‘झरनाको चिसो पानी...’, यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान्। गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुनिरहेको यो गीत अब अन्य दुई गायक/गायिकाको स्वरमा सुन्न पाइने भएको छ।
दुई दशकभन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत नयाँ स्वरमा बजारमा आएको हो।
सगरमाथा डिजिटल प्रालिले गीतलाई रिमेक गरेको हो। जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन्। गीतमा संगीत संयोजन योगेस काजी शाहले गरेका छन् भने मिक्सिङ, रेकर्डिङ र मास्टरिङ पवन विश्वकर्माले गरेका हुन्।
गीतकार अधिकारीका शब्द रहेको गीतमा निरजकुमार सुनारको संगीत थियो। कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ।
‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो’, कम्पनीका अध्यक्ष हीरा केसीले भने।
गीत रिमेक गर्न रचनाकार, संगीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ। केही दिनअघि सार्वजनिक गीतको अडिओ अहिले युट्युबको ट्रेन्डिङमा छ।
कुलेखानी आसपासका मनोरम दृश्य समेटेर भिडिओ बनाइएको कम्पनीका अध्यक्ष केसीले बताए।
मौसम हिमाली निर्देशित उक्त भिडिओलाई अनिल के मानन्धरले निर्माण गरेका हुन्। भिडिओमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन्।
दुई दशक पुरानो सगरमाथा डिजिटलका सयभन्दा बढी लोकप्रिय गीत बजारमा आइसकेका छन्।
प्रतिक्रिया