरेँ। २०१९ मा ५ वटा मेसिनबाट हामीले खेलौना बनाउन सुरु गर्यौँ। आज २५० मेसिन र ५ हजार कामदार हाम्रो कम्पनीमा काम गरिरहेका छन्। तीमध्ये अधिकांश महिला छन् । ३ वटा उत्पादन इकाईमा दैनिक १ करोड २५ लाख थान खेलौना उत्पादन भइरहेका छन् । हामी २२ सय प्रकारका खेलौनाहरू उत्पादन गर्दैछौं, ४ वर्ष भित्र कम्पनीको वार्षिक कारोबार २०० करोड भन्दा बढी छ,' उनले बताए।
मेसिनको आवाज सुस्त हुँदै जान्छ, गौरव आफ्ना प्रारम्भिक दिनहरूको कथा सुनाउँछन्।
उनी इन्दौरबाट १२ कक्षा पूरा गरेर अमेरिका गएका थिए। भन्छन्, ‘बाल्यकालदेखि नै देश बाहिर गएर आफूलाई खोज्नुपर्छ भन्ने लाग्थ्यो । पढाइमा औसत विद्यार्थी थिएँ। शिक्षकहरू भन्थे– तिमी जीवनमा केही गर्न सक्नेछैनौ।'
मध्यमवर्गीय परिवारमा जन्मिएका उनी १२ पछि अमेरिका पुगी जर्जिया विश्वविद्यालयमा भर्ना भए। गाडी बेचेर बुवाले पैसाको व्यवस्था गरिदिए। 'तर आफ्नो खर्चका लागि मलाई पैसा कमाउन जरुरी थियो, क्याम्पसमा जागिर खाएँ, चर्चमा पार्ट टाइम सेक्युरिटी गार्डको काम गरेँ। कारहरू सफा गरेँ,' उनले भने।
यसैगरी उनले आफ्नो पढाइ पूरा गरे। पासआउट भएपछि उनले अमेरिकाको एउटा मलमा मोबाइल बेच्ने काम गर्न थाले। यसैबीच उनको भेट एक परफ्युम स्टोर मालिकसँग भयो, जो हैदरावादका थिए। उनले भने, 'उहाँलाई भारत आउने काम थियो, पसल चलाउने जिम्मा मलाई दिए। २ महिनामा मैले दोब्बर व्यापार गरेँ।
अमेरिका फर्किएपछि ती व्यक्ति गौरवको कामबाट प्रशन्न भए। त्यो स्टोर खरिद गर्न प्रस्ताव गरे। तर शर्त थियो- गौरव त्यस स्टोरका लागि ती व्यक्तिको अर्को स्टोरबाट पर्फ्युम खरिद गर्नुपर्ने। 'मसँग त्यति पैसा थिएन। उहाँले मलाई उहाँको अर्को पसलबाट पर्फ्युम खरिद गर्ने शर्तमा पसल दिनुभयो। तर यो बजार मूल्यभन्दा अधिक थियो,' उनले भने।
उनले करिब ५ वर्षसम्म परफ्युमको व्यवसाय गरे। तर २०१४ सम्म आइपुग्दा अमेरिकामा अनलाइन इ-कमर्स साइटहरू फस्टाइसकेका थिए। आउटलेटबाट सामान किन्नेको संख्या ह्वात्तै घट्यो। 'आउटलेटबाट सामान किन्ने ग्राहक घटेका थिए। आमाबुवा घरमा एक्लै हुनुहुन्थ्यो, मैले उनीहरूलाई अमेरिका बोलाउन पनि सकिनँ। त्यसपछि भारत गएर केही व्यापार गर्नुपर्छ भन्ने लाग्यो,' उनले भने।
गौरव आफ्नै देश फर्किआए। तर भारत फर्किएपछि के गर्ने भन्ने उनले सोचिसकेका थिएनन्। उनी खेलौना कम्पनी उत्पादनको रोचक विगत सुनाउँछन्, '२०१५ को कुरा हो। म छुट्टीमा घर थिएँ। बाबाको खाना केमिकलको व्यापार थियो। एक दिन म उहाँसँग इन्दौरमा चिप्स बनाउने कम्पनीको उत्पादन इकाईमा गएँ। त्यतिबेलासम्म भारतमा साना खेलौनालाई चिप्स आदिको प्याकेटमा प्याक गर्ने चलन सुरु भइसकेको थियो।'
उनलाई चिप्समा खेलौना राख्ने आइडिया गज्जब लाग्यो। भारतमा यसको उत्पादन भइरहेकाले आँट्न सकेनन्। तर उनले सोचेजस्तो ती खेलौना भारतमा उत्पादन हुन्थेनन्, चीनबाट आयात हुन्थे। 'सुरुमा त मैले सोचे कि यी खेलौनाहरूको उत्पादन भारतमा पनि भइरहेको छ, तर म गलत थिएँ। यी सबै उत्पादन चीनबाट आएको थाहा भयो,' आफ्नो कारखाना देखाउँदै उनले भने, जहाँ २५० भन्दा बढी मेसिन जडान गरिएका थिए। जहाँ विभिन्न प्रकारका साना खेलौनाको उत्पादन भइरहेको छ ।
कारखानामा क्यान्डी, डायनासोर, जम्पिङ, वाहन, शूटिंग, प्रयाङ्क, पजल, संगीत, स्पिनिङ र चिपकु जस्ता सयौँ खेलौना देख्न सकिन्थ्यो।
गौरव भन्छन्, ‘मेरो पृष्ठभूमि मार्केटिङ हो। मैले एमबीए गरेको हुँ। रीमा (श्रीमती) फेसन डिजाइनिङको कोर्स गरेकी थिइन्। इमानदारीपूर्वक भन्नुपर्दा, मैले खेलौना उद्योग सुरु गर्ने बारे सोच्न थालेपछि मलाई टोए को टी पनि थाहा थिएन। त्यसैले मैले सुरुवात खेलौना उत्पादनबाट होइन, व्यारबाट गरेँ। आयातबाट गरेँ।'
उनले इन्दौरको एउटा कम्पनीबाट २ करोडको अर्डर पाए। चीनबाट खेलौना आयात गर्न थाले। यो क्रम करिब ३ वर्ष चल्यो ।
यसैबीच, मेक इन इण्डियालाई प्रवर्द्धन गर्न केन्द्र सरकारले ३ वर्षभित्र खेलौनाको आयात शुल्क ५ प्रतिशतबाट बढाएर ६० प्रतिशत गर्यो। 'जसका कारण उत्पादन अर्डर महँगो भयो। नाफा एकदम न्यून थियो,' गौरव सम्झिन्छन्।
कुराकानीकै बीच गौरवको बुवाको प्रवेश हुन्छ। उनी आफ्नो फूड केमिकल व्यवसायको बारेमा बताउँछन्। ‘९० को दशकको कुरा हो, मैले मात्रै ३० हजार रुपैयाँमा फुड केमिकलको व्यवसाय सुरु गरेँ,' उनले भने।
कारखानातर्फ औंल्याउँदै गौरव भन्छन्, ‘पहिले यो सानो क्षेत्रमा थियो। सन् २०१९ को कुरा हो। मैले जे कमाएको थिएँ त्यो अमेरिकी पर्फ्युम बजारमा डुबिसकेको थियो। हामीसँग ठूलो मात्रामा खेलौना उत्पादन सुरु गर्न पर्याप्त पैसा थिएन।'
पैसाको अभाव भए पनि परिवारको साथ थियो गौरवलाई। परिवारका सदस्य र आफन्तबाट करिब २० लाख रुपैयाँ ऋण लिए। ५ वटा मेसिनबाट खेलौना बनाए। सुरुमा परिवारसँगै उनले उत्पादनदेखि प्याकेजिङसम्मको काम गर्थे। पछि विस्तारै टिम बढ्दै गयो। आज उनको कम्पनीमा ५ हजारभन्दा बढी मानिस काम गरिरहेका छन्।
आज साँझ गौरवको नयाँ डिलका लागि ग्राहकसँग भेटघाट छ।
उनी भन्छन्, 'सुरुमा हामीले इन्दौरका केही चिप्स बनाउने कम्पनीहरूलाई मात्रै खेलौना उपलब्ध गराउँथ्यौँ। त्यसपछि बिस्तारै राम्रो र अद्वितीय गुणस्तरका खेलौनाहरूको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हाम्रा उत्पादनहरूको माग बढ्न थाल्यो। आज ठूल्ठूला कम्पनीहरू हाम्रा ग्राहक छन्।'
बालबालिकाको रोजाइअनुसार खेलौना डिजाइन गर्न थालेपछि बजारमा आफ्ना खेलौनाको माग बढ्न थालेको उनको भनाइ छ। गौरव भन्छन्, ‘खेलौना बनाउन राम्रो गुणस्तरको प्लाष्टिक प्रयोग गर्छौं, जसले गर्दा बच्चाले मुखमा राख्दा पनि नोक्सान नहोस् । तर, प्लास्टिक स्वास्थ्यका लागि हानिकारक छ।'
आजका दिनमा उनको कम्पनीले खाद्यान्न कम्पनीमा मात्रै होइन कोलगेट, आईटीसी, नेस्ले, क्याडबरी जस्ता ठूला कम्पनीहरूलाई खेलौना बेच्छ। 'इन्दौर बाहेक, हाम्रो दिल्ली र हैदरावादमा पनि निर्माण इकाईहरू छन्। खेलौना बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतको शीर्ष कम्पनीबाट ल्याउँछौं,' उनले भने।
बजार रणनीतिबारे कुरा गर्दै गौरव भन्छन्, ‘हामीले पछिल्लो ५ वर्षमा एउटा पनि प्रदर्शनी छुटाएका छैनौँ। हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै प्रदर्शनीहरूमा भाग लिन्छौं। यही कारण हो कि आज शीर्ष राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरू हाम्रा ग्राहक हुन्।'
उनका उत्पादनको माग बजारमा बढिरहेको छ। जसकारण उत्पादन सेटअपलाई थप विस्तार गर्ने योजना उनको छ।
उनको कम्पनीमा उनका अधिकांश आफन्तहरू नै काम गर्छन्। गौरवको कम्पनीमा धेरैजसो महिला काम गर्ने गरेको देखिन्छ। ती सबै नजिकैका गाउँका भएको गौरव बताउँछन्।
उनी भन्छन्, ‘हामीले आमा क्याम्पेन नामक प्रोजेक्ट पनि चलाइरहेका छौं। यसअन्तर्गत ५०–५५ वर्षभन्दा माथिका महिलाले पनि घरमै बसेर खेलौना प्याकिङको काम गरेर आम्दानी गरिरहेका छन्। उनी स्वनिर्भर र बलियो बन्दै गएका छिन्। हामीसँग ५ हजारभन्दा बढी महिला आबद्ध छन्।'
आज गौरवको कम्पनीको वार्षिक कारोबार २०० करोड छ। भारतबाहेक नेपाल, टर्की, दक्षिण अफ्रिका, जापान, साउदी अरेबिया, यूरोप र अमेरिका जस्ता देशमा पनि उनले खेलौना निर्यात गर्दै आएका छन्।
(भारतीय अखबार दैनिक भाष्करबाट)
प्रतिक्रिया