ग्लोबल


अमेरिकी सेनाका अनुभवी पोखरेल भर्जिनियाबाट संसदीय चुनाव लड्दै

अमेरिकी सेनाका अनुभवी पोखरेल भर्जिनियाबाट संसदीय चुनाव लड्दै

नेपालखबर
पुस २, २०८० सोमबार १४:४३, काठमाडौँ

अमेरिकामा हुने आगामी संसदीय निर्वाचनमा नेपाली मूलका एड्रियन पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन्। 

अमेरिकामा अर्को वर्ष ५० राज्यका ४३५ निर्वाचन क्षेत्रमा संसदीय चुनाव हुँदै छ। त्यसैको तयारीस्वरुप पोखरेलले अमेरिकी राज्य भर्जिनियाको १०औँ निर्वाचन क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका हुन्। 

पोखरेलको मूलघर नेपालको पूर्वी जिल्ला सुनसरीको धरान हो। उनले डेमोक्रेटिक पार्टीका तर्फबाट सिधै अमेरिकी सांसदको लागि चुनाव लड्ने तयारी गरेका छन्। 

‘भर्जिनियाको १०औँ कंग्रेसनल डिस्ट्रिक्टका लागि  मेरो उम्मेदवारी घोषणा गर्न पाउँदा खुसी लागेको छ’, उनले भनेका छन्।

उनले आफू राष्ट्रिय सुरक्षाको पृष्ठभूमिबाट आएको र सामुदायिक सेवामा समर्पित व्यक्ति भएकाले पनि एकता र समर्पणसँगै आफ्नो जिल्लाको प्रतिनिधित्व गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

उनले अमेरिकी राष्ट्रिय सुरक्षा संस्था (एनएसए) र सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) मा रहेर काम गरिसकेका छन्। उनीसँग दुई दशकभन्दा लामो सैन्य अनुभव रहेको छ। 

सैन्यबाहेक उनले वायुसेवा, कानुन र रेलवेजस्ता निजी क्षेत्रमा समेत १५ वर्ष लामो अनुभव हासिल गरेका छन्। 

‘यिनै विविध व्यावसायिक अनुभवले जिल्लामा आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्न सक्छ’, उनको चुनावलक्षित वेबसाइटमा उल्लेख छ। 

हाल विद्यावारिधि (पीएचडी) गरिरहेका उनमा जटिल मुद्दाको आलोचनात्मक विश्लेषण गर्ने क्षमता छ। 

चुनावका लागि ‘यु म्याटर’ अभियान 
पोखरेलले आउँदो चुनावका लागि ‘यु म्याटर’ अभियान समेत सार्वजनिक गरेका छन्।

यसअनुसार आधारभूतदेखि उच्च तहका विद्यालयमा कानुन शिक्षा, आर्थिक र स्वास्थ्यको पहुँच, विशेष सेवा र योगदान गरेकाको पुनर्स्थापना र पुनर्मिलनको मार्ग, सामुदायिक सुरक्षा र सशक्तीकरण, गुणस्तरीय शिक्षा र अवसर, पर्यावरणीय संरक्षण, पूर्वसैनिकलाई सहयोग र साथ, विविधतामा समावेशी नीतिलगायतका नारालाई उनले प्राथमिकता दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .