ग्लोबल


आफू मारिएपछि मात्रै पूरा भयो, युट्युबमा लाखौँ सब्स्क्राइबर पुर्‍याउने यी बालकको सपना

आफू मारिएपछि मात्रै पूरा भयो, युट्युबमा लाखौँ सब्स्क्राइबर पुर्‍याउने यी बालकको सपना

नेपालखबर
पुस ८, २०८० आइतबार १५:२३,

अगस्ट २०२२ मा अवनी एल्दोसले एउटा भिडिओ पोस्ट गरेका थिए युट्युबमा। भिडिओमा उनी माइक्रोफोन समातेर मुस्कुराउँछन् र गेमिङ च्यानल सफल पार्ने आफ्नो चाहना सुनाउँछन्।

‘साथीहरु म आफ्नो परिचय दिन्छु। म गाजामा बस्ने एक प्यालेस्टिनी हुँ। म १२ वर्षको भएँ। यो च्यानलको लक्ष्य भनेको एक लाख सब्सक्राइबर पुर्‍याउने हो। अथवा पाँच लाख, अथवा दस लाख,’ उनी भन्छन्। 

त्यसपछि विदा माग्दै उनी यो छोटो भिडिओ अन्त्य गर्छन्।

अवनीले आफ्ना एक हजार सब्स्क्राइबरलाई धन्यवाद भनेको त्यो भिडिओ अहिले भाइरल भएको छ। यो ४० लाखभन्दा बढी हेरिएको छ। उनले विभिन्न गेम खेलेका आवाजविहीन भिडिओहरु पनि लाखौँ पटक हेरिएका छन्।

अर्थात्, अवनीको सपना पूरा भएको छ। 

तर, उनी जीवित छैनन्। गाजामा इजरायली आक्रमण सुरु भएसँगै उनी मारिएका छन्। उनका नातेदारहरुका अनुसार ७ अक्टोबरमा इजरायली हवाई आक्रमणमा उनको घर ध्वस्त भएको छ।

अहिले उनको युट्युब च्यानलमा सब्स्क्राइबरको संख्या १५ लाख पुगिसकेको छ। जुन अझै बढ्दो क्रममा छ।

कमेन्टहरुको ओइरो लागेको छ।

‘कृपया हामीलाई माफ गरिदेऊ। तिमी मारिनुअघि हामीले तिमीलाई चिनेको भए कस्तो हुन्थ्यो!’ एउटा सन्देशमा भनिएको छ।

उनकी नातेदार आलाले अवनीलाई खुसी र निसंकोच बच्चाको रुपमा चित्रित गरिन्। परिवारका अर्का एक सदस्यले उनलाई ‘इन्जिनियर अवनी’ भने। किनकि उनी कम्प्युटर मन पराउँथे।

अरु थुप्रैका लागि यी १३ वर्षीय बालक गाजामा मारिएका बालबालिकाको प्रतीक बनेका छन्। 

इजरायली आक्रमणबाट गाजामा २० हजारभन्दा बढी मानिस मारिएका छन्। जसमध्ये एकतिहाइभन्दा बढी बालबालिका छन्। 

अवनीले जुन २०२० मा युट्युब च्यानल सुरु गरेका थिए। उनले फुटबल, कार रेसिङ र अन्य खेल खेलेको भिडिओ पोस्ट गर्थे।

अवनीले प्रोगामरक‍ा रुपमा काम गर्ने एक टाढाका नातेदार असरफ एल्दोसलाई मेसेज गरेर युट्युब च्यानल सञ्चालनसम्बन्धी टिप्स पनि मागेका थिए।

‘मेरो प्रतिस्पर्धी वा सहकर्मी बन्ने उनको आकांक्षा थियो,’ असरफ भन्छन्, ‘उनले एउटा च्यानल बनाएका थिए। यो ठूलो थिएन। धेरै भ्युज पनि थिएनन्। तर, सुरुमा सबैलाई मुस्किलै हुन्छ।’

अक्टोबरमा उनी मारिएपछि उनको च्यानल स्थापित युट्युबरहरुको आँखामा पर्‍यो। जसमध्ये एक थिए कुबेती गेमर एबोफ्लह। 

एबोफ्लह रुँदै गरेको भिडिओ ९० लाख पटक हेरिएको छ। अवनीले सामाजिक सञ्जालमा आफूलाई पठाएको सन्देश उनले भर्खर देखेका थिए।

अवनीसँगै उनका सम्पूर्ण परिवार मारिएका छन्। उनका चार दाजुभाइदिदीबहिनी, आमा र बुवा उनीसँगै मारिए। 

‘युट्युब च्यानलबारे उनी निकै चाख लिएर कुरा गर्थे। उनी स्वर्गमा पनि खुसी होलान्, आला भन्छिन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad