ग्लोबल


अष्ट्रेलिया र नेपालबीच उच्चस्तरीय भ्रमण गराउन बढ्यो राजदूतको सक्रियता

अष्ट्रेलिया र नेपालबीच उच्चस्तरीय भ्रमण गराउन  बढ्यो राजदूतको सक्रियता

नेपालखबर
पुस २०, २०७६ आइतबार ११:२९,

झण्डै दुई महिनाअघि राजदूत बनेर अष्ट्रेलिया आएका महेशराज दाहाल दुई देशबीच उच्चस्तरीय भ्रमण गराउन सक्रिय भएका छन्। नेपाल र अष्ट्रेलियाबीच दौत्य सम्बन्ध भएको लामो समय भएको छ। नेपालको यहाँ सन् २००६ मा राजदूतावास स्थापना भएको भए पनि हालसम्म उच्चस्तरीय भ्रमण हुन सकेको छैन।

राजदूत भएसँगै दाहालले दुवै देश बीचमा उच्चस्तरीय भ्रमण गराएर सहयोग आदानप्रदान गर्ने उद्देश्यका साथ अघि बढेको बताए। दाहालले यहाँ आएलगत्तै अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्लेलाई भेट गरी नेपालको भ्रमणका लागि अनुरोध गरिसकेका छन्। हुर्लेले भ्रमणलाई सकारात्मक रुपमा लिएका उनले जानकारी दिए। दुवै देशका परराष्ट्र मन्त्रालयहरुमा यस विषयमा छलफल भइरहेको राजदूतावासले जनाएको छ। अष्ट्रेलियामा बेलायती महारानीको प्रतिनिधिका रुपमा गभर्नर जनरल पहिलो मर्यादाक्रममा र कार्यकारी भूमिकामा प्रधानमन्त्री हुने गर्दछ।

राजदूत दाहालले भने, ‘नेपालको संविधान दिवस वा अन्य महत्वपूर्ण दिवस पारेर हुर्लेले भ्रमण गर्न इच्छा व्यक्त गरेको बुझिएको छ। सम्भवतः सेप्टेम्बरतिर हुर्लेको भ्रमण हुनसक्छ।’ दाहालसँगको कुराकानीमा हुर्लेले आफ्नी श्रीमतीले यसअघि नै नेपाल भ्रमण गरेको र सुन्दर देश नेपाल एवं आफूले भ्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका बारेमा बेलाबेलामा भन्ने गरेको बताएका थिए। उनको भ्रमणपछि नेपालका उच्च अधिकारीको यहाँ भ्रमण गराउने योजनामा राजदूत दाहाल छन्।

हालसम्म पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्री एवं पूर्वमन्त्रीहरुले यहाँको भ्रमण गरेको भए पनि कूटनीतिक सम्बन्धको विकासका लागि औपचारिक रुपमा उच्चस्तरीय भ्रमण भएको पाइँदैन। राजदूतावासको तथ्यांकअनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टिमोरबाट फर्कंदा यहाँ आएको जनाइएको छ। सन् २०१७ को जुलाईमा तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ अष्ट्रेलिया भोकेशनल टे«निङ इन्स्टिच्युटको कार्यनीति र प्रभावकारिता अध्ययनमा यहाँ आएको उल्लेख छ।

सन् २०१७ को सेप्टेम्बरमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही मुर्रे डार्लिन रिभर डिजाइनको अवलोकन गर्न, सोही वर्ष सेप्टेम्बरमा नै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्राविधिक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय नेपाली समाजको कार्यक्रममा सहभागी हुन यहाँ आएका थिए। सोही वर्ष नोभेम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव पर्यटन प्रवद्र्धन कार्यक्रम र सन् २०१८ को फेब्रुअरीमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा गैरआवासीय नेपाली संघको कार्यक्रममा यहाँ आएको भए पनि यहाँका अधिकारीसँग भेटघाट भएको पाइँदैन।

पछिल्ला वर्षहरुमा अष्ट्रेलिया सरकारले गर्ने मूल सहयोग रकम विभिन्न शीर्षकमा पठाउने गरेको भए पनि घट्दै गएको देखिन्छ। सहयोग रकम बढाउन र सम्बन्ध अझ प्रगाढ बनाउन दुई देशीय उच्चस्तरीय भेटघाट गराउन राजदूतावास सक्रिय भएको हो।

नेपाल भ्रमण वर्षको कार्यक्रममा सहभागी हुने तयारी गरिएको भए पनि नयाँ वर्ष र क्रिसमसको बिदा एवं डढेलोका कारण उच्च अधिकारीहरुसँग समय मिलाउन भने निकै कठिन भएको उनले जानकारी दिए। दाहाल मुख्य रुपमा हवाई सम्झौताको कार्यान्वयनका लागि यहाँका अधिकारीहरुसँग भेटघाट गराउने तयारीमा जुटेका छन्।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी दाहाल आएपछि राजदूतावासले सक्रिय रुपमा काम अघि बढाएको बताउछन्। दाहाल आएको केही महिना नपुग्दै उनको क्रियाशीलता उदाहरणीय रहेको भन्दै अधिकारीले दुई देशबीच उच्चस्तरीय भ्रमण गराउन सकेमा भावी दिनमा काममा निकै सहजता आउने बताए।

अष्ट्रेलियाले गर्ने सहयोग रकम घटेको भन्दै नेपाली विद्यार्थीको यहाँ ठूलो लगानी भएकाले सहयोग रकम बढाउन पहल गर्नुपर्ने अधिकारी बताउछन्। हाल अष्ट्रेलियामा एक लाख ५० हजार नेपाली छन्। यसमा करिब ५० हजार विद्यार्थी अध्ययनरत रहेको अनुमान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad