नयाँ दिल्लीमा जारी जी२० सम्मेलनको अन्तिम दिन शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको अध्यक्षताको जिम्मेवारी ब्राजिलियन राष्ट्रपति लुला डा सिल्भालाई सुम्पिएका छन्।
यसका साथै प्रधानमन्त्री मोदीले जी२० सम्मेल सकिएको पनि घोषणा गरे। ब्राजिल अर्को वर्ष हुने जी२० सम्मेलनको आयोजक हुनेछ।
प्रधानमन्त्री मोदीले संस्कृत भाषामा भने-स्वस्ति अस्तु विश्वस्य! अर्थात् सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चाचार होस्।
सम्मेलनको अन्तिम सत्रपछि मोदीले विश्व परिवर्तन भइरहेको बताउँदै यससँगै विश्वका संस्थाहरु पनि बदलिनुपर्नेमा जोड दिए।
‘संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अहिलेसम्म त्यति नै सदस्य छन् जति यो स्थापना हुँदा थिए। स्थायी देशको संख्या बढाउनु जरुरी छ।’
त्यसपछि ब्राजिलका राष्ट्रपतिले अबको अध्यक्षताको जिम्मा लिँदै गरिब देशको कर्जाको समस्यामा सबैले ध्यान दिनुपर्ने बताए। विश्वको भोकमरी समाप्त गर्न कोसिस बढाउनुपर्ने उनले बताए।
अध्यक्षता मिलेपछि ब्राजिलका राष्ट्रपति सिल्भाले भने, ‘आज महात्मा गान्धीलाई श्रद्धाञ्जलि दिँदै गर्दा म धेरै भावुक भएँ। सबैलाई थाहा छ, मेरो राजनीतिक जीवनमा महात्मा गान्धीको कति महत्व छ।’
उनले सम्बोधनका क्रममा जी२० को अध्यक्षता लिँदै गर्दा आफ्ना तीन प्राथमिकता पनि सुनाएका छन्।
१) सामाजिक न्याय र भोकमरीविरुद्धको लडाइँ
२) दीगो विकास
३) विश्वका संस्थानहरुमा परिवर्तन
यसबीचमा गत साल जी२० को अध्यक्षता गरिसकेका इन्डोनेशियाका राष्ट्रपति र आगामी साल संगठनको अध्यक्षता गर्ने ब्राजिलका राष्ट्रपतिले सम्मेलनस्थलको रुखमुनि बसेर लामो छलफल गरे।
लुला डा सिल्भालाई अध्यक्षता सुम्पिँदै मोदीले भने, ‘तपाईंहरु सबैले कयौँ कुरा राख्नु भयो। सुझाव पनि दिनु भयो। कयौँ प्रस्ताव पनि राख्नु भयो। यी सबै सुझाव र प्रस्तावलाई मध्यनजर गर्दै तिनलाई एक पटक मनन गरेर प्रगतितर्फ कसरी अघि बढ्न सकिन्छ? मेरो प्रस्ताव भनेको हामी नोभेम्बर अन्तिममा जी २० सम्मेलनको एक भर्चुअल सत्र राखौँ। त्यस सत्रमा अहिलेको सम्मेलनका क्रममा हामीले चर्चा गरेका विषयमा समीक्षा गर्न सकियोस्।’
जी२० सम्मेलन सकिएपछि युक्रेनमा युद्धविरामलाई लिएर रूसका विदेश मन्त्री सर्गेई लावरोभले मुख खोले। उनले भने ‘हामीलाई वार्ता र छलफलका लागि कुनै समस्या छैन। तर त्यहाँको यथार्थलाई नकारेर संवादमा बस्न सकिँदैन।’
उता उक्त सम्मेलनमा सहभागी भइसकेपछि अर्को शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाइडेन भने भियतनामको भ्रमणमा निस्किएका छन्।
Shares

प्रतिक्रिया