कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’को पहिलो गीत रिलिज भएको छ। ट्रेलरपछि सिनेमाको गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।
सिनेमाको ‘चरी बस्यो’बोलको लिरिकल गीत सार्वजनिक भएको हो। गीतमा कालिप्रसाद बाँस्कोटाका शब्द, संगीत र स्वर सुन्न सकिन्छ। गीतको लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोक देखाइएको छ। आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा आउने सिनेमा अल नेपाल रिलिजको तयारीमा छ।
जारी प्रथामा आधारित सिनेमामा लिम्बु संस्कृति र भेषभूषा पनि हेर्न पाइन्छ। ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन्। सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठूलेलगायत कलाकारको अभिनय छ।
उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ। सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्।
बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बु सह–निर्माता छन्।
हेर्नुहोस् गीतको भिडिओ
प्रतिक्रिया